गोरखाको आरूघाटकी पूर्णिमा श्रेष्ठ पेशाले फोटो पत्रकार हुन्। तर अचेल उनी फोटो पत्रकार भन्दा आरोहीका रूपमा चिनिन्छिन्।
अहिले उनी अन्नपूर्ण प्रथमको आरोहणका लागि पोखराबाट प्रस्थान गरिसकेकी छन्। उनीसँगै यो हिमाल चढ्ने अरू विदेशी महिला छन्।
यी महिलामध्ये पहिला बाजी मार्नेले अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड राख्ने छन्। किनकी अहिलेसम्म अन्नपूर्ण प्रथमको चुचुरोमा कोही नेपाली महिलाले पाइला टेक्न सकेका छैनन्।
अन्नपूर्ण प्रथम हिमाल आरोहण पूर्णिमाका लागि त्यसैले पनि विशेष हो।
हिमाल चढ्न हिँड्नु अघि पोखरामा उनले भनिन्,'यो हिमाल सबभन्दा गाह्रो छ रे भनेपछि यही चढ्ने आँट गरेको छु। अन्नपूर्ण प्रथम चढ्ने पहिलो महिला हुनु छ।'
काठमाडौंको सेभेन समिट ट्रेक कम्पनीबाट पूर्णिमा सहित १६ जना आरोही अहिले अन्नपूर्णतिर लागेका छन्। उनको टोलीमा ६ विदेशी महिला र १० पुरूष छन्। पूर्णिमाको गाइड पेम्बा शेर्पा हुन्।
गोरखामा जन्मिएकी पूर्णिमा आफ्नो घरको आँगनबाट गणेश हिमाल हेर्दै हुर्किइन्। त्यसैले हिमाल हेरेर उनलाई अचम्म र रमाइलो लाग्दैनथ्यो।
तर पहिलो पटक सगरमाथाको आँगनमा पुग्दा उनी छक्कै परिन्।
'त्यसपछि मलाई हिमालले बोलायो,' शुक्रबार उनले पोखरामा आफ्नो आरोहणको कहानी सुनाउँदै भनिन्।
सगरमाथा आधार शिविरमा ‘एभरेष्ट म्याराथन’मा फोटो खिच्न पुगेकी पूर्णिमा त्यसपछि आरोहणको यात्रामा निस्किएकी हुन्।
‘किन मैले हिमाल चिन्न यति ढिलो गरेको हुँला, हिमाल चढ्न मलाई ढिलो भइसक्यो भन्ने लाग्यो, त्यसपछि काठमाडौं फर्केर हिमाल चढ्ने योजना बनाएँ,’ उनले भनिन्।
काठमाडौं फर्केर उनी सगरमाथा चढ्न जाने योजना बनाउन चाहन्थिन्। तर उनलाई पहिला ६ हजार मिटरको हिमाल चढ्न सुझाइयो।
गोरखामै अवस्थित ८ हजार मिटर भन्दा अग्लो मनास्लु हिमाल आरोहणको तयारी थालिन्।
‘मनास्लु चढ्छु भन्दा मलाई साथीहरुले ५ कक्षा पढेर एकैचोटी एसएलसी दिन खोजेको भन्थे,' उनले भनिन्, ‘मर्छु जस्तो लागेको थियो, आफैंलाई आश्चर्य लाग्ने सफलता मिल्यो।’
मनास्लुको चुचुराबाट हेर्दा तलतिर देखिने हरिया पहाडको दृश्य अझै मनमा आइराख्ने उनी बताउँछिन्। सन् २०१७ मा मनास्लु चढेकी पुर्णिमाले सन् २०१८ मा सगरमाथा आरोहण गरिन्।
त्यसपछि सन् २०१९ मा अप्ठ्यारो र सुन्दर हिमाल भनिने आमादम्बलम चढिन् र सन् २०२० मा अन्नपूर्ण प्रथम चढ्ने योजना बनाइन्।
उनको यो योजनामा कोरोना भाइरस लाग्यो। उनी गत बर्ष हिमाल चढ्न पाइनन्।
त्यसैले अहिले चढ्न हिँडेकी हुन्।
यो हिमाल पहिलोपटक ७१ वर्ष अघि फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेका थिए। उनले यही हिमाल चढेर ८ हजार मिटर भन्दा अग्लो हिमाल चढ्ने पहिलो मानिसको इतिहास रचे। त्यसको तीन वर्षपछि बल्ल सगरमाथामा तेन्जिङ नोर्गे र एडमन हिलारी चढेका हुन्।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम उनी म्याग्दीतिरको बाटोबाट चढेका थिए। उनको आरोहण सन् १९५० जुन ३ मा सफल भयो। आरोहण पश्चात फर्किएर उनले ‘अन्नपूर्ण’ नामक किताब लेखेका थिए।
त्यही पुस्तकले त्यतिबेला नेपाललाई हिमाली राज्यका रूपमा चिनाउन मदत पुर्याएको इतिहासकारहरू बताउँछन्। हर्जोगको आरोहण सफल हुँदा फ्रान्समा उनको टिमलाई राष्ट्रिय सम्मानका साथै ३ दिन बिदा दिएको थियो।
विश्वमै पहिलो पटक चढिएको ८ हजार मिटर अग्लो हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमाल पनि भनिन्छ।
मौरिस हर्जोग हिँडेकै बाटोबाट पूर्णिमाले अन्नपूर्ण प्रथम हिमाल चढ्ने छिन्।
अन्नपूर्ण आरोहणको निर्णय लिने बेला पूर्णिमाले महिला चढ्न बाँकी रहेको ८ हजार मिटर अग्लो हिमाल कुन छ भनेर आरोहण क्षेत्रका व्यक्तिहरूलाई सोधेकी थिइन्।
उनले जवाफ पाइन्, 'अन्नपूर्ण र धौलागिरी।'
उनले फेरी सोधिन्, 'यी दुई हिमाल मध्ये कुन चढ्न बढी अप्ठ्यारो छ?'
'अन्नपूर्ण प्रथम।'
त्यसपछि उनले अन्नपूर्ण प्रथम नै चढ्ने अठोट गरिन्।
भौगोलिक रूपमै अप्ठ्यारो रहेको अन्नपूर्ण प्रथममा दिनहुँ जाने सयौं हिमपहिरोले आरोहीलाई चुनौती दिन्छ। यस हिमाल आरोहण गर्न गएका ५ जना मध्ये १ जनाको मृत्यु हुने गरेको पूर्णिमाले जानकारीमा राखेकी छिन्।
‘पहिले पहिले त पैसा खोजेर काल किन्न गएको जस्तो लाग्थ्यो, अचेल त केही जस्तो लाग्दैन,’ उनले भनिन्, ‘हिमाल चढ्दा पल पलमा मर्छु जस्तो लाग्छ, कति बाँच्न मन लाग्छ त्यतिबेला थाहा हुन्छ यो छुट्टै मज्जा हो।’
सुरूमा पूर्णिमाले हिमाल चढ्न थाल्दा उनको घरमा रूवाबासी चलेको थियो। अचेल त उनका बुवा हिमाल चढ्न हिँडेकी छोरीलाई अल्लि पर सम्म साथ दिन आउँछन्।
हिमाल चढ्न हिँडेकी पूर्णिमाको टिममा उनका बुबा चन्द्रप्रसाद श्रेष्ठ पनि साथमै छन्। चन्द्रप्रसाद म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म छोरी पूर्णिमालाई पुर्याएर फर्किने बताए।
सन् २०१७ मा मनास्लु हिमाल चढ्न लाग्दा आकाश खुलेको दिन चन्द्रप्रसादको आँखामा आँशु छचल्किन्थ्यो।
‘एउटै छोरी, केही हुने पो होकी हुन्थ्यो,' उनले भने, ‘अचेल त बानी भइसक्यो।’
पूर्णिमाको आमा पनि ढुक्क छिन्। 'अहिले त छोरीले पनि हिमाल चिन्यो, हिमालले पनि छोरी चिन्छ भन्न थालेको छ, ढुक्कै छ,' चन्द्रप्रसादले बताए।
पूर्णिमा भने हिमाल चढ्नु भनेको आफुले आफैलाई चुनौती दिएको ठान्छिन्।
‘साथीहरूले हिमाल चढ्न सजिलो हुन्छ भनेर सोध्छन्, एकदम गाह्रो हुन्छ भनेपछि किन चढेको त भन्छन्,' उनले भनिन्, ‘म त उर्जा लिन जाने हो।’
अन्नपूर्ण हिमाल चढेर फर्किएपछि पूर्णिमालाई ‘ग्रेट हिमालय ट्रेल’मा पदयात्रा गर्ने धोको छ। त्यसपछि फेरी धौलागिरी, केटु लगायत हिमाल चढ्ने उनको योजना छ। तर उनले यस्ता योजना परिवारलाई सुनाउँदिनन्।
परिवारबाट अब त पुग्यो भन्ने जवाफ आउने भएर।
हिमाल आरोहण गर्दा आफु मर्ने ठानेर उनी मनमनै आफ्नो समाचारको हेडलाइन आफै संझन्छिन्।
‘अन्नपूर्ण आरोहणका क्रममा पूर्णिमाको मृत्यु’ यस्तो समचार बन्ला भनेर मनमा सोच्ने गरेको उनले बताइन्।
पुर्णिमालाई अन्नपूर्ण प्रथम चढ्न गण्डकी प्रदेश सरकारले ८ लाख रुपैयाँ सहयोग गरेको छ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि ५ लाख सहयोग गर्ने आश्वासन दिएको छ। शुक्रबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई नेपालको झण्डा हस्तान्तरण गरेर आरोहण सफलताको शुभकामना दिए।
‘अन्नपूर्ण आरोहण गर्ने पहिलो महिलाको इतिहास रच्दैहुनुहुन्छ, तपाइलाईं सफलता मिलोस्,' मुख्यमन्त्री गुरुङले भने, ‘आरोहण पश्चात पोखरामा रथयात्रा गर्न पाइयोस्।’
उनले पूर्णिमाका बुवालाई पनि ढाडस दिए, ‘साहसी छोरी पाउनु गर्वको कुरा हो हो। नआत्तिनू!’