बङ्गलादेशको ढाकाबाट उडेको युएस–बंग्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैगर्दा २०७४ फागुन २८ गते दुर्घटना भयो।
त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा शाखामा कार्यरत विक्रमराज गौतम अहिले पोखरा विमानस्थलको प्रमुख भएर आएका छन्।
युएस–बंग्ला विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए।
तीन वर्षअघि त्यो दुर्घटनाको उद्धारमा खटिएका गौतमले बुधबार पोखरा विमानस्थलमा त्यस्तै दृश्य देखे। जुन दृश्यले युएस–बंग्ला जहाज दुर्घटनाको दृश्य ताजा बनायो।
पोखरा विमानस्थल बुधबार दिउँसो ४ बजेपछि बन्द भइसकेको थियो। विमानस्थलको कन्ट्रोल टावरमा काल्पनिक जहाज एयर अन्नपूर्ण कल साइन २०५ (अन्ना २०५) ले आकस्मिक अवतरणको अनुमति माग्यो।
विमान चालकले पोखरा टावरको एटिसीसँग भने, ‘पोखरा टावर अन्ना २०५, दाहिने इञ्जिनमा आगो देखियो। आपतकालीन अवतरणका लागि प्राथमिकता पाउन अनुरोध गर्दछु।’
पोखरा टावरले जहाज चालकलाई सोधे, ‘जहाजमा बाँकी इन्धन कति छ र कति जना यात्रु छन् ?’
चालकले जवाफ दिए, ‘डेढ घण्टालाई पुग्ने इन्धन छ र यात्रु चालक दलका सदस्यसहित २८ जना छन्।’
पोखरा टावरले विमान चालकलाई आपतकालीन सेवा तयारी अवस्थामा रहेको जानकारी गराए।
विमानस्थलको कन्ट्रोल टावरले उद्धार अग्नि निवारण सेवालाई आपतकालीन अवस्थाको जानकारी गराए।
विमानस्थलभित्रै रहेको अग्नि नियन्त्रण टोलीले विमानमा रहेको इन्धन र यात्रुका बारेमा जानकारी लिए। थप सहयोगका लागि अन्य जिल्ला आपतकालीन उद्दार समितिलाई जानकारी दिइयो।
जहाजमा खराबी देखिएकोबारे विमानस्थल सुरक्षाका लागि खटिएको नेपाली सेनाको रेन्जर बटालियन, विमानस्थलमा रहेको अग्नि नियन्त्रण तथा उद्दार टोली, स्वास्थ्य संस्था र अस्पतालहरूलाई आपतकालीन अवस्थाका बारेमा जानकारी दिइयो।
विमानस्थलको आकस्मिक योजना अनुसार ट्याक्सी पार्किङ लगायतका क्षेत्र उद्दारका लागि क्रियाशील बने।
अन्नपूर्ण २०५ ले फेरि विमानस्थलको टावरलाई अर्को सूचना दियो– जहाजको दुबै इञ्जिन फेल भयो। जहाज पोखरा विमानस्थल भन्दा ५ माइल पूर्वमा छ र ५ हजार फिट उचाइमा।
टावरले विमानस्थलको उत्तरपूर्वी मोहडा रनवे २२ बाट अवतरण गर्न अनुमति दियो। टावरले विमानस्थलभित्र आपतकालीन अवस्था आएको भन्दै अरू नियमित उडान ढिलो हुन सक्ने सूचना जारी गर्यो।
टावरले दिएको अनुमति अनुसार अन्नपूर्ण २०५ विमान रनवे २२ बाट अवतरण त गर्यो तर विमान चिप्लिएर रनवेको पूर्वतर्फ पेरीफेरि रोड नजिकै पुगेर दुर्घटना भयो। लगत्तै पोखरा विमानस्थलको टावरले दुर्घटनाको साइरज बजाउँछ, विमानबाट भने धुँवाको मुस्लो उड्यो।
विमानस्थलमा यात्रुको कोलाहल मच्चिन्छ। रुवाबासी चल्छ। विमानको अगाडिको ढोकाबाट ११ जना यात्रु निस्किए। विमानमा ठूलो आगलागी हुन्छ। विमानस्थलको अग्नि नियन्त्रण सेवा आगो निभाउन थाल्छ। दुर्घटनाका घाइते र मृतक राख्न नेपाली सेना र सशस्त्र प्रहरीले व्यवस्था मिलाउँछ।
विमानमा लागेको आगो दुइटा दमकलले निभाउँछ। सेनाको टोली जहाजभित्र गएर दुर्घटनाका घाइते र मृतकको शव लिएर बाहिर निस्कन्छन्।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हुन्छ भने १२ जना यात्रु गम्भीर घाइते हुन्छन्। ११ जना सामान्य घाइते हुन्छन्।
मृतकको शव पोष्टमार्टम गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइन्छ। बाँकी घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १४ जना र फेवासिटी अस्पतालमा ९ जना उपचारका लागि लगिन्छ।
गम्भीर घाइते भएका एक जना बिरामीलाई रनवे ०४ मा उद्दारका लागि राखिएको प्रभु एयरको हेलिकप्टरमार्फत् उद्दार गरिन्छ।
विमान दुर्घटनापश्चात् यात्रुका आफन्त विमानस्थल आएर आफन्तका बारेमा सोधीखोजी गर्छन्। वायु सेवा कम्पनीले यात्रुका बारेमा जानकारी दिन्छ।
दुर्घटनामा परेका सबै यात्रुको उद्दार गरी पुन: संचालन गर्न विमानस्थलले तयारी थाल्छ।
पोखरा विमानस्थलमा बुधबार देखिएको यो दृश्य यथार्थ होइन।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा हवाई जहाज आपतकालीन उद्दार अभ्यासमा देखिएको थियो।
उक्त अभ्यासमा विमान दुर्घटना हुँदा कसरी छिटोभन्दा छिटो उद्दार गर्ने भनेर अभ्यास गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।
प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगमा गरिएको ३ दिने अभ्यासमा पोखरा नागरिक उड्डयन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल तथा स्वास्थ्य संस्था, महानगरीय वारुण यन्त्र, रेडक्रस, प्रशासन, वायुसेवाका प्रतिनिधि र एम्बुलेन्स चालकहरू सहभागी थिए।
विमानस्थलमा अभ्यास गरिएको काल्पनिक दुर्घटनाको यो दृश्य काठमाडौंमा युएस–बंग्ला दुर्घटना हुँदा देखिएको दृश्यसँग ठ्याक्कै मिलेको विमानस्थल प्रमुख गौतमले बताए।
‘साँच्चै दुर्घटनामा पनि यस्तै हुन्छ, तत्काल उद्दारमा खटिन्छौं’, गौतमले भने, ‘मलाई त युएस–बंग्ला दुर्घटनाको दृश्य झलझली याद आयो।’
निरुत्तरबाहेक विकल्प छैन: मुख्यमन्त्री
हवाईजहाज आपतकालीन उद्दार अभ्यास हेर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारसँग निरुत्तरबाहेक विकल्प नभएको बताए।
‘कतै विपद् आइहाले सरकार निरुत्तर हुनुबाहेक अर्को विकल्प छैन’, गुरूङले भने, ‘सरकारसँग विपद्का बेला उद्दार गर्न आवश्यक स्रोत र साधनको कमी छ।’
२०७२ सालको महाभूकम्पले विपद् व्यवस्थापनका लागि तयारी रहन सिकाए पनि स्रोत र साधन जुटाउन नसकेको उनले बताए।
जनशक्ति भए पनि विपद् पूर्वाधारको अभाव भएको भन्दै मुख्यमन्त्री गुरूङले भने, ‘हामीसँग जनशक्ति पर्याप्त छ तर स्रोत साधनको भने कमी छ।’
विपद् व्यवस्थापनका लागि वर्षको एक दिन मात्र अभ्यास गरेर नहुने भन्दै उनले समय–समयमा तालिमको व्यवस्थापन गर्न सुझाव दिए।
अन्नपूर्ण आधार शिविरमा गत वर्ष हिमपहिरोमा परेर विदेशी पर्यटकसहितले ज्यान गुमाएको घटना स्मरण गर्दै मुख्यमन्त्री गुरूङले त्यतिबेला स्रोत साधनको अभाव हुँदा खोजी र उद्दार गर्न नसकेको बताए।