यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ।
रघुगङ्गा गाउँपालिका-८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ।
गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्रयाक निर्माणमा स्थानीय सरकारसँगै संघीय र प्रदेश सरकारको समेत साझेदारी छ।
तीन वर्षको लगातारको प्रयासपछि सडकको ट्रयाक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमङ्गले गाउँमा सडक पुगेको हो।
सडक पुगेपछि यी गाउँको मुहार उज्यालिएको छ।
विसं २०७४ मा ट्रयाक खोल्न सुरू गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगङ्गा गाउँपालिका र तुदी पावर कम्पनीको गरी रु १८ करोडभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
‘आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको छ’, उनले भने, ‘सडक पुगेपछि यस क्षेत्रका तीन वटा वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको छ। गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगतरूपमा रु १० लाख लगानी गरेका छन्।
त्यसैगरी, यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण सुरू गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन्।
सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम गरेको पाइएको छ।
ट्रयाक खुलेपछि हिजोआज दैनिकरूपमा जीप, बोलेरो, ट्रयाक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेका छन्।
यातायातका साधन सञ्चालन भएपछि गाउँ सहरसँग जोडिएको छ। स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ। कुइनेम्ङगले गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ तर शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ।
गाउँका स्थानीयवासी शिक्षित बन्दै गएका छन्। स्वास्थ्य, शिक्षा, खानेपानी यातायातलगायत विकासका पूर्वाधारले कुइनेमङ्गले गाउँ जोडिँदै गएको स्थानीय बुद्धिजीवी हरि छन्त्यालले बताए।
अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्रयाक निर्माण सम्भव भएको हो।
विसं २०६७ देखि सडक निर्माण थालिएकामा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए।
यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन्।
खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन्।
यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायतका कृषिउपज र भेंडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए।
उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नसमेत सडकले सघाउने बताए।
सडक कुइनेमङ्गले गाउँबासीलाई मात्र नभएर दग्नाम, दर्मिजा र चिमखोलाबासीका लागिसमेत वरदान सावित भएको छ।
गाउँमा सडक नपुग्दा घण्टौं लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता भए पनि अहिले घरघरमा व्यवसाय गर्न पाउँदा त्यस क्षेत्रका जनता दङ्ग छन्।
मोटरबाटोले गाउँको मुहारनै फेरिदिएको स्थानीयवासी दलमान छन्त्यालले बताए।
घरघरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उनको भनाइ छ। सडक सञ्जालले गाउँदेखि सहर जोडिएपछि व्यापार व्यवसाय गर्नेसमेत बढिरहेका छन्।
सडक पुग्नुभन्दा पहिला घोडा खच्चडमा सामान ढुवानी हुँदै आएको थियो। अहिले पनि यदाकदा घोडा र खच्चडमा ढुवानी हुने गरे पनि पनि पहिलेको तुलनामा धेरै कम भएको छ।
सडक पुगेपछि कुइनेमङ्गलेबासीलाई आवतजावतमा मात्र सहज भएको छैन, उनीहरूको कष्टकर दैनिकीसमेत बदलिएको छ।रासस