पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम भवन अगाडि मंगलबार मानिसको भीड थियो। भीडभाडमा धेरैको अनुहार मलिन थिए। उनीहरू आपसमा कुराकानी पनि कमै गर्दैथिए। वातावरण नै शोकमा डुबेको थियो।
पोष्टमार्टम भवनमा सोमबार मृत्यु भएका एक जना सैनिक जवानको शव राखिएको थियो।
त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरू। धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम राना मगरको प्याराग्लाइडिङका क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो।
विगत एक महिनादेखि पोखरामा प्याराग्लाइडिङ तालिम लिइरहेका राजारामले सोमबार सोलो (एकल) उडान भरेका थिए।
फेवाताल माथिबाट उडेका राजाराम फेवातालमा गएर डुब्न पुगे। नेपाली सेनाले तालिमकै क्रममा सम्भावित दुर्घटनाबाट उद्धार गर्न तालमै टोली खटाएको थियो। फेवातालमा डुबेका राजारामलाई क्षणभरमै सेनाको टोलीले उद्धार गर्यो, पोखराकै रानीपौवास्थित सैनिक अस्पतालमा उपचारका लागि लगे।
अस्पतालमा पुग्दा राजारामको मृत्यु भइसकेको थिएन। नेपाली सेनाको पश्चिम पृतनाका सूचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार अस्पतालको आकस्मिक कक्षमा उनको उपचार भइरहेको थियो। राजाराम बोल्न सक्ने अवस्थामा थिएनन्। उनको उपचारकै क्रममा मृत्यु भएको सेनानी पौडेलले बताए।
राजारामको कार्यक्षेत्र पोखरामा थिएन। उनी कार्यरत कालीजंग गण अहिले रसुवामा कार्यरत छ।
गत दसैंमा छुट्टीमा घर पुगेका थिए, राजाराम। उनका बुवा कुलबहादुर राना मगरका अनुसार राजारामले त्यतिबेला १५ दिनको छुट्टीमा आएको बताएका थिए।
घर बसेको १०/१२ दिनमै राजारामलाई पल्टनबाट फोन आयो। तालिमका लागि पोखरा जान उनलाई आदेश आयो। उनी दसैं मानेर पोखरा हानिए। त्यसपछि तालिममा सहभागी भए।
नेपाली सेनाले खेलाडी उत्पादन गर्न ‘एडभेञ्चर स्पोर्ट्स्’ तालिम चलाइरहेको छ। राजाराम एक महिनादेखि यही तालिमका क्रममा प्याराग्लाइडिङ सिकिरहेका थिए। सेनाले यो तालिममा २ जना महिलासहित २३ जनालाई सहभागी गराएको छ।
‘राष्ट्रिय खेलाडी उत्पादनका लागि यो तालिम चलाएका थियौं, खेलाडी छनोटका क्रममा दुर्घटना भयो,’ पौडेलले भने।
राजाराम सेनामा भर्ती भएको बल्ल ४ वर्ष पुगेको थियो। धादिङमा कक्षा १२ पास भएपछि उनी सेनामा भर्ती हुन रौतहट पुगेका थिए। त्यहीँबाट राजाराम सेनामा छनोट भएका थिए।
उनका बुवा कुलबहादुर नेपाली सेनाकै हवल्दार भएर अवकाश लिएका थिए भने उनका दाजु ऋषि राना मगर अहिले नेपाली सेनामै छन्।
राजारामको मृत्यु भएपछि उनका बुवा कुलबहादुर, आमा राधाकुमारी र दाजु ऋषि अहिले पोखरा आएका छन्। उनीहरूलाई नेपाली सेनाले नै पोखरा ल्याएका हुन्। राजारामसँगै प्याराग्लाइडिङ तालिम लिइरहेका जवानहरू पनि प्रतिष्ठानको पोष्टमार्टम भवनमा पुगेका थिए।
पोष्टमार्टम भवन अगाडि राजारामका आमा राधाकुमारी बोल्न सक्ने अवस्थामा थिइनन्। सँगै तालिम लिइरहेका साथी गुमाउनुको पीडा सहकर्मी सैनिक जवानहरूको मुहारमा देखिन्थ्यो। दुर्घटनाका बारेमा आफूहरूले केही बताउन नसक्ने राजारामसँगै तालिम लिएका एक जवानले बताए।
राजारामको शव पोखरामै अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
पोष्टमार्टम सकिएपछि परिवारको चाहना अनुसार पोखरामै अन्त्येष्टि गरिने सेनानी पौडेलले बताए।
उनले भने, ‘राजारामको शव हामी सैनिक सम्मानका साथ अन्त्येष्टि गर्छौं।’