त्यतिबेला सुनिता ज्ञवालीले आमाको दूध खान छाडेकी थिइनन्। ३ वर्षको उमेरमै गुल्मीको रूरू गाउँपालिका बलेटक्सारबाट पढ्नका लागि धरान जानुपर्यो। किनभने गाउँको स्कुलमा दृष्टीविहिनलाई पढाइन्नथ्यो। जिल्लैभरि थिएन।
उनकी दिदी अनिता पनि दृष्टिविहिन थिइन्। दिदी बहिनीलाई बुवाले धरानस्थित ज्ञानचक्षु स्कुलमा भर्ना गरिदिए।
उक्त स्कुल दृष्टिविहिन बालबालिका पढाउन खोलिएको थियो। त्यहीँबाट सुनिताले प्रारम्भिक शिक्षा लिन थालिन्।
सुनिता पढ्न गएको ४ वर्षपछि कान्छी बहिनी रिता पनि पढ्नका लागि धरान गइन्। रिता पनि दृष्टिविहिन हुन्।
सुनिताको परिवारमा अहिले २ दिदी बहिनी दृष्टिविहिन छन् भने २ जना भाइले देख्न सक्छन्। भाइहरू बुटबल बसेर पढ्दैछन्। उनका बुबा गाउँमै शिक्षक छन्, आमा किसान।
सुनिता र अनिताले धरानमा कक्षा– ८ सम्म पढे। एकै पटक भर्ना भएकाले अनिता र सुनिता दुवै जना सँगै थिए। दिदीहरू ८ कक्षा पास हुँदा बहिनी रिता कक्षा ५ मा पुगेकी थिइन्। त्यतिबेला ज्ञानचक्षु स्कुलमा ८ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। अहिले भने १० कक्षासम्मै हुन्छ।
अनिता र सुनिताले कक्षा ८ पास गरेपछि थप अध्ययन गर्न तीनै जना दिदीबहिनी पोखरा आए।
पोखराको अमरसिंह नमुना माविमा उनीहरू तीनै जना भर्ना भए। धरानमा दृष्टिविहिनका लागि मात्र खोलिएको स्कुल थियो। जहाँ सबै विद्यार्थीहरू दृष्टिविहिन नै थिए। संरचना पनि अपाङ्गमैत्री।
थप अध्ययनका लागि पोखरा आएपछि उनीहरू सबै खालका विद्यार्थी रहने सामान्य स्कुलमा भर्ना भएका थिए। सबै विद्यार्थीसँगै मिसिएर पढ्न थाले। विद्यालयको होस्टेल मात्र दृष्टिविहिनका लागि छुट्टै थियो। दिउँसो विद्यालयको कक्षा कोठा बाहेक होस्टलमा दृष्टिविहिनलाई सिकाउन गणित विषयका शिक्षक उपलब्ध थियो। उनीहरूले यसरी नै पढाइलाई अगाडि बढाए।
‘कक्षाकोठामा त सरले भनेको कुरा सुन्ने मात्र हो, देख्ने कुरा भएन’, सुनिताले सेतोपाटीसँग भनिन्, ‘होस्टलमा ब्रेल लिपीको किताब थियो, त्यहीँ छामेर पढेँ।’ यसरी पढ्दा पनि खासै गाह्रो नभएको सुनिता सम्झिन्छिन्। ‘देख्न नसक्ने भएकाले विज्ञानका चित्र पढ्न गाह्रो हुने हो, त्यो त देख्नेहरुलाई पनि गाह्रै छ नि,’ उनले भनिन्।
विद्यालय शिक्षा सरासर पास भएर उनी आइए पढ्न पोखराकै पृथ्वीनारायण (पिएन) क्याम्पस गइन्। पिएन क्याम्पस पनि अपाङ्गमैत्री छैन। दृष्टिविहिन पढाउने छुट्टै कक्षा, पाठ्यपुस्तक र शिक्षक छैनन्। अरू विद्यार्थी सरह सुनिताका दिदीबहिनी पिएन क्याम्पसमा पढ्न थाले।
सुनिताले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातक गरेकी छिन्। एमए भर्ना हुने उनले तयारी गरेकी छिन्। बहिनी रिताले पनि नेपाली साहित्यमा स्नातक सकेकी छिन्।
उनीहरु पोखरा आउँदा एएफएम रेडियो खुल्ने क्रम द्रूत थियो। त्यतिबेला पोखरामा अन्नपूर्ण एफएम स्थापित थियो। घर जाँदा बुबाले सर्टवेभमा बिबिसी नेपाली सुनेको सुनिता सम्झिन्छिन्। बिबिसीका संवाददाताले आफ्नै आवाजमा रिपोर्ट प्रशारण गरेको सुनेकी सुनितालाई म पनि यसरी नै बोल्न पाए हुने नि भन्ने लाग्यो। उनले यो रहर एफएमबाट पुरा गर्न चाहिन्।
पोखरामा त्यतिबेला एफएफ रेडियोको ‘कल–इन’ कार्यक्रम हिट थियो। सुनिताले कार्यक्रममा फोन गर्ने र ‘फर्माइस’ गर्न थालिन्। अन्नपूर्ण एफएमको ‘पोखरा कल–इन’ कार्यक्रममा दिनहुँ फोन गर्ने र गीतहरु ‘डेडिकेशन’ गर्न थालिन्। पिएन क्याम्पसको होस्टल बस्दा रेडियो कार्यक्रम आउने समय कुरेर बस्थिन्।
रेडियोको कार्यक्रममा फोन गर्दा– गर्दै उनलाई अब रेडियोमै गएर बोल्न मन लाग्यो।
‘रेडियोमा बोल्ने पाए त हल्ला–खल्ला गर्न पाइन्छ, क्रेज पनि हुन्छ भन्ने थियो शुरूमा त’, उनले भनिन्, ‘त्यही बेला अन्नपूर्ण एफएमले नै रेडियो प्रस्तोतामा विज्ञापन खुलायो।’
रेडियोमै काम गर्ने भनेर सुनिताले यसअघि पनि अन्नपूर्ण एफएममै अन्तरवार्ता दिएकी थिइन्। तर त्यतिबेला उनी छनोट भइनन्। एफएमले विज्ञापन खुलाएपछि फेरि उनले आवेदन दिइन्। उनको आवेदन ‘सर्टलिष्ट’मा पर्यो। १५ जना छनोट गरेर अन्तरवार्ताका लागि बोलायो, यसपालि उनी अन्तरवार्ताबाट छनोट भइन्।
गुल्मीको गाउँमा हुँदादेखिको सपना अब पुरा हुँदै थियो। २०६५ सालमा अन्नपूर्ण एफएमले रेडियो प्रस्तोताका रूपमा छनोट गरेपछि उनले कार्यक्रम चलाउन थालिन्। सुरूमा उनले ‘सारथी’ नामक साप्ताहिक रेडियो कार्यक्रम चलाइन्। त्यो कार्यक्रममा अपाङ्गताको पक्षमा आवाज उठाउने अन्तरवार्ताको कार्यक्रम थियो।
सारथी पछि उनले अर्को ‘सहअस्तित्व’ नामक कार्यक्रम थालिन्। यो कार्यक्रम विशेषगरी अपाङ्गता भएका महिलामा केन्द्रित थियो। सहअस्तित्व कार्यक्रम थालेपछि उनले केही समय सारथी कार्यक्रम स्थगित गरिन्।
सहअस्तित्व कार्यक्रम चलाउँदा– चलाउँदै उनले हप्तामा ३ वटा रेडियो कार्यक्रम सञ्चालन गर्न थालिन्। सहअस्तित्व भइहाल्यो, सारथीलाई पनि निरन्तरता दिइन् र ‘आजका नारी’ नामक नयाँ कार्यक्रम पनि चलाउन थालिन्। यी सबै कार्यक्रम बोल्ने मान्छे खोजेर ल्याउनुपर्ने खालको थियो। कल–इन कार्यक्रममा फोन गरे जस्तो भएन, उनले सोचे जस्तो हल्लाखल्ला पनि गर्न मिलेन।
कार्यक्रम चलाउँदै जाँदा सुनिताले आजका नारी नामक कार्यक्रम स्थगित गरिन् र अर्को नयाँ कार्यक्रम थालिन्। ‘मेरो उहाँ, मेरी उनी’ नामक कार्यक्रम श्रीमान–श्रीमती जोडीका कथा भन्ने कार्यक्रम थियो। उनले यो कार्यक्रम अघि बढाइन्।
शुरूमा सारथी कार्यक्रम चलाउँदा आधा घण्टाको ७५ रुपैयाँ पाएकी थिइन्। कार्यक्रमको स्वरुप र संख्या बढे पनि रेडियोको कामले खान पुग्दैनथ्यो। मुश्किलले कहिलेकाँही खाजा खान र कार्यक्रममा बोल्ने ‘गेष्ट’ खोज्न फोन गर्न पुग्थ्यो। पैसा भन्दा उनको शोख नै ठूलो भयो त्यतिबेला।
तीनै जना दिदीबहिनीले पढाइलाई निरन्तरता त दिएकै थिए। आइए सकिएपछि जेठी दिदी अनिताले पोखराकै मालेपाटनस्थित बाराही माविमा पढाउन थालिन्। आफू दृष्टिविहिन भए पनि उनले अरू सामान्य विद्यार्थीलाई पढाउनुपर्थ्यो। सेतो छडीको साहारामा स्कुल जाने आउने गर्न थालिन् अनिता।
सुनिता भने पढाइसँगै रेडियोको दुनियाँमा रमाएकी थिइन्। दिदीले पढाउन थालेपछि उनीहरुको आम्दानीको स्रोत खुल्यो। तर यो धेरै लामो समय गएन। एकदिन स्कुल जान बाटो काट्दै गर्दा मदरल्याण्ड बोर्डिङ स्कुलको बसले उनलाई ठक्कर दियो। उनी त्यहीं अस्ताइन्।
दिदी गएपछि रिक्त ठाउँमा पढाउन सुनितालाई राख्ने कुरा चलेको थियो तर विद्यालय प्रशासनले मानेन।
‘मसँग शिक्षण अनुमतिको लाइसेन्स थियो, तर बाराही स्कुलले मानेन। किन मानेन मलाई थाहा छैन। आइ थिङ्क, ‘ब्लाइन्ड’ भनेरै होला’, उनले भनिन्।
रेडियोको कार्यक्रमलाई उनले निरन्तरता दिँदै गइन्। हल्लाखल्ला गर्न पाइन्छ भनेर रेडियो छिरेकी सुनिता गम्भीर मुद्दाहरूमा बहस गर्ने र जिम्मेवार व्यक्तिहरूलाई प्रश्न सोध्ने भइन्।
एक दिन घरमा बुबाले उनलाई घरमा बोलाए। २ दिनका लागि बहिनीलाई लिएर उनी घर गइन्।
घर जाँदा ‘अपाङ्गता आवाज’ कार्यक्रम रेकर्ड गरेकी थिइन्। अर्को सारथी कार्यक्रम पहिल्यैको दोहोर्याइन्। ‘मेरो उहाँ, मेरी उनी’ कार्यक्रममा बोल्ने मान्छे खोजिसकेकी थिइन्। तर गुल्मीबाट पोखरा फर्किन सकिनन्।
देश संघीयतामा जान प्रदेशको सिमाङ्कन हुँदै थियो। प्रदेश नं. ५ मा केही विवादहरू भए। त्यहीँ विवादका कारण गुल्मी जिल्ला बन्द भयो। जिल्ला बन्द हुँदा उनी पोखरा फर्किन सकिनन्। यता, बोल्ने मान्छे ठीक्क भइसकेको कार्यक्रम रद्द गर्नुपर्ने, उता आफू गाउँमै थुनिनुपर्ने।
सुनिताले रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई फोन गरिन्। फर्कन्छु भनेको दिनमै बन्द भयो के गर्ने भनिन्। श्रेष्ठले 'बर्बाद भयो' भन्दै अबदेखि कार्यक्रम नगर्ने भन्ने जवाफ दिए।
'मैले त्यतिबेला ‘मेरो उहाँ, मेरी उनी’ कार्यक्रम पनि दोहोर्याएको भए समस्या नआउने रहेछ,' उनले भनिन्, ‘इमान्दार हुनुपर्छ भनेर त्यसो नगरी समस्याबारे जानकारी गाराउँदा उल्टै निकालिनुपर्यो।'
स्टेशन प्रमुख श्रेष्ठले 'अब तिमी कार्यक्रम नगर, तिम्ले भ्याउँदैनौ' भनेका थिए। सुनिताले भने म भ्याउँछु भनिन्। तर उनको जोर चलेन। त्यसपछि उनको पनि मन मर्यो। उनी अनुभवको पत्र माग्न रेडियो गइन्। त्यो समेत उनले पाइनन्। स्टेशन प्रमुख श्रेष्ठले म्यानेजमेन्ट कमिटीमा कुरा गर्नुपर्छ भनेर टारिदिए।
श्रेष्ठले पुनः रेडियोमा कार्यक्रम सञ्चालन गर्न उनलाई आग्रह गरे। तर उनले मानिनन्।
‘अब खुरुखुरु रेडियोमा कार्यक्रम गर भन्नुभएको थियो, तर त्यसपछि मलाई त्यहाँ काम गर्न मन लागेन,’ उनले भनिन्।
अन्नपूर्ण एफएमबाट यसरी निकालिएकी सुनिता अर्को रेडियोमा काम गर्न बायोडाटा लिएर गइन्। त्यहाँ पनि उनले काम पाइनन्। रेडियोमा कार्यक्रम उत्पादनदेखि प्रस्तुत गर्ने मोह भने अझै उनले मारेकी छैनन्। अहिले पोखराकै अर्को एफएममा कुरा भइरहेको उनी बताउँछिन्।
उनले साथीहरूबाट स्वतन्त्र रूपमा चलाउने 'पडकाष्ट' बारेमा सुनेकी छन्। तर यसका लागि के कस्तो प्राविधिक ज्ञान र आर्थिक जोरजाम चाहिने हो भन्ने उनलाई जानकारी छैन।
रेडियोमा बोल्न छाडेको ४ बर्ष वित्यो। अहिले उनी पोखराकै धर्मस्थली आधारभूत विद्यालय प्रस्याङमा पढाउँछिन्। आफू दृष्टिविहिन भए पनि आँखा देख्ने बालबालिकामा दृष्टिकोण दिँदैछिन्, सुनिता। विद्यालयमा सामाजिक विषय पढाउने उनले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउँछिन्।
शिक्षणका अलवा उनले बालबालिकालाई वक्तृत्वकलामार्फत तर्क गर्न सिकाएकी छिन्। निबन्ध, कविता र नाटक सिकाएकी छिन्। अहिले पोखरा थिएटरले कक्षा–४ देखि ७ सम्मका बालबालिका स्तरीय नाटक प्रतियोगिता गर्दैछन्। सुनिताकै सक्रियतामा धर्मस्थली स्कुलले पनि उक्त नाटक प्रतियोगितामा भाग लिएको छ। रिजल्ट चैतमा आउँदैछ।
विद्यालयको वार्षिकोत्सवमा गीत गाउनेदेखि अन्य सिर्जनशील गतिविधिमा पनि उनी उत्तिकै सक्रिय छिन्। बालबालिका पनि उनीसँग उत्तिकै रत्तिएका छन्। विद्यालयमा उनले दृष्टिविहिन हुनुपर्दा भोग्नुपर्ने विभेद भोग्न परेको छैन। शिक्षकले पनि ‘त्यहाँ खाल्डो छ मिस’ भनेर उनको ख्याल राखेका छन्।
उनका तीनै दिदी बहिनीले सरकारी र गैरसरकारी संस्थाको सहयोगमा अध्ययन गरेका थिए। सुनिता ६ महिनाका लागि अंग्रेजी भाषा र कम्युटर तालिम लिन काठमाडौं गएकी थिइन्। भोकल र कम्युटरमा उनी प्रथम भइन्। गुल्मीबाट धरानहुँदै पोखरा आएर कर्मथलो बनाएकी उनले अर्काले गर्ने खिसिट्युरीलाई मतलब गर्दिनन्।
केही गर्नुपर्दैन, सोच बदले पुग्छ
रेडियोमा काम गर्दा–गर्दै एक पटक गैरसरकारी संस्था ‘इक्वेल एक्सेस’ ले नयाँ कार्यक्रम प्रस्तोताका लागि आवेदन खुलायो। सुनिताले पनि इमेल मार्फत आवेदन दिइन्। उनले आवेदनमै ‘आइ एम ब्लाइन्ड, बट आइ क्यान डु’ लेखिन्। आवेदनसँगै उनले अन्नपूर्ण एफएममा काम गर्दा दिएको परिचय पत्रको फोटोकपी पनि पठाइन्।
इक्वेल एक्सेसको रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ त्यतिबेला चर्चित थियो। सुनिता नछुटाइ सुन्थिन् यो कार्यक्रम। त्यहीँ कार्यक्रमका लागि आवेदन खुलेको थियो, सुनिताले आवेदन दिएकी थिइन्।
उनको नाम इक्वेल एक्सेसको शर्टलिष्टमा निस्कियो। उनी मख्ख भइन्। इक्वेल एक्सेसबाट फोन आयो। ‘तपाईलाई बुधबार फोन आउँछ है, १० बजे’ फोनमा उक्त संस्थाका अधिकारीले भने।
सुनितासँग नोकियाको ३११० मोडलको मोबाइल थियो। उनले विहानै फुल चार्ज गरिन्। फोन आउला र कुरा गरौंला भनेर। तर फोन आउँदै आएन। दिन बितेर गयो।
सुनिता रेडियो गएर आफ्नो काम सकिन्। इक्वेल एक्सेसमा फोन गरेर बुझिन्। उताबाट जवाफ आयो– ‘तपाईको फोन लागेन।’
आफू दृष्टिविहिन भएकै कारण आफू शर्ट लिष्टमा पर्दा पनि अन्तरवार्ता दिन नपाएको उनले ठानिन्। पहिलो पटक मुटुमा चसक्क बिज्यो।
‘गाउँमा भएको भए पो फोन नलाग्ला। टावर के होला, के होला। पोखरामा फुल टावरमा बसेको छु। फोन लागेन भनेर त्यस्तो गैरजिम्मेवार कुरा गरे। त्यहाँ पहिलो पटक ‘डिस्क्रिमिनेशन’ गरेको फिल भयो। यो ६७ सालतिरको कुरा,’ उनले भनिन्।
आवेदन दिँदै आफू दृष्टिविहिन भनेर नलेखेको भए अन्तरवार्ता हुने र आफू पास हुनेमा उनी अझै विश्वस्त छिन्।
‘त्यसो गरेको भए पनि पछि छनोट भइसकेपछि मलाई फाल्दिन सक्थेँ,’ उनले भनिन्।
पोखरामा बस्दा कोठा पाउनै गाह्रो हुनेदेखि बाटो हिँड्दा अरू व्यक्तिले गर्ने टिप्पणी पनि उत्तिकै अश्लिल हुन्छ। सार्वजनिक यातायातले कहिले त रोक्दा पनि रोक्दैन। यी सब दुर्व्यवहार र विभेद टन्न भोगेकी छिन्, सुनिताले।
अहिले उनी बहिनी लिएर पृथ्वीनारायण क्याम्पसमै पढाउने लालबहादुर कुँवरको घरमा बसेकी छिन्।
त्यहाँ बसेको १० बर्ष वित्यो, अहिलेसम्म कुनै भेदभाव भोग्नुपरेको छैन। ‘उहाँको घरमा बस्दा हामीलाई परिवारमै बसेको जस्तो लाग्छ, साथीलाई जस्तो ‘केयर’ गर्नुहुन्छ’, उनले भनिन्।
उनका अनुसार बाटोमा हिँड्दा मान्छेले गर्ने दुर्व्यवहार त छँदैछ, सडकमा भेटिने कुकुर र छाडा चौपायाको पनि उत्तिकै खतरामा छन्, दृष्टिविहिन।
‘बाटोमा सुतेको कुकुर कुल्चियो भने टोक्छ उनले भनिन्, गाई गोरू हान्न आउँछ, अरू मान्छेले गर्ने व्यवहार त भई नै हाल्यो, गाडीले त झन् स्कुल जाँदै गर्दा दिदीलाई हानिदियो,’ उनले भनिन्।
नेत्रहीन संघ कास्कीको सहसचिव छन् सुनिता। उनीहरूले दृष्टिविहिनसँग सम्बन्धित भएर कार्यक्रमहरू गरिरहेका छन्। तालिम, नेतृत्व विकास र शौक्षिक सामाग्री वितरण गर्छन्। पढ्न नपाएकालाई पढ्न जोहो मिलाउँछन्।
देश दुनियाँमा के भइरहेको छ रेडियो सुनेर थाहा पाउँछन् उनीहरू। यसका अलवा अनलाइनमा छापिएका समाचार पनि मोबाइलले पढेर सुनाइदिन्छ। अनलाइन खोलेपछि मोबाइलले नै हेडलाइन भनिदिन्छ, मन परेको कुरा मोबाइलले बोलेपछि डबल क्लिक गरेर समाचार र विचार सुन्छन्। फेसबुक मज्जाले चलाउन सक्छन्। मोबाइलले नै फोटोको नाम वा ब्याकग्राउण्ड भनिदिन्छ र फोटोमा देखिएको व्यक्ति उठेको छ कि बसेको वा केही गरिरहेको छ भने त्यो मोबाइलले नै भनिदिन्छ।
प्रविधिले दृष्टिविहिनलाई सजिलो बनाइदिएको छ। अप्ठ्यारो त आँखा देख्नेहरुबाटै भएको ठान्छिन्, सुनिता।
अपाङ्गता भएकाहरुका लागि सरकारले के गर्नुपर्छ त?
प्रश्न झर्न नपाउँदै उनले जवाफ दिइन्,‘अरू केही गर्नुपर्दैन, सोच परिवर्तन गर्नुपर्छ,’ उनी थप्छिन्, ‘जबसम्म सोच परिवर्तन हुँदैन, नियम बनेर केही हुँदैन।’
सरकारले गरेको विभेद र दुर्व्यवहार जहाँ पनि देखाउन सक्छिन् उनी।
‘बाटो हेर्नुस् त कस्तो छ? कार्यालय हेर्नुस्, सरकारले हामीलाई गर्ने दुर्व्यवहार भनेकै अपाङ्ग मैत्री कार्यक्रम र विकास नगर्नु हो,' उनले भनिन्, 'अहिलेसम्म हामीलाई महसुस हुने गरी उसले केही गरेको छैन। के गर्यो त?’ उनी आफैं प्रश्न सोध्छिन्।
अपाङ्गता भएका व्यक्तिले आफ्नो क्षमताले अघि बढ्दा पनि समाज र सरकारले अमानवीय व्यवहार देखाएको उनले बताइन्।
शिक्षक सेवा आयोगबाट खुला प्रतिश्पर्धा गरेर एक नम्बरमा नाम निकालेका सुनिताका दृष्टिविहिन साथी छन्।
‘जो अहिले पनि विद्यालय गएर हाँजिर गर्न पाएका छैनन्।
‘हामी त आफ्नो क्षमताले गएका हौं, त्यस्तो गर्न त भएन नि,' उनले भनिन्, ‘आफूबाहेक अरूले केही पनि गर्न सक्दैन भन्ने सोच नै सबैभन्दा खराब छ।’
राज्य चलाउनेले आफूहरूलाई कस्तो सोच्छन् भन्ने अर्को उदाहरण पनि छ उनीसँग।
उनकी बहिनी रिताले अरू सामान्य विद्यार्थीसँगै स्नातक पास गरेपछि उनका बुबाले सरकारका एक जना सचिवलाई फोन गरे। गण्डकी प्रदेशकै एउटा मन्त्रालयमा काम गर्ने सचिवले आँखा नदेख्नेले के गर्न सक्छ र भनेर उनका बुबालाई जवाफ फर्काइदिए।
‘पढेलेखेर सरकारको सचिव भएका मान्छेलाई पनि थाहा छैन हामीले के गर्न सक्छौं भनेर,' सुनिताले भनिन्, ‘मान्छेका सोंच कति पछाडि रैछ त?’