सुर्खेतको वीरेन्द्रनगर-४ का किरण किशोर सापकोटाले २०७६ वैशाखमा व्यक्तिगत लगानीमा वीरेन्द्रनगर बजारको मुख्य सडकमा जेब्रा क्रसिङ बनाए।
तीन ठाउँमा जेब्रा क्रसिङ बनाउन उनले ८५ हजार रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरे। सँगै उनले सर्वसाधारणलाई लाइन भएको ठाउँबाट बाटो काट्न भनेर पनि सिकाए।
‘दिल्लीबाट रङ र सडक सुरक्षाका केही सामग्री ल्याएर बजारको मुख्य सडकमा राखियो, अहिले ती जेब्रा क्रसिङका लाइन मेटिइसकेका छन्,’ सापकोटाले भने, ‘सडक सुरक्षामा सरकारी निकायको ध्यान पुगोस् भनेर त्यतिबेला मैले व्यक्तिगत लगानीमा जेब्रा क्रसिङ बनाएको हुँ, तर यतिका समयसम्म पनि सरकारी निकायको ध्यान त्यसमा गएन।’
सापकोटाले गत शनिबार फेरि वीरेन्द्रनगरको मुख्य चोकमा प्रश्नवाचक चिन्हसहितको सांकेतिक जेब्रा क्रसिङको एउटा लाइन बनाएका छन्।
‘बनाउन त म आफैंले खर्च गरेर मुख्य ठाउँमा क्रसिङ लाइन बनाउन सक्थें, तर सरकारी निकायको पनि सडक सुरक्षामा ध्यान पुगोस् भनेर त्यो संकेत दिएको हुँ,’ उनले भने।
सवारी साधनको चाप बढेसँगै सुर्खेतको वीरेन्द्रनगर बजारमा पैदल यात्रीलाई बाटो काट्न समस्या पर्ने गरेको छ।
बजार क्षेत्रका सडकमा बाटो काट्न निश्चित ठाउँमा संकेत गरिएको छैन। यसले गर्दा दुर्घटनाको जोखिम उच्च छ।
वीरेन्द्रचोकमा सरकारको ध्यानाकर्षण गराउनका लागि सांकेतिक जेब्रा क्रसिङ बनाएका सापकोटा लगायतका युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्लेकार्ड पनि देखाएका छन्।
‘जनतालाई सडक काट्न गाह्रो भो, सरकारलाई जेब्रा क्रसिङ बनाउन साह्रो भो’, ‘सरोकारवाला सुतेको कि, सुतेको नाटक गरेको’, ‘हामीले जेब्रा क्रसिङ बनायौं, अब सरकारको पालो’, ‘जेब्रा क्रसिङ खोई ?’ लेखिएका प्लेकार्ड उनीहरूले देखाएका थिए।
वीरेन्द्रनगरमा सार्वजनिक बिदाका दिनबाहेक अरू दिन सवारी चाप निकै हुने गरेको छ।
‘साँघुरो सडक भएको बजारमा सवारी साधनको चाप बढेको छ, यस्तो अवस्थामा साधारण व्यक्तिलाई भन्दा अपांगता भएका व्यक्तिहरूलाई झनै समस्या हुने गरेको छ,’ सापकोटाले भने, ‘यसमा सरकारको ध्यानाकर्षण नहुनु नागरिकमाथि अन्याय गरिनु हो।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले भने वीरेन्द्रनगरका विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउन भनेर वीरेन्द्रनगर नगरपालिकासँग आग्रह गरेको छ। धेरै व्यस्त हुने सडकमा १२ ठाउँमा क्रसिङ लाइन बनाउनका लागि नगरपालिकालाई भनिएको सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए।
‘बजारमा सवारी चाप धेरै नै छ, व्यस्त हुने सडकहरूमा सुरक्षाका लागि आवश्यक सूचकमध्ये जेब्राक्रसिङ बनाउन नगरपालिकालाई भनेका छौं,’ उनले भने, ‘अब केही दिनमै कार्ययोजना बनेर आउँछ।’
वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया ढकालले वीरेन्द्रनगर बजारभित्र सडक सुरक्षाका लागि सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताइन्।
‘हामीले सडक सुरक्षाका लागि ट्राफिक प्रहरी लगायतका सम्बन्धित निकायहरूसँग मिलेर सहकार्य गरिरहेका छौं, उहाँहरूले सडक सुरक्षाका लागि गर्ने हरेक कार्यमा हामीले सहयोग पनि गर्छौं,’ उनले भनिन्।
वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षा नीति नै बनाएर काम गरिरहेको उनले बताइन्।
वीरेन्द्रनगर सहरमा सवारी चाप बढ्नुले पैदल यात्रीलाई समस्या भएकोले यसमा नगरपालिकाले व्यवस्थापनको पहल गरिरहेको उपमेयर ढकालले बताइन्।