दुई दशक पहिले जनकपुरधाममा पुरुषहरूले साइकल चलाउँथे। साइकल चलाएकै कारण उनीहरूलाई समाजले हुने-खाने परिवारका व्यक्ति मान्थे।
तर त्यही परिवेशमा महिलाले साइकल चलाउँदा नकारात्मक रूपमा हेरिन्थ्यो।
आभा भारती गिरीलाई उबेला जनकपुरधाममा साइकल चलाउँदा त्यस्तै भयो। कतिपय ठाउँमा नकारात्मक टिप्पणीको सामना गर्नुपर्यो।
आभा जनकपुरधाममै साइकल चलाउने तेस्रो महिला मानिन्छिन्। उनले यहाँ साइकल चलाउन थाल्नुअघि दुई जना महिलाले मात्रै साइकल चलाएका थिए। आभाका अनुसार उनीहरूमध्ये एक शान्ता ज्ञवाली हुन् जो पेसाले शिक्षक थिइन्।
आभाको माइती भारत हो। आभाका बुवाले उनलाई बच्चैदेखि साइकल चलाउन प्रोत्साहन गर्थे। कुन बेला कस्तो परिस्थिति आइपर्छ, आत्मनिर्भर हुनुपर्छ भनेर उनका बुवाले छोरीलाई साइकल सिकाएका थिए।
'बुवाले स्कुटर समेत चलाउन उक्साउनुभयो। त्यसैले म पहिल्यैदेखि साइकल र स्कुटर चलाउन पोख्त भएँ,' ६० वर्षीया आभाले भनिन्।
उनको विवाह जनकपुरधामका रामप्रसाद गिरीसँग भयो। बिहेपछि जनकपुरधाम आएकी उनले स्कुटर त परै जाओस्, साइकल समेत चलाउन पाइनन्।
आभाले बिहेअगावै स्नातकसम्म पढेकी थिइन्। बिहे जहाँ, जोसँग भए पनि सरकारी जागिर खाने सपना उनको सानैदेखिको थियो। बिहेपछि नेपाली नागरिकता पाएको केही वर्ष मात्रै बितेको थियो, शिक्षक सेवा आयोगले शिक्षक दरबन्दीका लागि विज्ञापन निकाल्यो। आभाले आवेदन दिइन्।
'मलाई सरकारी जागिरे बन्ने इच्छा थियो,' आभाले भनिन्, 'त्यसैले मैले प्राथमिक तहको शिक्षक दरबन्दीका लागि आवेदन भरेँ। परीक्षा भयो र मेरो नाम निस्कियो।'
पहिलोचोटिमै आयोगको परीक्षामा उत्तिर्ण भएपछि त्यो दिन आभालाई आफूले विश्व नै जितेको जस्तो भयो। शिक्षक बनेकी आभाको पहिलो पोष्टिङ जनकपुरधामबाट १५ किलोमिटर दुरीमा रहेको नौवाखोर प्रसाहीको विद्यालयमा भयो।
'सरकारी जागिर पाएकामा खुसी थिएँ, तर दैनिक १५ किलोमिटर टाढा स्कुल पढाउन कसरी पुग्ने भनेर चिन्ता थपियो। त्यो मेरा लागि ठूलो चुनौती थियो,' आभाले भनिन्।
त्यति बेला नौवाखोर प्रसाही जाने बाटो त्यति राम्रो थिएन। सवारी साधन चल्थेनन्। जे-जस्ता अप्ठ्यारा भए पनि आभाले सबै चुनौती जसरी पनि पार गर्छु भन्ने सोच बनाइसकेकी थिइन्।
केही दिन त उनी श्रीमान रामप्रसाद गिरीको मोटरसाइकलबाट घर-विद्यालय ओहोरदोहोर गरिन्। तर श्रीमान राजनीतिमा व्यस्त भएकाले सधैं स्कुल पुर्याइदिन सम्भव भएन।
'राजनीतिमा लाग्ने मान्छेलाई बिहान, बेलुका भनेर समय तोकिएको हुँदैन,' उनले भनिन्, 'उहाँको दैनिकी लगभग त्यस्तै थियो। त्यसैले पछि पैदल तीन घन्टा हिँडेर विद्यालय पढाउन पुग्थेँ।'
घरमा खाना बनाउनेदेखि लिएर सफाइसम्मको काम सकेर बिहान ७ बजे नै उनी निस्किन्थिन्। झन् गर्मीयाममा बिहानको कक्षा हुँदा अझै समस्या हुन्थ्यो। उनका अनुसार ती दिनमा उनी बिहान २ बजे नै उठ्थिन्।
चाँडै निस्किनुपर्ने भएकाले आभाले सधैं घरका अरू सदस्यभन्दा पहिल्यै खाना खानुपर्थ्यो। मिथिलामा श्रीमानले खाना खाएपछि मात्रै श्रीमतीले खानुपर्ने चलन थियो। यो अवस्था अहिले पनि कायमै छ। तर त्यो बेला यो चलन झनै कडा थियो।
एकदिन आभाकी सासूले आफ्ना छोरालेभन्दा अगावै बुहारीले खाना खाएको देखिन्।
'मलाई समयमै स्कुल पुग्नुपर्ने हतार हुन्थ्यो,' उनले सम्झिइन्, 'श्रीमानभन्दा अगाडि खाएको देखेर सासूआमाले धेरै गाली गर्नुभयो।'
उक्त गालीले आभाको मुटु नै छेडियो। त्यसपछि उनी कयौं दिन भोकै विद्यालय पढाउन गइन्। पछि श्रीमानले थाहा पाए र आफ्नी आमालाई सम्झाए। अनि मात्रै आभा फेरि खाना खाएर स्कुल जान थालिन्।
खानाको समस्या सल्टे पनि तीन घन्टा हिँडेर जानुपर्दा निकै समय खर्चिन्थ्यो। आभालाई यो चित्त बुझिरहेको थिएन। उनले श्रीमान र घरका अन्य सदस्यसमक्ष साइकल किन्ने प्रस्ताव गरिन्।
तर त्यो बेला साइकल चलाउन दुइटा चुनौती थिए।
एक त भनेजस्तो साइकल किन्न सहज थिएन।
अर्को, साइकल पुरुषका लागि मात्र हो भन्ने सोच गहिरो थियो।
आभाका श्रीमान रामप्रसादलाई साइकल किन्नु राम्रो उपाय लाग्यो। तर त्यस्तो सामाजिक अवस्थामा उनलाई पनि कम चुनौती भएन।
'तिम्री श्रीमती अब साइकल चढेर बाहिर बाहिर घुम्छिन्, घरबार बिग्रिन्छ भन्दै साथीहरू मलाई हतोत्साही गर्थे,' रामप्रसादले सेतोपाटीसँग भने, 'तर उनी (आभा) र बीचको विश्वास र साथीजस्तो सम्बन्धका कारण ती कुराले हामीलाई असर गरेन।'
साइकल किन्ने निधो भएपछि लेडिज साइकल खोज्दैखोज्दै आभा जनकपुरधाम, भानुचोकको 'विनोद साइकल' पसल पुगिन्। त्यहाँ पनि उनले लेडिज साइकल पाइनन्।
'यसै त साइकल जहीँतहीँ नपाइने, झन् लेडिज साइकल त अर्डर नै गर्नुपर्यो,' आभाले त्यो बेलाको बजार चित्रण गरिन्। अर्डर गरेको दुई महिनापछि बल्ल उनले लेडिज साइकल पाइन्, एक हजार चार सय रूपैयाँमा।
आभाका अनुसार त्यति बेला प्रावि शिक्षकको तलब करिब एक हजार चार सय पचास रूपैयाँ थियो। उनले साइकल किन्न आफ्नो एक महिनाको तलब खर्चेकी थिइन्। धेरै पैसा खर्चिए पनि स्कुल पुग्न बच्ने समय सम्झेर उनलाई धेरै राहत भएको थियो। तर दुःखको कुरा, साइकल किनेको दुई दिन नबित्दै घरबाटै चोरी भयो।
फेरि नयाँ साइकल किन्न उनले थप केही महिना कुर्नुपर्यो।
आभाले साइकल किनेर कर तिरेको समय याद गर्दै भनिन्, 'त्यतिबेला नगरपालिकाले साइकलमा नम्बरको स्टिकर टाँस्थ्यो। सोही नम्बरका आधारमा नगरपालिकालाई कर बुझाउनु पर्थ्यो।'
उनले साइकल चढेबापत वार्षिक पाँच रूपैयाँ कर बुझाउँथिन्।
सरर पेडल मार्दै साइकल पुग्दा उनको मन हरर हुन्थ्यो। तर यो खुसी र सजिलोमा बाधा हाल्नेको कमी थिएन। साइकल चलाएर जाँदा बाटामै गाउँका महिलाले उनलाई रोक्थे।
'महिला भएर साइकल चलाउने भन्थे। तिमी साइकल चढेको देखेर हाम्रा छोरी-बुहारी बिग्रिन्छन् भन्दै गाली गर्थे,' आभाले सम्झिइन्।
तर समाजमा सबै संकुचित सोचका हुँदैनन्। उनलाई महिला भएर साइकल चलाएकामा सरहाना गर्नेहरू धेरै थिए। वर्षायाममा कहीँ कतै उनको साइकल फस्दा गाउँघरका पुरुषले हिलोबाट साइकल तान्न सघाउँथे पनि।
आभा साइकल चलाएकैले समाजमा उदाहरण बनेकी थिइन्। उनको परिचयमा आभा र शिक्षकभन्दा बढी 'साइकल चलाउने महिला' जोडिन्थ्यो।
उनी त्योबेलाका अवस्था सम्झिन्छिन्- बैंकमा पैसा लिन वा बजार जाँदा सबैले उनलाई 'म तपाईंलाई चिन्छु नि' भन्थे।
त्यसपछि आभा पनि खुसी हुँदै जवाफ दिन्थिन्, 'तपाईंले मलाई साइकल चलाएको देख्नुभएको होला।'
'त्यो बेला मैले साइकलबाटै पहिचान बनाएकी थिएँ,' उनले भनिन्, 'यति मात्र होइन, मेरो जागिर बचाउन समेत साइकलकै प्रमुख योगदान छ।'
आफ्नो २७ वर्षे कार्यकालमा आभाले साइकलबाहेक कुनै सवारी साधन प्रयोग गरिनन्। यस अवधिमा उनको सरूवा धनुषाकै विभिन्न ठाउँमा भए पनि सधैं साइकलका पेडल मारेरै पुगिन्।