नेपाल विद्युत प्राधिकरण धनुषा नोलाइटका सुपरभाइजरसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर धनुषा नोलाइटका सुपरभाइजर जगतनारायण साहसहित चार जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सुपरभाइजर साह, इलेक्ट्रिसियन यमकुमार महतो, प्राविधिक नवलकिशोर राउत र मनोहर कुमारविरूद्ध मुद्दा दायर भएको हो।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरूले नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए।
घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार बर्दिबासबाट टोली खटिएको थियो। उनीहरूलाई टोलीले पाँच हजार घुससहित समातेको प्रवक्ता रिसालले जानकारी दिएका छन्।
अनुसन्धानबाट पुष्टि भएपछि उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरूमाथि बिगो कायम हुने गरी सजायको मागदाबी गरेको छ।