काठमाडौंमा नागरिक आन्दोलन चलिरहँदा सुर्खेत, वीरेन्द्रनगरमा बादी समुदाय धर्ना बसिरहेका छन्।
खेतीयोग्य जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि उनीहरूले धर्ना दिएको दुई साता भयो।
त्यसैबीच आइतबार अस्मिता बादी त्यहाँको प्रतिनिधित्व गर्दै काठमाडौं आएकी थिइन्। नागरिक आन्दोलन भइरहँदा आफू पनि यही देशको नागरिक भएको र आफ्नो पनि उत्तिकै अधिकार भएको बताउँदै उनले भनिन्, 'हाम्रो आन्दोलन भएको करिब दुई साता भइसक्दा पनि सरकारले हाम्रो कुरा सुनेको छैन। सुर्खेतको आवाज काठमाडौंले नसुनेकाले मैले मेरो कर्णाली अनि बादी समुदायलाई मभित्र बोकेर आएकी छु।'
यही फागुन १० गतेदेखि सुर्खेतमा बादी आन्दोलन भएको हो। गत आइतबार उनीहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा मन्त्रिपरिषद कार्यालय गेटमा प्रहरीले लाठी चार्ज गरे। यसपछि उनीहरूको आन्दोलन चर्कियो।
त्यसअघि २०६४ सालमै उनीहरूले ४८ दिने शान्तिपूर्ण आन्दोलन गरेका थिए। त्याेबेला जग्गाजमिन, शिक्षा, स्वास्थ्य लगायत २६ बुँदे माग राखेका थिए। सरकारले त्यस विषयलाई हेर्यो, सुनेजस्तो गर्यो तर कार्यान्वयन गरेन।
अनि आफूहरूले फेरि आन्दोलन गर्नुपरेको बताउँदै अस्मिताले भनिन्, 'हामी बादीहरू ७४ जिल्लामा फैलिएका छौं। तर सरकारले हामीलाई देशको नागरिकै होइन जसरी बेवास्ता गर्छ। जसले गर्दा हामी जहिल्यै पछाडि रह्यौं। त्यसै कारण सम्पूर्ण कर्णाली प्रदेशका बादीहरू एकजुट भएर आन्दोलनमा उत्रिनुबाहेकको विकल्प देखेनौं।'
अस्मिताले त्यहाँको समुदायको आवाज बोकेको कविता पनि सुनाइन्,
'महाशय! शिरदेखि पाउसम्मै हेर
अहँ! आँखा झिमिक्क नगरी हेर
र, मलाई भन
कहाँनेर म मान्छे होइन लेखिएको छ?
कहाँनेर बादी हुनुको छाप छ?
म आफूलाई तिमीजस्तै देख्छु र तिमीलाई मजस्तै
हामी उस्तै उस्तै मान्छे
तिमी छुत...म अछुत कसरी?
घामले अछुत भनी न्यानो नदिएको देखेका छौ?
आगो, पानी र हावाले विभेद गरेको देखेका छौ?...'
आइतबार बिहानै उनी सुर्खेतबाट नागरिक आन्दोलनकै लागि भनेर काठमाडौं आएकी थिइन्। सोमबारै फर्किसकेकी उनले त्यहीबीच सेतोपाटीसँग कुराकानी गर्दै आफू र आफ्नो समुदायबारे बताइन्।
'म अहिले स्नातक पढिरहेकी छु। मेरा लागि परिवारले जति गर्न सक्नुभयो, गर्नुभयो,' उनले भनिन्, 'तर बादी समुदायमा त्यस्ता व्यक्ति पनि छन् जसलाई चामलको भात खान दसैं कुर्नुपर्छ। खान नपुग्ने ठाउँमा पढ्ने कसरी? अरू सुविधा त कता हो। हाम्रो समुदायलाई जहिल्यै हेपाइ र नराम्रो दृष्टिकोणले हेरियो। यतिसम्म हुन्छ, कुनै ठाउँमा त बादी भनेपछि परैबाट मान्छेहरू बाटो काट्छन्।'
मुख्य पेसा वाद्यवादन बजाउने भएकाले कालान्तरमा उनीहरूलाई बादी भन्न थालिएको हो। इतिहास हेर्दा केही अध्येताले पन्ध्रौं शताब्दीभन्दा अगाडि नै बादीहरू भारतबाट नेपाल आएका हुन् भन्ने अनुमान गरेका छन्। उनीहरूको पेसा राजदरबार र भाइभारदारका महलमा मंगल गान गर्ने, नृत्य, गायन तथा वाद्यवादन कलाद्वारा मनोरञ्जन प्रदान गर्ने हो। त्यो परम्परा लिच्छविकालीन राजाहरूको दरबारबाट मल्ल राजाहरूसम्म सर्यो। पछि उनीहरूलाई तत्कालीन जमिनदार र समाजका सम्भ्रान्तहरूको मनोरञ्जनका लागि पनि राख्न थालियो।
'हामी विभिन्न ठाउँमा नाच्दै, डुल्दै हिँड्ने भएकाले हामीलाई कहिले जग्गाको आवश्यकता महशुस भएन,' अस्मिताले भनिन्, 'मलाई अहिले पनि याद छ, हामी कहिले कुन, कहिले कुन गाउँमा बस्थ्यौं। आज घर यता भयो, भोलि अर्कै ठाउँमा हुन्थ्यो। त्यतिबेला रमाइलो लाग्थ्यो।'
तर पहिलेजस्तो घुमन्ते-फिरन्ते जीवन अहिले सम्भव छैन। विकल्प नभएपछि बाध्यताले आफूहरूले खेतीयोग्य जमिनको माग राखेको उनी बताउँछिन्।
'अहिले हामी बादीहरू ऐलानी जग्गामा बस्छौं। हामीलाई त्यस ठाउँबाट नउठाइयोस् भनेर आफ्नै जग्गाको माग राखेका हौं,' उनले भनिन्, 'हाम्रो जग्गाजमिन भयो भने कसैकहाँ माग्न जानुपर्दैन, कसैसँग झुक्नुपर्दैन। अनि हजार पटक सरकारलाई झक्झकाउन पनि पर्दैन।'
त्यसैगरी, उनीहरूको अर्को माग सरकारी जागिरको कोटा प्रणालीमा छ।
लोकसेवा लगायत अन्य सरकारी सेवामा दलित कोटा हुन्छ। तर त्यसको दायरा निकै ठूलो छ। त्यसै कारण आफ्नो पहुँच पुग्नै गाह्रो हुने भएकाले उनीहरूले छुट्टै बादी कोटा चाहियो भनेर मागेका छन्।
'अरू समुदायले पनि त्यस्तो भन्नुहोला। तर हामी जसरी दबाइएका छौं त्यो हिसाबमा यो माग जायज हो,' अस्मिताले भनिन्, 'हाम्रो संख्या कम छ, इतिहास पनि त्यति ठूलो छैन।'
बादी समुदायको अर्को समस्या देह व्यापार हो जुन अहिले निकै हदसम्म कम भइसक्यो। शिक्षा र रोजगारी अवसरबाट बञ्चित हुँदा आम्दानी भएन। अनि परिवारको रेखदेख र खर्च जुटाउन उनीहरू देह व्यापारमा लागे।
'म त पढे-लेखेकाले सक्षम छु। तर जसको कुनै बाटो छैन उनीहरूले गर्ने के? बाध्य भएर त्यो पेसा अँगालेका हुन्,' उनले भनिन्, 'बादीमाथिको त्यो छाप पनि हामी मेटाउन चाहन्छौं।'
यो समुदायमा महिलाहरूलाई सानै उमेरमा बिहे गरिदिने चलन पनि यथावत छ। अहिले भइरहेको आन्दोलनमा पनि तीन–चार जना बच्चा भइसकेका १४-१५ वर्षीया महिला देख्दा आफूलाई नरमाइलो लागेको बताउँदै भनिन्, 'उनीहरूले मैलेजसरी पढ्ने अवसर पाएको भए त्यस्तो हुन्थेन होला।'
अस्मिताले सानै उमेरमा काठमाडौंमा पढ्न पाएकी हुन्। 'लाइटहाउस फाउन्डेसन नेपाल' संस्थाले उनलाई कक्षा १२ सम्म पढाउन काठमाडौं ल्याएको थियो। यहाँ पढ्दापढ्दै उनले कक्षा ११ मा पढ्दै पढाउन थालिन्। पछि स्नातक दोस्रो वर्ष पढ्दापढ्दै कामको सिलसिलामा साइप्रस गइन्।
तीन महिनाअघि मात्रै फर्किएकी उनले भनिन्, 'घरको आर्थिक स्थिति कमजोर भएकाले पढाइभन्दा पैसा ठूलो लाग्थ्यो। सधैं अर्काको भरमा बाँचेर पनि त चल्थेन।'
अहिले उनी वीरेन्द्रनगरस्थित एक संस्थामा 'सोसल मोबिलाइजर' का रूपमा काम गरिरहेकी छन्। परिवारलाई आर्थिक रूपमा हेर्नेदेखि कक्षा ११ र १२ मा पढिरहेका भाइहरूको पढाइ जिम्मा पनि आफ्नै काँधमा रहेको उनी बताउँछन्।
साहित्यप्रति सानैदेखि लगाव भएकाले अस्मिता गजल, कविता, निबन्ध लेख्थिन्। पत्रपत्रिकामा छपाउन थालेको भर्खर हो। पत्रकारिता पढिरहेकी उनलाई पत्रकार बनेर आफ्नो जस्तै समुदायका कथा भन्न मन छ। राज्यलाई पत्रकारिताबाट आफ्नो समुदायका कथा सुनाउन सजिलो त हुन्छ नै, आफ्नो समुदायबाट नाम चलेका पत्रकार नभएकाले त्यो खाडल पनि पूरा गर्न चाहन्छिन्।
तर भन्छिन्, 'करिअरभन्दा पनि अहिले त पैसा कता छ भन्ने भएकाले त्यो पेसालाई अँगालेकी छैन। तर जुन क्षेत्रमा भए पनि आफ्नो समुदायका लागि लड्नुपर्दा पछि हट्दिनँ।'
छुटिनुअघि अस्मिताले भनिन् पनि, 'मेरो जातिको विषयमा जे सोध्नुपरे पनि सम्झिन सक्नुहुन्छ। त्यो विषयमा म बोल्छु।'