अर्काको जग्गाको किर्ते लालपुर्जा बनाइ ठगी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दीकी मीना खड्काको काठमाडौं थानकोटमा रहेको २० आना जग्गाको काजगात किर्ते गरी बेचेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
खड्का बेल्जियममा हुँदा उनको नामको नक्कली नागरिकता र जग्गाधनी प्रमाणपूर्जा बनाएर ठगी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
प्रहरीले यस घटनामा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४७ वर्षीय विजयकुमार खड्का, चितवन राप्ती नगरपालिका-२ पिप्लेका बालप्रसाद भट्ट, काभ्रे पनौतीका पुण्यप्रसाद काफ्ले, ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ५३ वर्षीय इन्द्रबहादुर घले र मध्यपुर ठिमी नगरपालिका-बस्ने बालकृष्ण बुढाथोकीलाई पक्राउ गरेको छ।
त्यसैगरी, गोकर्णेश्वर नगरपालिका-६ नारायणटारका ४२ वर्षीया लक्ष्मी घतानी, काठमाडौं-६ बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, काठमाडौं-१० बानेश्वरका कृष्णबहादुर दर्लामी र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४५ वर्षीय कृष्णबहादुर कटुवाल पक्राउ परेका छन्। मीरा खड्काको अभिनय गरेकी सिन्धुपाल्चोक घर भई काठमाडौंको गोकर्णेश्वर-६ बस्ने लक्ष्मी घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई प्रहरीले छुट्टाछुट्टै मितिमा पक्राउ गरेको बस्नेतले बताए।
उनीहरूविरूद्ध जग्गा धनी मीना खड्का लगायत जग्गा खरिद गर्ने ६ जनाले परिसरमा जाहेरी दिएका छन्।
अनुसन्धानबाट प्रहरीले मालपोत कार्यालयका कर्मचारीहरूको समेत संलग्नता देखिएको थियो। प्रहरीले यसमा संलग्न कलंकीका तत्कालीन शाखा अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पंज्ञानीलाई गत माघ ७ र २० गते पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौंले दाहाल र श्रेष्ठलाई ४-४ लाख र पंज्ञानीलाई एक लाख धरौटीमा छाडेको थियो। मालपोतकै लेखापढी राजाराम थापा भने फरार छन्।
एसपी बस्नेतका अनुसार आरोपितहरूमाथि संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
उनीहरूले सो जग्गा मध्यपुर ठिमी नगरपालिका-४का कृष्णगोपाल श्रेष्ठ, उनकी श्रीमती रत्नकेशरी म्हका श्रेष्ठ, कृष्णभक्त माक श्रेष्ठ, विजयलक्ष्मी श्रेष्ठलाई ७३ लाख रूपैयाँमा जग्गा बिक्री गरेका थिए।
सोही जग्गा उनीहरूले काभ्रे धुलिखेलका कुमार दाहाल खत्रीलाई प्रतिआना १० लाख ५० हजार रूपैयाँमा राजीनामा पास गरिदिने बताएका थिए। उनीहरूले गत वर्ष मंसिर ३० गते ३५ लाख बैना समेत लिएका थिए।
'अभियुक्तहरू मिलेर बिक्री गर्ने भनी कुरा चलेका तथा तत्कालै पनि बिक्रीको चर्चामा रहेका जग्गाहरूको बारेमा जानकारी राख्ने गर्थे,' एसपी बस्नेतले भने,' बिक्रीको चर्चामा रहेका जग्गामध्ये महिला जग्गाधनी भएका र टाढा बसोबास गर्ने जग्गाधनी भएका (सकेसम्म विदेश) जग्गाहरूलाई ठगी गरी बिक्रीका लागि निशाना बनाउँथे।'
त्यसपछि वास्तविक जग्गाधनीले बिक्री गर्न अर्हाएका मानिसहरूको खोजी गर्ने गरेको एसपी बस्नेतले बताए। ती व्यक्तिको पहिचान गरी आफूहरूसँग जग्गा किन्ने मानिस रहेको भन्दै जग्गाधनीको दर्ता प्रमाणपुर्जा र नागरिकताको फोटोकपी प्राप्त गर्थे। त्यसपछि ग्राहक खोजी गरी ज्यादै सस्तोमा जग्गा बिक्री गर्ने भन्दै प्रोलोभनमा पारेको देखिएको छ।
यसका मुख्य योजनाकार पुण्यप्रसाद काफ्ले र बालप्रसाद भट्ट हुन्।
उनीहरूले नै जग्गा बिक्री गर्न सबै चाँजोपाँजो मिलाएका थिए। त्यस्तै काफ्लेले पीडितहरूलाई जग्गा देखाएर खरिद गर्न तयार बनाएका थिए भने भट्टले ठगी गरेर आएको पैसा बाँडफाँट गरेका थिए।
इन्द्रबहादुर घलेले राजीनामा पास गर्न जग्गाधनी मीरा खड्काको दाइ इन्द्रबहादुर खत्री बनेर आफूलाई चिनाएको एसपी बस्नेतले बताए।
त्यस्तै, खरिदकर्ताहरू माझ मीना खड्काको नाममा सिन्धुपाल्चोक घर भई काठमाडौंको गोकर्णेश्वर-६ बस्ने लक्ष्मी घतानीलाई पेस गरिएको थियो। नक्कली नागरिकतामा पनि उनकै तस्वीर राखिएको थियो।
लक्ष्मी घतानीलाई नाटक गर्न सिकाउनेलाई पनि प्रहरीले पक्राउ गरेको छ। लक्ष्मीलाई मीनाको अभिनय गर्न विजयप्रकाश सुनुवारले सिकाएको प्रहरीले बताए। मीनाको नक्कली नागरिकता र जग्गाधनी प्रमाण पुर्जा कृष्णबहादुर कटुवालले बनाएर कृष्णबहादुर दर्लामीलाई दिएका थिए।
विजयकुमार खड्काले मीनाको नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी उपलब्ध गराएका थिए।
त्यसैगरी बालकृष्ण बुढाथोकी भने गार्डका रूपमा प्रस्तुत भएको देखिएको छ। उनले जग्गा बिक्री गर्दा आएको रकम अशोक माझीको नामबाट निकाल्थे। त्यस्तै ब्रिक्री गर्नेबेलामा बुढाथोकीले कार्यालयमा निगरानी राख्ने गरेको एसपी बस्नेतले बताए।
पक्राउ परेकामध्ये केही आपराधिक गतिविधिमा संलग्न देखिएको छ।
पुण्यप्रसाद काफ्ले ठगी मुद्दामा पहिले पनि पक्राउ परिसकेका थिए। इन्द्रबहादुर घले २०६९ वैशाख १७ गते जग्गा किर्ते मुद्दामा ३५ हजार धरौटी र दुई वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए। बालप्रासद भट्टमाथि पनि २०६८ सालमा ठगी मुद्दा चलेको थियो। किर्ते मुद्दामा विजयकुमार खड्का २०६९ चैतमा पक्राउ परेका थिए। उनी एक लाख धरौटी बुझाएर छुटेका थिए।
परिसरका अनुसार सो टोलीले अरूलाई पनि यसरी नै ठगी गरेको देखिएको छ।
उनीहरूले चितवनका शिवनगर-४ स्थित दुर्गा थापाको नामको २ कठ्ठा दस धुरको जग्गाको नक्कली धनीपुर्जा र नागरिकता बनाएर बिक्री गर्ने तयारी गरिरहेको खुलेको छ। त्यस्तै सुनसरी, धरान नगरपालिका-८ की इन्दिरा राईको भक्तपुर, दुवाकोटस्थित जग्गाको कीर्ते कागजात बनाएर लक्ष्मी श्रेष्ठ र रत्नकेशरी म्हका श्रेष्ठलाई ४३ लाख ५० हजारमा बिक्री गरेको देखिएको परिसरले जनाएको छ।
त्यसैगरी मोरङकी रितादेवी माझीको दुवाकोटकै जग्गा पनि किर्ते गरी ४९ लाख लिएर ठगिएको देखिएको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। आइतबार नै उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको छ।