गत कात्तिक २७ गते भोजपुर हतुवागढी गाउँपालिका-६ घर भएका २५ वर्षीय पुजन राई ‘रहस्यमय’ ढंगले बेपत्ता भए।
बेपत्ता भएको चार महिना पुग्न लाग्दा पनि उनको अत्तोपत्तो छैन।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा बसोबास रहेको उनका परिवारका अनुसार पुजन सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक थिए।
पुजन त्यहाँ काम गर्न थालेको ९ महिना पुग्दैथियो। उनी अस्थायी दरबन्दीमा काम गरिरहेका थिए।
यो चार महिनामा आफन्तले पुजनको खोजीका लागि बाह्रबिसे प्रहरी, सिन्धुपाल्चोक प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइसकेका छन्।
सोही शिलशिलामा उनीहरूले फागुन १५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनाबारे सुनाएका थिए।
प्रहरीले खोजी गरिरहे पनि पुजनलाई फेला पार्न नसकेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट पुजनको खोजीका लागि टोली खटिरहेकै छ।
सिन्धुपाल्चोक प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वमा पुजनको खोजी गरिरहेको बताएको छ। तर पुजन आफैं हराए वा कसैले बेपत्ता पार्यो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन।
केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआइजी सहकुलबहादुर थापा भन्छन्, ‘उनी बेपत्ता हुनुको कारण पत्ता लाग्न सकेको छैन। हाम्रो अनुसन्धानले अहिलेसम्म उनीमाथि अप्रिय घटना गराउनुपर्ने कारण देखिँदैन।’
सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार पुजन बेपत्ता प्रकरणमा प्रहरीले तीन वटा पाटोबाट अनुसन्धान गरिरहेको छ।
पहिलो, आपराधिक मनसायजन्य घटना: कसैले आपराधिक रूपमा हमला गर्यो कि।
दोस्रो, आवेशपूर्ण घटना: साथीहरूबीच खाने पिउने बस्ने क्रममा झगडा भएर आवेशमा घटना भयो कि।
तेस्रो, दुर्घटना।
दुर्घटना किनभने, उनी त्यस दिन को २१प ५७९९ नम्बरको बुलेट मोटरसाइकल लिएर हिँडेका थिए।
एसपी अधिकारीका अनुसार पुजन २८ गते काभ्रेमा देखिएको प्रहरीको टेक्निकल अनुसन्धानबाट पुष्टि भएको छ। काभ्रेबाट मोबाइल स्वीच अफ गरेर हराएका पुजन फेला नपर्नु ‘रहस्यमय’ नै रहेको अधिकारीले बताए।
‘हाम्रो टेक्निकल अनुसन्धानमा पुजन काभ्रे पुगेको देखिइसकेको छ। २७ गते साँझ उनले आफ्ना आफन्तसँग कुराकानी गरेको पनि देखिएको छ,’ अधिकारीले भने, ‘काभ्रे पुगेपछि भने उनी मोबाइल स्वीच अफ गरेर हराए।’
यी तीनै पाटोबाट अनुसन्धान गर्दा पुजनको अवस्था पत्ता लाग्न नसकेको अधिकारीले बताए।
अहिलेसम्मका तथ्यले पुजन बेपत्ता ‘रहस्यमय’ र संयोग पनि उस्तै देखिन्छ।
आफन्तका अनुसार पुजन २७ गते कार्यालय बिदा भएपछि निस्केका थिए। आफूसँगै काम गर्ने एक जना युवतीलाई उनले बाह्रबिसे प्रहरी बिट छेउमा छोडे। आफू भने भोटेकोशी गाउँपालिकाको चाकु भन्ने ठाउँमा गए। त्यहाँ गएपछि उनका साथी राकेश श्रेष्ठसँग भेट भयो।
राकेशले हिन्दी भन्ने ठाउँमा लगे। पुजनको बुलेट राकेशले हाँके।
‘त्यहाँ राकेशले दूध, एक क्वाटर खुकुरी रम र चुरोट मागे। दुवैले पिए,’ पसलेलाई उद्धृत गर्दै उनका बुवा लालकुमार राई भन्छन्।
हिन्दीमै अरू व्यक्ति सविन कार्की, रवि पौडेल र गणेश खड्कासँग भेट भएको ती पसलेले बताएको बुवा लालकुमारले जनाए। त्यसपछि राकेश आफैं मोटरसाइकल हाँकेर चाकु फर्केको श्रेष्ठले प्रहरीलाई बताएका छन्।
चाकु फर्केर उनले मोटरसाइकल बनाउन खोजेको सम्म बुझिएको छ। त्यहाँ पुग्दा साँझ परिसकेको थियो।
उनले त्यहाँ के-के गरे, कतिबेर बसे भन्ने स्पष्ट खुलेको छैन। बुवा लालकुमार भने त्यहाँ गएर उनले शिव खड्कासँग भेट गरेकोसम्म बुझिएको बताउँछन्।
चाकु हुँदै बाह्रबिसे फर्केका पुजन त्यसपछि किन काभ्रे गए भन्ने पनि ‘रहस्य’मै छ।
२७ गते राति साढे ८ बजे पुजनले आफ्नी दिदीलाई फोन गरेका थिए। त्यसपछि परिवारका सदस्यले फोन गर्दा उनको फोन उठेन।
भोलिपल्ट २८ गते दिनभरि फोन गर्दा पनि मोबाइलमा रिङ मात्र गइरह्यो। अपराह्न चार बजेपछि फोन अफ भयो।
बुवा भन्छन्, दुर्घटना भयो कि भनेर खोज्यौं
चाकु र बाह्रबिसेबीचको दूरी करिब दस किलोमिटर छ। पुजन बेपत्ता भएपछि त्यो दस किलोमिटर दुरीमा प्रहरी, आफन्त र स्थानीय मिलेर खोजे।
‘उनका साथी राकेशले बाह्रबिसे फर्केको भनेपछि हामीले दुर्घटना पो भयो कि भनेर खोजी गर्यौं। तर फेला पार्न सकिएन,’ बुवा लालकुमारले भने।
चाकु-बाह्रबिसे सडकमा प्रहरीसँग तीन पटक र आफैंले पनि बारम्बार खोजी गर्दा पुजन फेला नपरेको लालकुमारले बताए।
उनका अनुसार मंसिर २ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा खोजीका लागि निवेदन दिइयो। ४ र ५ गते बाह्रबिसे गएर उपमेयर सुशीला पाख्रिन र बाह्रबिसे प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र शाहसँग भेटेर कुराकानी गरिएको थियो।
पुजनसँगै कार्यरत ती युवतीसँग प्रेम सम्बन्धमा थिए भन्ने गरिएको छ। र, ती युवतीलाई अरू कसैले मन पराएको र पुजनसँगको निकटता रूचाएका थिएनन्। प्रहरीले भने यसबारे खुलाउन मानेन।
‘अनुसन्धानका क्रममा भएका सबै कुराहरू भन्न मिल्दैन,’ एसपी अधिकारीले भने।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पुजन अरूसँग नबोल्ने स्वभावका थिए। ती युवतीसँग उनको सामान्य बोलचालबाहेक कुनै सम्बन्ध रहेको नखुलेको शेर्पाले बताए।
‘त्यो भाइ कहाँ गयो, निकै अनुसन्धान भयो। एसपी र सिडिओ सबैलाई गतिशील अनुसन्धान गर्नुहोस् भनी मैले भनेँ,’ उनले भने, ‘अस्ति डिआइजी-एआइजी आउँदा पनि मैले भनेको छु।’
तर, यो घटनामा प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको शेर्पा बताउँछन्।
‘प्रहरी आधार प्रमाणबिना कसैलाई थुनामा राखेर अनुसन्धान गर्न सकिँदैन भन्छ,’ उनी भन्छन्।
पुजन एक्लै बस्न रुचाउने र लागुपदार्थ सेवन गर्ने गरेको पनि बुझिएको शेर्पाले बताए।
परिवारका अनुसार पुजन लागुऔषध सेवन गर्थे। उनलाई पहिले काठमाडौंको एउटा सुधार गृहमा ६ महिना राखिएको बुवा लालकुमार बताउँछन्।