दुई वर्षअघि राजन शाक्य पाटन डुल्दै थिए। ठमेलस्थित काठमाडौं गेष्ट हाउसका सञ्चालक उनले त्यहाँ घुमिरहँदा थाहा पाएछन्– एक नेपाली कलाकारको चित्र चिनियाँले तीन करोड रूपैयाँमा किन्दैछन्।
त्यो खबर पाउनेबित्तिकै राजनलाई त्यस्तो महत्वपूर्ण चित्र त हेर्नैपर्छ भन्ने हुटहुटी भयो। उनले कसोकसो गरेर उक्त कलाकारको नम्बर पत्ता लगाए, कुराकानी गरे। तर कलाकारले उनको प्रस्ताव अस्वीकार गर्दै भनेछन्, 'ती चिनियाँसँग सम्झौता नभएसम्म चित्र देखाउन मिल्दैन।'
जवाफले राजनको मन कुँडियो। दिमागमा अनेकथरी कुरा खेले। अनि सोच्न थाले, 'चीनसम्म पुगेपछि त त्यो कला हामीले गुमाउने भयौं।'
त्यसपछि उनले अठोट लिए, संग्रहालय बनाउने। काठमाडौं गेष्टहाउसस्थित मोना (म्युजियम अफ नेपाली आर्टस्) त्यसरी जन्मिएको हो।
करिब डेढ वर्षअघि खुलेको यो संग्रहालयमा नाम चलेका नेपाली कलाकारका राम्रा कला देख्न पाइन्छ। चित्रदेखि धातुका मिहीन काम एक सय दस वटा छन्।
'सुरूआतमा यो ठाउँ पार्किङका लागि छुट्याइएको थियो,' भुइँतले कोठा देखाउँदै राजनले भने, 'मैले नै बुवा, दाइहरूलाई मनाएर म्युजियम खोल्ने प्रस्ताव राखेँ। संसारमा सात वटा मात्र त्यस्ता होटल थिए जसभित्र म्युजियम पनि छन्। हामी आठौं हौं।'
सिसाको मूलढोका छिचोलेर संग्रहालय प्रवेश गर्न सकिन्छ। भर्याङबाट तल झरेपछि विभिन्न कलाकृतिसँग आगन्तुकको साक्षात्कार हुन्छ। भर्याङमुनि सुरूमै गणेशका सानादेखि ठूला चित्रहरूले स्वागत गर्छन्। जसरी कुनै कामको सुरूआत गणेशबाट गरिन्छ, त्यही कुरा यहाँ मिलाइएको देख्न सकिन्छ।
'हामीले म्युजियममा कलाकृतिलाई कसरी राख्ने भन्ने कुरा निकै ध्यान दिएका छौं,' राजन भन्दै जान्छन्, 'पहिले गणेश, त्यसपछि काठमाडौं उपत्यकाका चित्रहरू, पौभाः, कतै एउटै कलाकारका कला, कतै उस्तै शैली वा स्वरूपका कलाहरू सजाएका छौं।'
यहाँ संग्रहालय बनाउने भनेपछि कलाकारहरूले आफूले सक्दो राम्रा चित्र मोनाकै लागि बनाएका छन्। हामी पुग्दा केही कलाकृतिका कलाकार स्वयं उपस्थित थिए।
सेरामिक विधाका प्रख्यात कलाकार गोपाल कलाप्रेमी पछिल्लो समय चेस र त्यसका 'प्याटर्न'मा कलात्मक आकृतिहरू बनाइरहेका छन्। उनको 'एक रंगहीन रंगमञ्चको भाव' श्रृंखलाका बीसमध्ये तीन चित्र मोनामा सुरक्षित छन्।
आफूले उक्त कला लकडाउनका बेला बनाएको बताउँदै कलाप्रेमीले भने, 'रंगमञ्च भनेको जीवन हो, तर कोरोनाको समय रंगहीन थियो। त्यही भएर यो चित्रमा मैले कालो र सेतो रंग मात्र प्रयोग गरेको छु। कालोले उध्यारो र सेतोले उज्यालोको प्रतिनिधित्व गर्छ।'
उनले चित्रको रंगका लागि इन्डिगो भन्ने विरूवाको झोल प्रयोग गरेका छन्। त्यसको फ्रेमका रूपमा पत्रपत्रिका। लकडाउनका समयमा भएका विभिन्न घटना ती पत्रिकामा छन् र तिनै घटना चित्रमा उतारेकाले यो फ्रेम राखेको उनी बताउँछन्।
उनको कला सिसाभित्र सजाइएको छ। त्यसलाई भित्तामा सजाइए अझै अर्थपूर्ण हुने बताउँदै उनी अरू कलाकारका चित्रहरू हेर्न थाले। हामी पनि संग्रहालयका कलाकृति नियालिरहेका थियौं। त्यहीबेला अर्की कलाकार एरिना ताम्राकार र आशा डंगोल भेटिए। यी दुई कलाकार दम्पती पनि हुन्।
एरिना लामो समयदेखि 'तेस्रो नेत्र' चित्र श्रृंखलामा काम गरिरहेकी छन्। आशाका चित्रमा संस्कृति र आधुनिकीरणका विषय अटाएका हुन्छन्।
भर्याङमुनिको एक भागमा सजिएका यी दुई कलाकारका चित्रहरू सानो कोठामा छुट्टै रमाएका जस्तै देखिन्छन्। आफूले यही संग्रहालयका लागि विशेष मिहिनेत गरेर कलाहरू बनाएको बताउँदै एरिनाले भनिन्, 'राजन दाइले आफ्नै शैलीका काम स्वतन्त्र भएर बनाउन सक्नुहुन्छ भन्नुभएको थियो। त्यही हिसाबले हामीले काम गर्यौं। उहाँले हामी कलाकारलाई ठूलो महत्व दिनुभएकाले आभारी छौं।'
उनले तेस्रो नेत्रकै महिला श्रृंखला त बनाएकी छन् नै, तामामा पनि तेस्रो नेत्रको काम गरेकी छन्। ताम्राकार अर्थात् तामाको काम गर्ने पुर्ख्यौली पेसाको प्रतिनिधित्व गर्न उक्त धातुकला बनाएको उनले जानकारी दिइन्।
आशाले भने आफ्नो चित्रलाई 'युनियन अफ डिस्ट्रक्सन' नाम दिएका छन्। यसमा परम्परात र आधुनिक शैलीको मिश्रण छ। उनले 'भिन्टेज' गाडीलाई वहानका रूपमा प्रयोग गरेका छन्, जनावरलाई जीवित प्राणी र मास्कलाई प्रदूषणको प्रतीक। दुई महिनाको मिहिनेतबाट तयार भएको उक्त चित्रमा उनले बनाउने स्वरूप सबै अटाएका छन्।
अर्का प्रख्यात पौभाः चित्रकार समुद्रमान श्रेष्ठका चार चित्र पनि छन् संग्रहालयमा। ती चित्र भगवान बुद्ध, ग्रीन तारा, पद्मसम्भव गुरु र तिब्बती भगवानका हुन्। बज्रपाणी र तारा चित्रका श्रृंखला बनाउने भनेर प्रख्यात उनले हालै बनाएको नयाँ चित्र 'सप्तलोचनी तारा र आर्य तारा' पनि मोनामा अनावरण भएको छ।
यर्थाथवादी काम गर्न रूचाउँछु भन्ने समुद्रमान बढीजसो तेल रंगमा चित्रहरू बनाउँछन्। पुरानो पुस्ताले जे-जसरी काम गर्यो, त्यही शैली अपनाउनुपर्छ भन्ने मान्यतामा उनी हिँड्दैनन्। त्यसैले पुराना शैलीमा केही परिमार्जन गरेर बनाइएका उनका चित्र मन पराउने प्रशंसक संसारभर छन्।
मोनामा नै उनले कसरी आफ्ना चित्र बनाउँछन् भनेर देखाउने 'की-स्केच' पनि राखिएको छ। 'टिचिङ अफ बुद्ध' शीर्षकको उक्त चित्रमा बुद्धले भंयकर रूप धारण गरेका बज्रपाणीलाई शिक्षा दिइरहेको देखाउन खोजिएको छ।
'यी चित्र मैले दुई वर्षमा बनाएर सकेको हुँ,' समुद्रमानले भने, 'धेरैजसो म्युजियममा मरिसकेका कलाकारको कला हुन्छ। यहाँ राजनजीले अहिलेका जीवित कलाकारको कला राख्न लाग्नुभएको भन्ने कुराले मलाई साँच्चै छोयो। अनि अरूको भन्दा उहाँको कामलाई प्राथमिकता दिएर गरेँ।'
उनले थप भने, 'हामीसँग हाम्रो कला हेर्छु भन्दा देखाउन कुनै ठाउँ नै छैन। मेरो स्टुडिओमा आधा अधुरो मात्र चित्र हुन्छ। अरू ठूल्ठूला रेस्टुरेन्ट र मान्छेका घरमा। अहिले मोना हाम्रो कला देखाउने ठाउँ पनि भएको छ।'
यहाँ अन्य प्रख्यात कलाकार प्रेममान चित्रकार, शशि शाह, किरण मानन्धर, मनोजबाबु मिश्र लगायतका कामहरू पनि राखिएको छ। अहिले जुन कलाहरू छन्, हरेक चार महिना अन्तरालमा सबै परिवर्तन गरेर नयाँ ठाउँमा आएको जस्तो अनुभव गराइने राजन दाबी गर्छन्।
'कुनै ठाउँमा त भित्ताको रंग पनि परिवर्तन हुन्छ,' उनले भने, 'फिल्म हलमा हरेक पटक आउँदा नयाँ फिल्म हेरेजस्तो अनुभव मान्छेले गरून् भन्ने हो।'
उनले यस्तो दाबी यत्तिकै गरेका होइनन्। यहाँको स्वरूप फेर्न पाँच–छ सय कलाकृति किनेर स्टकमा राखेका छन्। अनि समयसमयमा नयाँ कला मोनामा अनावरण पनि गरिरहेका हुन्छन्। ती कला सुरक्षित राख्न वातावरण नियन्त्रक राखेका छन् अनि कर्मचारीले बेलाबेला रेखदेख पनि गर्छन्।
मोनाका यी सबै कलाकृति हेर्न पाँच सय रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। तर हरेक नेपालीले संग्रहालयमा आफ्नो देशको कला–संस्कृति देखेर गर्व गर्ने अवसर पाऊन् भन्ने हिसाबमा अंग्रेजी महिनाको १ र १५ तारिकमा निःशुल्क गरिने योजना छ। त्यसका लागि भने सुरूमै बुकिङ गरेर आउनुपर्छ।
राजन ठान्छन्– एउटा कला एउटा कथा हो। यस्तो कलामा विद्यावारिधि नै पनि गर्न मिल्छ। तिनलाई संरक्षण गर्नु भनेको पनि कला–संस्कृति जोगाउनु सरह हो।
'यहाँ आउने मान्छेले कलालाई एउटा कथा अनि शिक्षाका रूपमा ग्रहण गर्न सके र तिनको महत्व बुझे भने पनि हाम्रो उद्देश्य पूरा हुन्छ,' उनले भने, 'एउटा निजी म्युजियम राम्रो बनाएर देखाउन सकेँ भने पनि सरकारी म्युजियम राम्रो बनाउने जिम्मेवारी सरकारी निकायलाई थपिएला कि?'