सोमबार दैलेखको राकमस्थित कर्णली नदीमा मृत भेटिएका दुई दिदी-बहिनीका आमासहितले नदीमा हाम फालेको आशंका गरिएको छ।
उनीहरूका आमा सुकु बडुवालले आफ्ना चार सन्तानलाई लिएर सँगै नदीमा हाम फालेको आशंका गरिएको छ।
सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए। राकम र अछामको बीचमा पर्ने नदीको अछामतर्फको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ।
दैलेखको आठबीस नगरपालिका-३ निमायलकी सुकी बडुवालले श्रीमानसँग झगडा परेपछि आफ्ना चार सन्तानसहित सोमबार बिहानै घरबाट निस्किएकी थिइन्। आइतबार राति मदिरा सेवन गरी घरमा गएका श्रीमानसँग झगडा परेपछि उनी बिहानै निस्किएकी थिइन्।
घरबाट निस्किएका दुई छोरीको शव भेटिए पनि एक छोरा, एक छोरी र आमाको अवस्था अज्ञात रहेको आठबीस-३ का वडा अध्यक्ष प्रयाग शाहीले सेतोपाटीलाई बताए। उनका अनुसार ८ वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया छोरी रजनी बडुवाल र आमाको अवस्था अज्ञात छ।
‘घर झगडा परेर छोराछोरी लिएर घरबाट निस्किएको भन्ने छ, उनीहरू सबैले नदीमा हाम फालेको आशंका गरिएको छ,’ वडा अध्यक्ष शाहीले भने।
मृत भेटिएका दिदीबहिनीका बाबु मानसिहं बडुवाल भने प्रहरी नियन्त्रणमा छन्। उनलाई सोमबार बेलुका घर नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ।
‘श्रीमान राति रक्सी खाएर अचेत भएर घर गएका रहेछन्, रक्सी खाएर गएका श्रीमानले झगडा गरेपछि श्रीमती बिहानै चार छोराछोरी लिएर घरबाट निस्किएको भन्ने खबर आएको छ,’ आठबीस नगरपालिकाका उपमेयर दीपा बोहोराले भनिन्, ‘अचेत भएकाले होला श्रीमती र छोराछोरी निस्किएको थाहा पाएनछन्।’
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दैलेख र दुल्लु नगरपालिकाबाट थप प्रहरी गएको छ। घटना स्थलमा मुचुल्का उठाउने काम भइरहेको वडा अध्यक्ष शाहीले बताए।
‘नजिकका दाइभाइ पर्ने मानिस नेपालगञ्जबाट आउँदैछन्, उहाँहरू आएपछि नै मुचुल्का उठाउने काम सकिन्छ होला,’ उनले भने।