ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ।
कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो।
गत वर्षको मङ्सिरदेखि नाका बन्द छ। कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलिन सक्ने भन्दै चीनले नाका आवतजावत बन्द गरेको थियो।
गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए।
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएसँगै नाका बन्द भएको थियो।
‘आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलिनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो। नाकामा १६ महिनादेखि आवतजावत बन्द छ’, वडाध्यक्ष शेर्पाले भने।
वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भर पर्छन्।
वर्षामा बाढी पहिरो लगायतका कारण त्यहाँका स्थानीय सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन्।
गाउँपालिका-७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका ८० प्रतिशत मानिस चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष शेर्पा भोटेले बताए।
उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ। याक, चौँरीका लागि नुनदेखि अन्य अति आवश्यक खाद्य सामग्रीमा ल्याउन पाएको छैन।’
नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताए।
ओलाङचुङ्गोला समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्दछ। यस क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो।
याङ्मा समुन्द्र सतहदेखि चार हजार २०० मिटरमा पर्दछ। विगतमा याङ्मावासी चीनको बजारमा निर्भर थिए।
लामो समयसम्ममा पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए।
उनले भने, विगतदेखि नै याङ्माबासी चीनको बजारमा निर्भर थिए। याङ्मा बस्तीमा नाका बन्द भएदेखि नेपाली बजारमा भर पर्न थालेको छ।’
नाका बन्द भएपछि आर्थिक संकट हुँदै आएको चेम्जोङले बताए। चौरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार चीन हो।
ओलाङ्चुङ्गोला निवासी तेन्जिङ वालुङले चौंरी याक, घीउ, छुर्पी, याक र चौँरीका मासु, जमर (याकको पुछर) चीनको बजारमा व्यापार हुने भए पनि नाका बन्दका कारणले समस्या भइरहेको जानकारी दिए।
एक त दुर्गम पहाडी जिल्ला, त्यसमा पनि अनेक समस्याले भरिएको यो ठाउँमा आयआर्जनका सबै उपाय बन्द भएकाले स्थानीयबासीको जीवन कष्टकर बन्दै गएको आभास भइरहेको छ।
पशु व्यवसायदेखि उत्पादन भएको पशुजन्य वस्तुहरूले बजार नपाएपछि व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताए। ओलाङ्चुङ्गोलामा बुनेका गलैंचाले चीनमा राम्रो बजार लिएको छ।
गलैंचा विक्री गरेरै राम्रो आयआर्जन हुन्छ। तर अहिले यो सम्भावना समाप्त भएको स्थानीय लामा भुजुङ शेर्पाले बताए।
उनले भने, ‘मेरो घरमा ५० वटा गलैँचा थुपारी राखेको छ। फुङलिङ बजारमा लगेर बेच्यो भने कम मूल्यमा बिक्री गर्नुपर्दछ। त्यसैले घरमै राखेको छु।’
घर खर्च टार्न उत्पादन गरेको गलैंचा सदरमुकाम पुर्याएर उत्पादन लागतभन्दा कम मूल्यमा विक्री गर्न बाध्य भएको शेर्पाले बताए।
इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादन भएको चिराइतो नाका बन्द अगाडि नै चीन पठाउन ओलाङ्चुङ्गोलामा पुर्याएर राखिएको थियो। लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारत पठाउनु परेको व्यापारी दावा च्युङदाक शेर्पाले बताए।
चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका कृषक निराश भएको ताप्लेजुङ सिरिङ्घा गाउँपालिका–७ यामफुदिन निवासी मनकुमार राईले बताए।
उनले भने, ‘पहिला-पहिला चिराइतो खोज्दै व्यापारी घर-घरसम्म आउँथे। तर आजभोलि चिराइतोको कुरा गर्ने व्यापारी भेटिँदैन।’
चीनतर्फ चिराइतो निर्यात हुन छोडेसँगै खेती गर्न छोड्दै गएको फक्ताङलु गाउँपालिका-६ निवासी कृषक राजकुमार राईले बताए।
खाद्य सामग्री ढुवानी समस्या
लामो समय टिप्ताला नाका बन्द हुँदा ओलाङ्चुङ्गोला, याङमा, घुन्सा फले साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बसोबास गर्ने समुदायले सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ।
सदरमुकामदेखि ओलाङचुङ्गोलासम्म ५० केजी चामल पुर्याउँदा प्रतिकेजी रु १०० ढुवानी पर्न आउँछ। ५० केजी चामल भएको एक बोराको रु पाँच हजार ढुवानी खर्च लाग्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए।
ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि एक दिनमा रानी पुलसम्म गाडीमा सामान पुर्याउन सकिन्छ। रानी पुलदेखि खच्चड र मान्छेले बोकेर ओलाङचुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सम्मको उचाइका बस्तीहरूसम्म खाद्य सामग्री ढुवानी गर्नु पर्दछ।
सामान खरिद गरेको पैसाभन्दा ढुवानीमा तीन गुणा बढी खर्च लाग्ने भोटेले बताए।
नाका बन्दा नहुँदा चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो। सीमा क्षेत्रदेखि आफ्नै याकलाई सामान बोकाएर घरसम्म पुर्याउने गरेको भोटेले जानकारी दिँदै भने, ‘चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम लाग्ने, तर सदरमुकामदेखि ल्याउँदा सामान खरीद गरेको तीन गुणा बढी खर्च पर्न आउँछ।’
कहिले खुला हुन्छ नाका
सङ्खुवासभाको किमाथाङ्का र टिप्ताला नाका खुल्ला गर्न गृह मन्त्रालयले गत बिहीबार पत्राचार गरेको जिल्ला प्रशासन कार्यालयका उमेश पाण्डेले बताए। उनले भने, ‘सीमा प्रहरीको पास लिएर आवतजावत गर्न सकिन्छ।’
गृह मन्त्रालयको पत्रअनुसार आउजाउ गर्न खुला गरिएको भनी उल्लेख गरिएको छ।
एक पक्षले मात्र नाका खुला गरेर नहुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए।
नाका खुलाउन दुई पक्षको सहमतिमा मात्र सम्भव रहेको प्रवक्ता लामाले बताए। आवश्यक सामग्री माग गरे भने सीमा क्षेत्र टिप्तालासम्म पुर्याइदिने चीनका व्यापारीहरूले बताएको प्रवक्ता लामाले जानकारी दिए। मानिस आउजाउ गर्न भने नपाइने लामाले बताए। रासस