युवा व्यवसायी राजन गौतमले बुवाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आए।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षसमेत रहेका गौतम अहिले पनि बुवाले सुरू गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढेका छन्।
बुवा नारायणप्रसाद गौतमले विसं २०२७ मा सुरू गरेको किराना व्यवसायबाट विस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ। अहिले किरानाबाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ। यी व्यवसायलाई छोरा गौतमले साथ दिँदै आएका छन्।
चितवनका युवा व्यवसायी गौतम भन्छन्, ‘मैले सानै उमेरदेखि बुवालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु।’
उनले बुवाले सुरूआत गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताए।
उनले भने, ‘सुरूआत बुवाले गर्नुभयो, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो।’
बुवाको भन्दा फरक व्यवसाय गर्नुपरेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उनको भनाइ छ।
कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उनीहरूको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरि विक्री वितरण हुने गरेको छ।
विसं २०४३ सालमा नारायणगढ बजारमा खाजा घरका रूपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भइसकेको छ।
विष्णुप्रसाद सापकोटाले सुरू गरेका यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लगेका छन्।
गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लागेका छन्। बुवाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहेका छन्।
उनले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रित भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि विस्तार भएको छ।
शाकाहारी भोजनालय र मिठाइका लागि ख्याति कमाएको वैष्णवले अहिले प्याकिङ मिठाइ उत्पादन सुरू गरेको छ। नमकिन, सोनपापडी, रसवरी, लालमोहनजस्ता मिठाइ उत्पादन गरी देशका प्रमुख सहरसम्म पुर्याइएको छ।
कृष्णले भने, ‘अहिले हामीले मिठाइलाई देशैभरि पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौं।’
बुवाको मिहिनेतसँगै स्थापना भएको वैष्णव ब्राण्डलाई कृष्ण देशव्यापी बनाउन सफल हुनु भएको छ।
बुवाकै कारण आफूलाई व्यवसाय विस्तारमा सहज भएको उनको भनाइ छ।
विसं २०३६ मा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय सुरू गरेको ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आएका छन्।
आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले विसं २०५५ यता नेतृत्व गरेर बुवाको पेशा सम्हालेको बताए।
लामिछाने विद्युत् सप्लायर्सका नामबाट सुरू भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसायमा लगानीसमेत गरेका छन्। आशीर्वाद समूहका पार्ट्स, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उनको लगानी छ।
उनले भने, ‘सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ।’
बुवाले सुरू गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उनको भनाइ छ।
लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरि पुग्ने गरेको छ।
चितवनमा ख्याति कमाएको कर्मा रेष्टुराँको सञ्जाल विस्तार भइरहेको छ। बुवा दुर्गादत्त अधिकारीले नारायणगढमा सुरू गरेको व्यवसाय छोरा अमित र अविनाशले विस्तार गरिरहेका छन्।
अहिले काठमाडौंको चाबहिल र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ। केही दिनभित्रै भरतपुरमा अर्काे शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ।
सौराहामा होटल व्यवसाय गर्दै आएका सुमन घिमिरे बुवा हरिक्तभक्त घिमिरेले सुरू गरेको व्यवसायलाई विस्तार गरेर अगाडि बढेका हुन्।
उनले भने, ‘बुवाले सुरू गर्नुभएका कारण आफूले धेरै मेहनत गर्नुपरेन।’
युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रियरूपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ।
जङ्गल सफारी लजको नाममा सञ्चालित होटल अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ बन्ने गरेको छ।
उनले भने, ‘सेवाग्राहीको चाहनाअनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबुवाजेको पेशा नअँगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अङ्गाल्दै आएको बताए।
कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समयसापेक्ष परिष्कृत गर्दै अँगाल्नेलाई सफलता मिलेको उनको भनाइ छ।
उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल बुवाले गर्दै आएको व्यवसाय छोराहरूले सम्हाल्दै आएको बताउँछन्।
बुवाको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उनले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राखे। रासस