दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदीमा मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ। मंगलबार बेलुका शव मंगलसेन लगिएको हो।
उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसेनमा रहेको जिल्ला अस्पतालमा लैजाने निर्णय गरिएको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष प्रयाग शाहीले जानकारी दिए।
आइतबार बेलुका ४ बजे घरबाट निस्किएका आठविस नगरपालिका–३ निमायलकी सुकी बडुवाल र उनका ३ छोराछोरीको कर्णाली नदीमा शव भेटिएको थियो।
दुई छोरीहरु १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीय सरिता बडुवालको सोमबार बेलुका शव भेटिएको थियो। मंगलबार बिहान आमा सुकी र ८ वर्षीय छोरा ललित बडुवालको शव भेटिएको थियो। उनीहरु सबैको शव डोरीमा बेरिएको अवस्थामा भेटिएको थियो।
कान्छी छोरी ५ बर्षकी रजनी बडुवालको अवस्था भने अझसम्म पनि अज्ञात नै रहेको वडा अध्यक्ष शाहीले बताए।
मदिरा सेवन गरी घर पुगेका श्रीमान मानसिंह बडुवालसँग झगडा भएपछि श्रीमती सुकी बडुवाल घाँस काट्न जाने निहुँमा छोराछोरी लिएर निस्किएको वडा अध्यक्ष शाहीले बताए।
घरबाट निस्केपछि भेरी नदीमा हाम फालेको आशंका गरिएको छ। श्रीमान मानसिंह भने प्रहरीको नियन्त्रणमा छन्। आमा र छोराको शव पनि दुई बहिनीको शव भेटएको स्थान नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।