सुर्खेतको चिङ्गाड गाउँपालिका-६ मा रहेको वृद्धवृद्धाहरूलाई गाडी रिजर्भ गरी कोरोना विरूद्धको खोप लगाइएको छ।
६५ वर्षमाथिका नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने अभियानअन्तर्गत वृद्धवृद्धालाई खोप केन्द्रमा ल्याउन गाडी रिजर्भ गरिएको हो।
वडा नम्बर ६ को खोप केन्द्र रहेको पाम्का स्वास्थ्य चौकीका सिनियर अहेव डिकेन्द्र रानाका अनुसार वडा भित्रका भौगोलिक कठिनाइ भएका ठाउँका वृद्धवृद्धाहरूलाई गाडी रिजर्भ गरी खोप केन्द्रमा ल्याएर कोरोना विरूद्धको खोप लगाइएको हो।
‘खोप अभियान सुरू हुनुको अघिल्लो दिन (२२ गते) वडा खोप समन्वय समितिको बैठक बसेर यस विषयमा छलफल गर्यौं,’ सिनियर अहेव रानाले भने, ‘त्यसक्रममा टाढाबाट वृद्धवृद्धाहरू हिँडेर आउन कठिन हुने भएर गाडी रिजर्भ गरेर ल्याउने निर्णय गरियो, विभिन्न व्यक्तिहरूबाट सहयोग रकम उठाएर गाडी रिजर्भ गर्यौं।’
युवा समाजसेवी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट सहयोग रकम उठाएर उनीहरूलाई वृद्धवृद्धाका लागि गाडी रिजर्भ गरिएको उनले बताए।
‘वृद्धवृद्धाहरूलाई खोप केन्द्रमा आउन कम्तिमा पनि ३ घण्टा लाग्ने ठाउँहरू छन्, त्यसैमा पनि अप्ठ्यारो बाटो छ,’ रानाले भने, ‘यसले गर्दा उहाँहरू हिँडेर आउने सम्भावना कमै देखियो, गाडी रिजर्भ गरेर खोप लगाउन ल्यायौं।’
प्रत्येक व्यक्तिबाट १ हजार ५ सयका दरले सहयोग रकम संकलन गरिएको उनले जानकारी दिए।
यसरी १० हजार ५०० रुपैयाँ सहयोग रकम संकलन भएको उनले बताए। उनका अनुसार गाडी रिजर्भ नगरेको भएर सरकारले तोकेको लक्ष्य अनुसारको खोप लिने व्यक्ति आउने थिएनन्।
‘हामीलाई गाउँपालिकाले १५० जना ६५ वर्ष माथिका नागरिकहरूलाई यो केन्द्रबाट खोप दिनुपर्ने लक्ष्य तोकेको थियो, तर पहिलो दिनमै १११ जनाले खोप लगाइसक्नुभयो,’ सिनियर अहेव रानाले भने, ‘५० प्रतिशत पनि सहभागी नहुने अनुमान गरिएको थियो, तर पहिलो दिनमै तोकिएको ८५ प्रतिशत भन्दा धेरैले खोप लगाइसक्नुभयो।’
सोमबार खोप लगाएका १११ जना सबैलाई रिजर्भ गरिएको गाडीमै ल्याइएको हो।
चिङ्गाड गाउँपालिका–६ का वडा अध्यक्ष छविलाल रानाका अनुसार भौगोलिक कठिनाई भएका ठाउँका लक्षित समुदायलाई गाडी रिजर्भ गरी ल्याएएर खोप लगाई सकिएको छ।
बाँकी खोप केन्द्र नजिकका नागरिक भने आफैं आएर कोरोना विरूद्धको खोप लगाइरहेको रानाले बताए।
‘चन्दा उठाएर भए पनि हामीले भौगोलिक रूपमा समस्या भएका वडाका नागरिकहरूलाई ल्याएर कोरोनाविरूद्धको खोप लगाइसकेका छौं, बाँकी नजिकका केही नागरिकहरू अब आफैं केन्द्रसम्म आएर खोप लगाउनुहुन्छ,’ अध्यक्ष रानाले भने।