१३ वर्षीय सचिन साउँद मैदानमा क्रिकेट खेलिरहँदा उनकी आमा सावित्री दर्शकदीर्घाबाट हुटिङ गरिरहेकी देखिन्छन्।
धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियिर लिगमा सहभागी छन् सचिन्।
सावित्री छोराको खेल भएका दिन हेर्न आफैं पुग्छिन्। उनले उता मैदानमा राम्रो खेल्नेबित्तिकै यता उनको दुई हात बज्छन्।
उनी आफैं पूर्वखेलाडी हुन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटमा उनीहरू बस्छन्। सावित्रीले स्कुले जीवनमा एथ्लेटिक्समा अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन्।
सन् १९९९ तिर सिंगापुरमा भएको प्रतियोगितामा ८०० मिटर दौडमा उनी सातौं भएर प्रमाणपत्र जितेकी थिइन्।
त्यसबेला उनले देशका विभिन्न स्थानमा भएका माध्यमिक विद्यालयस्तरीय ४ वटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन्।
खुला प्रतियोगितामा त उनले दर्जनौं पदक जितिन्।
उनले २०५६/०५७मा एसएलसी दिएकी हुन्।
‘६० सालतिर संकटकालका बेला खेल गतिविधि हुन नपाएपछि खेल्न छोडें,’ उनले भनिन्।
उनको छोराले जस्तो खेल्ने वातावरण उनलाई थिएन। खेलको बारेमा उनलाई र उनका अभिभावकलाई पनि त्यसबेला कमै थाहा थियो।
‘स्कुलमा अरूले खेलकुदमा भाग लिएको देख्दा रहर लाग्थ्यो तर सहभागी हुन सुरूसुरूमा लाज लाग्थ्यो,’ उनले भनिन्।
कभर्ड हल नदेखेकी उनलाई क्षेत्रीय रंगशाला देख्न खुबै मन थियो। स्कुलबाट प्रतियोगितामा सहभागी हुनेहरू त्यहाँ गइरहन्थे।
‘मैले कभर्ड हल देख्न पाउँछु भनेर भलिबल खेल्न टिममा नाम लेखाएँ,’ उनले भनिन्। उनी खेल्न धनगढी रंगशालामा पुगिन्।
त्यहाँ कभर्ड हलसँगै थुप्रै खेल देखिन्, खेलाडी देखिन्।
उनी दौडमा तगडा थिइन्। त्यसबेला हुने वीरेन्द्र शिल्ड प्रतियोगितामा उनले दौडमा भाग लिइन्।
स्कुलमा पदक जित्न थालेपछि स्कुलले उनलाई सहयोग गर्न थाल्यो। जिल्ला स्तरीय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेपछि उनी क्षेत्रीय प्रतियोगितामा सहभागी हुन पाइन्।
त्यसपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पुगिन्।
उनले धेरै खेल्न र पढ्न भने पाइनन्। १२ सम्म पढेपछि बिहे भयो।
‘खेलाडी बनेर प्रहरीमा जाने रहर थियो,’ उनले भनिन्।
अहिले सावित्री किराना पसल चलाउँछिन्। श्रीमान् ग्यारेज चलाउँछन्। उनीहरूका दुई छोरा छन्। सचिन जेठा छोरा हुन्।
सचिन धनगढी क्रिकेट एकेडेमी र आफूले पढ्ने शारदा माध्यमिक विद्यालयबाट खेल्ने गरेका छन्।
उनी कक्षा १० मा पढ्छन्।
‘छोराको पढाइ पनि राम्रो छ, अस्ति भर्खरको परीक्षामा कक्षाका १ सय ४३ जनामध्ये तेस्रो भयो,’ उनले भनिन्।
‘पहिले त छोरो राम्रै पढ्छ, डाक्टर, इन्जिनियर बनोस् जस्तो लाग्थ्यो तर अहिले उसको खेलप्रतिको रूची देखेर खेलाडी नै बनोस् भन्ने चाहन्छु,’ उनले भनिन्।
खेलाडी बनेर विभागीय टिममा परोस् भन्ने कामना उनले गरिरहन्छिन्। यसमा उनको आफ्नै सपना पनि जोडिएको छ। जो छोराले पूरा गरेको उनी देख्न चाहन्छिन्।
‘म पनि खेल्थेँ। खेलेर प्रहरीमा जाने इच्छा थियो। अब यसले खेलाडी बनेर पुरा गर्छ कि हेरौं,’ उनले मैदानतिर हेर्दै भनिन्।
उनका छोराले क्रिकेट र पढाइ दुबैमा राम्रो प्रगति गरिरहेको क्रिकेट प्रतियोगिताका अभियन्ता रामचन्द्र शाहीले बताए।
सचिनले केही महिनाअघि भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पनि सचिनले उत्कृष्ट खेलेको बताए।
सचिन बिहान ६ बजे घरबाट अभ्यासका लागि एकेडेमी जान्छन्। त्यहाँ ९ बजेसम्म क्रिकेटको अभ्यास पछि बुबाको ग्यारेजमा खाना खाएर स्कुल पुग्छन्।
साइकलमा उनको घरबाट स्कुल पुग्न एक घन्टाजति लाग्छ। ग्यारेजमा खाना खाने समय नभएका दिन आमाले टिफिनमा पठाउँछिन्।
भाइले स्कुलसम्म ल्याइदिन्छन्।
‘रोटी, भात, तरकारी यस्तै बनाएर पठाइदिन्छु, डाइट खान पनि भन्छु,’ सावित्रीले भनिन्।
सचिनले ब्याट चलाउन सिकेको त ४ वर्ष भैसक्यो । सावित्रीले सुरूमा सचिनलाई क्रिकेट एकेडेमीसम्म पुर्याउने र ल्याउने काम लगातार २ वर्ष गरिन्।
उनका लागि ब्याट, बल, ग्लभ्स, हेल्मेट, जुत्ता, जर्सी आदि सामान आफैं किनिदिने गरेकी छन्।
‘क्रिकेटका सामान महँगा पर्छन्। मैले नै हो किनिदिने। उसकी ठूलीआमाले पनि बैंग्लोरबाट कहिलेकाहीँ पठाइदिनुहुन्छ,’ उनले भनिन्।
बेलुका ४ बजे स्कुल छुट्टी भएपछि सचिन ट्युसन जान्छन्। बेलुका ७ बजे घर पुग्छन्।
‘घरमा पनि पढ्ने र टिभीमा क्रिकेट हेर्नमै व्यस्त हुन्छ,’ उनले मुसुक्क हाँस्दै भनिन्,'म उसलाई हेरेर दंग पर्छु'
धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियिर लिगमा सचिनजस्तै धेरै कलिला केटाकेटीहरू खेलिरहेका छन्।
प्रतियोगितामा सहभागी १२ विद्यालयका टोलीमा दुई सय १६ जना खेलाडी सामेल छन्। केही अन्डर-१९ राष्ट्रिय टोलीका खेलाडी पनि छन्।
‘खेलाडीहरूले एकअर्काबाट सिक्ने मौका पाएका छन्, उत्कृष्ट खेल्ने खेलाडी प्रदेश र राष्ट्रिय टोलीमा पर्न सक्छन्,’ प्रतियोगिताका आयोजक शाहीले भने।
पछिल्लो समय विद्यालयस्तरबाटै हुने यस्ता प्रतियोगिता क्रिकेटमा भविष्य खोज्नेहरूका लागि आधार बन्न थालेका छन्। एलपिएल खेलेका केही खेलाडी अहिले पनि राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन सफल भैसकेका छन्।
अभिभावकले पनि यस्ता कलिला क्रिकेटरलाई सहयोग गर्न थालेका छन्।