जलवायुको असर र यससँग जुध्नका लागि नीतिहरु निर्माण गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार काठमाडौंमा ग्लोबल क्लाइमेट मार्च आयोजना गरिएको छ ।
वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषण आदिले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरूसमेत निम्त्याउने गरेको कारण यो कार्यक्रम गरिएको हो। अझ पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान नसकिरहेको अवस्थामा वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले मानव अस्तित्व नै संकटमा परिरहेको भन्दै स्वतन्त्र युवाहरूको समूहले नयाँ वानेश्वरदेखि बबरमहलसम्म मार्चपास गरेका हुन्।
कार्यक्रमका सहभागीहरुले बढ्दो जलवायु परिवर्तन विकासशील र औद्योगिक राष्ट्रहरुबाट भएको प्रदूषणबाट उत्पन्न भएको र यसको मार नेपाललगायत विश्वका अर्धविकसित देशहरुले भोग्नु परेको भन्दै नीति नियम तथा योजना तर्जुमा गर्दा विकासोन्मुख देशहरुलाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिएका छन् ।
सहभागीहरुले हातमा वातारण संरक्षणका भावहरु झल्कने विभिन्न सचेतनामुलक नारा तथा तस्बिर भएका प्लेकार्डहरु बोकेका थिए।