हरेक सुख्खायाममा भीषण आगलागीको चपेटामा पर्दै आएको पूर्वी पहाडमा यसपटक पनि उस्तै नियति दोहोरियो।
ताप्लेजुङको व्यापारिक केन्द्र दोभान बजार मंगलबार दिनभरजसो आगोले दन्दनी बल्यो।
बिहान करिब पौने ९ बजेतिर सुरू भएको आगलागी झण्डै साढे पाँच घण्टापछि अढाइ बजे बल्ल नियन्त्रणमा आउँदा जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार लगभग खण्डहरमा परिणत भइसकेको थियो।
तमोर र मैवा खोलाको बीचमा अवस्थित सानो भीरको फेदमा रहेको लाम्चो आकारको यो बजारका ६० प्रतिशत घर आगोले ध्वस्त पारेको छ। सदरमुकाम फुङलिङबाट आठ किलोमिटर पश्चिमोत्तर दिशामा रहेको बजारमा रहेका अधिकांश घर काठ र जस्ताले बनेका थिए।
मेरिङ्देन गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बजार क्षेत्रका ४० प्रतिशत घर मात्रै जोगिएको गाउँपालिका अध्यक्ष गणेशप्रसाद लिम्बुले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म आगो कसरी सुरू भयो खुलेको छैन। बजार क्षेत्रका ठूला कपडा व्यापारी भोला पौडेलको घरबाट आगो सुरू भएको थियो।
बजार क्षेत्रमा उनका मात्रै ८ वटा घर रहेको र ती सबै जलेको रेडक्रसकर्मी विकास गौतमले जानकारी दिए। आगलागीकै क्रममा घाइते भएर व्यापारी पौडेल अस्पताल भर्ना भएका छन्।
पीडितहरूका अनुसार आगलागीले लगाएको एकसरो लुगाबाहेक केही बाँकी राखेको छैन।
‘साढे आठ पौने नौ बजेको थियो होला एकैचोटि घरको धुरी दन्दनी बलेको देख्यौं,’ मंगलबारको आगलागीबाट तीन वटा घर पूर्ण रुपमा गुमाएका लोकेन्द्रबहादुर अधिकारीले सेतोपाटीसँग फोनमा भने, ‘केही उपाय नै लागेन। घर, पसल, गोदामका सामान हेर्दाहैर्दै खरानी भए।’ फोनमा कुरा गर्दा अधिकारीको गला अवरुद्धजस्तै थियो। बोल्दा उनी बारम्बार भक्कानिन्थे।
नभक्कानिउन् पनि किन! दोभान बजार क्षेत्रका ४९ घर जलेर नष्ट हुँदा ३३ जना घरधनी र २२ परिवार डेरावाल गरेर ५५ घर परिवारको उठिबास भएको छ। त्यसमध्ये तीन वटा घर लोकेन्द्रकै हो। सात जनाको परिवारसहित दोभान क्षेत्रमा किराना व्यवसायसँगै कृषि सामग्री, अलैंची लगायतको व्यापार गर्दै आएका उनले भएभरका सबै सम्पत्ति गुमाए।
‘किराना पसल जल्यो, १ सय ३० बोरा त अलैंची मात्रै खरानी भयो,’ उनले भने, ‘त्यसबाहेक भर्खरै झारेको ३ सय ५० बोरा युरिया पनि सबै जल्यो।’ काठ र जस्तापाताले बनेका तीन वटा घरमा भएका कुनै पनि सामानको नामोनिशान नरहेको उनले जानकारी दिए।
उनका अनुसार बजारको मध्यभागमा रहेको डिजेलको ट्यांकी विष्फोट भएपछि आगो झन् तीव्र गतिमा फैलिएको थियो। एकै व्यक्तिको पनि ठूलो क्षति भएको र ठूलो व्यापारिक केन्द्र भएका कारण क्षतिको विवरण यकिन हुन सकेको छैन।
‘मेराजस्तै सामान गोदाममा भएका यहाँ धेरै छन्,’ लोकेन्द्रले भने, ‘सबैको बिल्लीबाठ भएको छ।’
सुख्खायाम सुरू भएलगत्तैदेखि सानो–ठूलो आगलागीको घटनाले सताउने पूर्वी पहाडको नियमितता जस्तै भइसकेको छ। केही समयअघि मात्रै ताप्लेजुङकै पाथीभरा क्षेत्रमा भीषण डढेलो लागेको थियो। त्यसअघि २०७६ को चैत १९ मा पनि ताप्लेजुङमा आगलागी हुँदा ७ घर जलेका थिए।
पूर्वी पहाडमा भएका आगलागीका घटनामध्ये सबैभन्दा ठूलो क्षति गरेको आगलागीको घटना २०५९ को म्यागलुङको थियो। तेह्रथुम सदरमुकामको त्यो घटनामा ८६ घर जलेर खरानी भएका थिए। २०७३ पुस १ मा भएको आगलागीमा पनि ३२ घर जलेर नष्ट भएका थिए। २०७१ को चैत ९ मा ताप्लेजुङ सदरमुकाम फुङलिङको तक्मेबजारका ३७ घर जलेका थिए।
मेची र कोसी पहाडमा वर्सेनि किन दोहोरिन्छ आगलागीको चपेटा? ताप्लेजुङका रेडक्रसकर्मी गणेश अधिकारी पहाडी क्षेत्रका बजार आगलागीका लागि उच्च जोखिम क्षेत्र भएको बताउँछन्। ‘अहिलेसम्म आगलागी भएका बजार क्षेत्र हेर्दा अधिकांश घर काठका र फुसका छाना भएका छन्,’ उनले भने, ‘यस्ता घरहरू लहरै जोडिएका हुन्छन्। जसले आगो एकदमै छिटो फैलाउन मद्दत गर्छ।’
ताप्लेजुङको दोभान बजार क्षेत्रमा पनि धेरैजसो घर काठकै थिए। जस्तापाता र फुसका छाना भएका पनि थिए। जसले आगो तीव्र रुपमा फैलाए। पक्की घरभित्रका पनि पसलका सामान पूरै जले।
कच्ची घरहरू बढी भएका कारण पहाडी बजारमा विद्युत सर्ट हुने सम्भावना पनि सधैं उच्च हुन्छ। अहिलेसम्म भएकामध्ये धेरैजसो घटना विद्युत सर्ट भएकै कारणले हुने गरेको रेडक्रस ताप्लेजुङका मन्त्री विकास गौतम बताउँछन्। कहिलेकाहीँ टुकी लडेर, मैनबत्ती लडेर पनि आगलागीका घटना भएका छन्। तर, मंगलबारको आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
पहाडी क्षेत्रमा हुने आगलागी एकदमै ठूलो क्षतिपछि मात्रै नियन्त्रणमा आउनुको अर्को कारण दमकल र पानीको अभाव पनि हो। अहिले त फुङलिङमा एउटा र पाँचथरको फिदिममा दुईटा दमकल छन्। आजको घटनास्थलमा आधा घण्टा आसपासमा दमकल पुगेको गाउँपालिका अध्यक्ष गणेश लिम्बुले बताए।
तर, घटना सुरू भएको चार घण्टासम्म पनि फिदिमबाट हिँडेको दमकल घटनास्थल पुगेको थिएन। ‘यदि दुई वटाले बेलैमा निभाउन पाएको भए यति ठूलो क्षति नहुन सक्थ्यो,’ रेडक्रसका मन्त्री गौतमले भने, ‘तर, अफ्ठयारो भूगोल र बाटोका कारण आइपुग्न समस्या नै हुन्छ। आइपुग्दा क्षति धेरै भइसकेको हुन्छ।’
दोभान बजारमा दमकलसहित एक्साभेटरहरु पनि प्रयोग गरिए। जसले घर भत्काउने, माटोले पुर्ने काम गरे। दोभान बजार दुईटा खोलाको बगरमै रहेको बजार भएका कारण पानीको समस्या भएन। अन्यथाऽ पानी भर्न दमकल गएर फर्कंदा क्षति दोब्बर भइसक्ने गरेको उदाहरण यसअघि तेह्रथुम र ताप्लेजुङमै पनि देखिएका थिए।