दैलेखको गुराँस गाउँपालिका–८ का रमेश केसी राम्रोसँग हिँड्न सक्दैनन्। पहिले लठ्ठीको सहारा लिनुपर्थ्यो, अहिले ह्विलचेयरमा ओहोरदोहार गर्छन्।
गाउँघरमा अपांगता भएकाहरूलाई दयाको दृष्टिले हेर्ने चलन छँदैछ। उनी भने गाउँलेलाई 'अपांगता हुँदैमा जिन्दगी बिग्रिन्न, गरी खान र चाहेको जिन्दगी बाँच्न सक्षम हुन्छन्' भनेर देखाउने उदाहरण बनेका छन्।
अहिले उनी अपांगता मञ्च, गुराँस गाउँपालिका अध्यक्ष हुन्।
केही दिनअघि सुर्खेतमा आयोजित एक तालिममा उनी त्यही ह्विलचियर र छोराका साथ आएका थिए। हाम्रो विकास अपांगमैत्री भएको भए आफूले छोरालाई लिएर हिँड्नु पर्थेन भन्ने उनलाई लाग्छ।
सजिलै ह्विलचियर उकाल्न सकिने गाडीको डिजाइन, सिट अनि ओर्लिएपछि पनि ह्विलचियर हिँडाउन मिल्ने बाटो भइदिएको भए उनी एक्लै सुर्खेत आउन सक्थे। अपांगता भएकाहरूको सहजताबारे सोचिदिने राज्य र समाज भएको भए उनलाई यताउति गर्न परिवारको सहारा चाहिने थिएन।
परिवारले भने उनलाई कहिल्यै अप्ठ्यारो हुन दिएका छैनन्। आफूलाई कमजोर छु भन्ने ठानेर पनि उनी हुर्किनुपरेन।
'अपांगता भन्ने कुरा शरीरसँग सम्बन्धित हो। सबै कुरामा कमजोर छु भन्ने होइन,' रमेशले भने, 'म ह्विलचेयर प्रयोग गर्छु। तर अरूले गर्न सक्ने अधिकांश काम म पनि गर्न सक्छु।'
उनको जन्मजातै कम्मरमुनिको भागमा समस्या छ। उनी उभिन र हिँड्न सक्दैनन्। परिवारमा कहिल्यै उनले आफूलाई कमजोर महसुस गर्न पाएनन्। स्कुल पढ्ने बेलामा बल्ल आफू 'अशक्त' रहेछु भन्ने उनले महसुस गरे।
'म दिमागको तेज थिएँ। मलाई एक कक्षाबाट सिधै पाँच कक्षामा भर्ना गरिदिएका हुन्,' रमेशले भने, 'कक्षा पाँचमा पढ्दा हल्का शरीर पनि बढ्यो। मैले त्यतिबेला मेरो शारीरिक समस्या रहेछ भन्ने थाहा पाएँ। तर यति धेरै छु भन्ने थाहा थिएन।'
रमेश गाउँको विद्यालयमा पढ्दा लौरी टेकेर आउजाउ गर्थे।
स्कुलसम्म जान २० मिनेट लाग्ने बाटो हिँड्न उनलाई एक घन्टा लाग्थ्यो। एसएलसी पास भएपछि उनी प्लस-टु पढ्न सुर्खेत आए। त्यसबेला उनलाई बुवाले आउन–जान सहयोग गरेका थिए। रमेशले प्रविणता प्रमाणपत्र तह पास गरेर दैलेख, आफ्नो गाउँकै स्कुलमा पढाउन थाले। निजी स्रोतबाट सुविधा लिन पाउने शर्तमा पढाउन थालेका उनलाई ह्विलचेयर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो।
'पढाउन थालेदेखि शरीर मोटाउँदै गयो। मोटाएपछि मलाई कक्षा कोठामा आउन-जान समस्या भयो,' उनले भने, 'यसका लागि पनि मैले ह्विलचेयर प्रयोग गर्नुपर्ने भयो। त्यसयता म यसमै चढेर ओहोरदोहोर गर्छु।'
उनले २०६३ सालमा अपांग महासंघ, सुर्खेतको सहकार्यमा ह्विलचेयर पाएका हुन्।
उनले थाहा पाउँदैदेखि अपांगता भएकाले होला, रमेशलाई त्यस्तो समस्या भएजस्तो लाग्दै लागेन। सानातिना अप्ठ्यारा उनले सजिलै पचाए। त्यसैले पनि उनी आफूलाई अरूभन्दा कम ठान्दैनन्। तर रमेशले अपांगता भएकै कारण हेपिएको महसुस भने गरेका छन्, स्कुलमा शिक्षक पदका लागि आएको अपांग कोटा फिर्ता हुँदा।
उनले पढाइरहेको स्कुलमा २०६५ सालमा अपांगता भएकालाई समावेश गर्न दुइटा दरबन्दी आएका थिए। जिल्ला शिक्षा कार्यालयले पठाएको दरबन्दी व्यवस्थापन समिति र प्रधानाध्यापकले परिवर्तन गरिदिए।
'व्यवस्थापन समिति र प्रधानाध्यापकले त्यो दरबन्दी फिर्ता गराएर खुला दरबन्दी लिए,' उनले भने, 'त्यो दरबन्दी भएको भए मैले जागिर पाउने लगभग पक्का थियो। उहाँहरूलाई म र मजस्ता शरीरका केही अंगले काम नगर्ने मानिसले केही गर्न सक्दैनन् भन्ने लाग्यो होला।'
प्रधानाध्यापक र समितिको नेतृत्वमा रहेको सोचले आफू अवसरबाट बञ्चित हुनुपरेको त्यो क्षण उनी कहिल्यै बिर्सिने छैनन्। त्यो बेलासम्म मनभरी आशा र उत्साह भएका रमेश निराश हुन थाले।
'म कुनै कामका लागि योग्य छुइनँ भन्ने महसुस भयो। पहिलो पटक मैले आफूलाई कमजोर महसुस गरेको थिएँ,' निजी स्रोतमा पढाइरहेका उनले भने, 'पछि मलाई फकाउन अर्को दरबन्दी ल्याइयो।'
दरबन्दी आएपछि उनले परीक्षा दिन खोजेका थिए।
'मलाई तिम्रो लागि अर्को दरबन्दी ल्याएका छौं, त्यसैमा राखौंला भनियो,' उनले भने, 'त्यो राहत दरबन्दी हो भनेका थिए, तर पिसिएफ (प्रतिविद्यार्थी फन्ड) दरबन्दी रहेछ। पछि थाहा भयो।'
रमेशले त्यही दरबन्दीमा रहेर पनि पढाए। २०६९ सालमा त्यो पनि दरबन्दी काटियो। त्यसयता फेरि निजी स्रोतबाट पढाइरहेका उनले २०७७ साल सुरूदेखि छाडे।
'सधैंजसो तलब माग्नुपर्ने, चाडपर्व बेला पनि राम्रोसँग खर्च नदिने,' उनले भने, 'यसरी भिखारीजस्तो भएर जागिर खानुभन्दा छोड्छु भनेर लकडाउनदेखि छाडिदिएँ नै।'
उनले अपांगता भएकै कारण भोग्नुपरेको अर्को पनि नमिठो क्षण छ।
२०६३ सालमा उनी निमाविस्तरको लाइसेन्स (अध्यापन अनुमति पत्र) को परीक्षा दिन नेपालगञ्ज जानुपर्ने भयो। बुवाको सहारामा उनी सुर्खेतसम्म आए। सुर्खेतबाट बस चढ्ने बेला उनले बसपार्कका कर्मचारीबाट हेपिनुपर्यो।
'बसमा मलाई दिइएको सिट मेरा लागि साह्रै गाह्रो थियो,' रमेशले सुनाए, 'मैले बस काउन्टरमा त्यो सिट मलाई गाह्रो हुन्छ, अर्को मिलाइदिनु न भनेर अनुरोध गरेँ। काउन्टरमा बसेका मानिसले त्यसो भए तपाईं नजानू न त भनेर झर्किए।'
अपांगता भएकालाई सार्वजनिक सवारीमा अवरोध हुनेरहेछ भन्ने आफूले त्यसबेला थाहा पाएको रमेश बताउँछन्। उनलाई यो मौलिक हक, अधिकार हो भन्नेबारे पनि खास जानकारी थिएन। हुन्थ्यो भने आफूले प्रहरीमा उजुरी दिने थिएँ भन्छन् उनी।
अहिले रमेश त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। आफू परिपक्व भएको र अगाडि बढेको महसुस पनि भएको छ, 'जीवनमा धेरै अवरोध भोगिसकेँ। अब त कतै बाधा आयो भने हटाउनका लागि सहजै अरूलाई बुझाउन सक्छु।'
रमेशलाई परिवारले साथ दिएकाले आफू यति बलियो बन्न सकेको हुँ भन्ने लाग्छ।
'पारिवारिक रूपमा त म जति सम्पन्न कोही छैन होला,' उनी भन्छन्, 'पहिले बुवाले मेरो शारीरिक अवस्था अप्ठ्यारो हुँदा पनि सहज बनाइदिनुभयो। अहिले श्रीमती र छोराछोरीले त्यत्तिकै सहयोग गरेका छन्।'
उनको २०५९ मा नजिकैको गाउँबाट मागी विवाह भएको हो। दुई छोरी र एक छोरा पढिरहेका छन्।
शिक्षण पेसा छाडेपछि उनले गाउँमै पसल गर्न थालेका छन्। दैनिक उपभोग्य सामग्री बिक्रीसँगै उनले गाउँमै उत्पादित तरकारी बजारसम्म पुर्याउने मन्डी खोलेका छन्। उनी पसलमा बस्छन्। परिवारले अरू आवश्यक सहयोग गर्छन्।
उनको आम्दानीको मुख्य स्रोत पनि यही हो।
'पसलबाट राम्रै कमाइ भइरहेको छ,' रमेशले भने, 'सँगै तरकारी खेती पनि गरेका छौं। त्यसमा परिवारले काम गर्छन्। आफू र यहीँ नजिकका गाउँलेले उत्पादन गरेको तरकारी मेरो मन्डीमार्फत बजारसम्म पुग्छ।'
यसरी रमेश अहिले यो क्षेत्रमै प्रेरणा बनेका छन्।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली पनि यसमा सहमत छन्। 'अपांगता भएका व्यक्ति सक्षम हुन्छन् है' भन्ने उदाहरण दिनुपर्दा मान्छेले रमेशकै नाम लिने उनी बताउँछन्।
'पहिले पढाउनुहुन्थ्यो। धेरै पढ्नुभएको छ। पसल गरेर आफ्नो जीविकोपार्जन गर्नुहुन्छ। छोराछोरी पढाउनु भएको छ। ह्विलचेयरको सहारामा बसेको व्यक्ति यत्ति आत्मनिर्भर र बलियो हुँदा उहाँजस्तै र अरूलाई पनि प्रेरणा मिल्छ,' अध्यक्ष वलीले भने, 'उहाँ उदाहरणीय व्यक्ति हो।'
गाउँपालिकाले पनि अपांगता भएका व्यक्तिका लागि सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको पनि अध्यक्ष वलीले बताए।