सिनामंगल भन्नेबित्तिकै तपाईं कुन ठाउँ सम्झनुहुन्छ? पक्कै पनि पुरानो बानेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचको ठाउँ।
पेप्सीकोलातिर पनि कतैकतै पुरानो सिनामंगल भनेर लेखिएका बोर्ड देख्न सकिन्छ। ती बोर्ड देखेर नझुक्किनुहोस्।
यहाँ पेप्सीको कारखाना खुलेपछि मात्र यो ठाउँको नाम पेप्सीकोला भएको हो। मान्छेहरूले सजिलोका लागि भन्न थालेको पेप्सीकोलाले सिनामंगलको इतिहास एकातिर पन्छाइदिएको छ। एकाध बोर्डले जोगाएको इतिहास सडकका धूलोधुँवासँगै उड्न लागिसके। अहिले केही व्यक्तिहरू त्यसलाई जोगाउनपर्छ भनेर जुर्मुराएका छन्।
काठमाडौंका यादवलाल कायस्थ तिनैमध्ये एक हुन्। कायस्थ तिनै व्यक्ति हुन् जसको नाम हिति (ढुंगेधारा) सँग जोडिएर आउने गरेको छ। जहाँजहाँ हिति फेला पर्छ, उनलाई सम्झिँदा हुन्छ। मासिएका, पुरिएका, हराएका हिति संरक्षणमा उनी र उनका साथीहरू प्रयासरत छन्।
पेप्सीकोलामा पनि उनी एक हिति हेर्न पुगेका थिए। यसको इतिहासबारे उनलाई विस्तृत जानकारी भयो। अनि त्यसलाई जिर्णोद्धार गर्नुपर्छ भनेर लागिपरेका छन्।
हामीसँगको भेटमा पेप्सीकोला चोकबाट सय मिटर अगाडि लम्किँदै उनले एक हितितर्फ केन्द्रित गर्दै भने, 'यो हिति एयरपोर्टमा थियो। स्थानीयले त्यहाँबाट यहाँ उठाएर ल्याएको धेरै भइसकेछ। यहाँको संरक्षणमा लाग्दा नै यो ठाउँको अरू इतिहाससँग पनि साक्षात्कार भयौं।'
उनले देखाएको हिति परम्परागत शैलीकै थियो। तर त्यो रहेको ठाउँ मान्छेका घर र पसलले घेरिएको एक कुनामा छ। हितिबाट पानी आउन बन्द भइसकेको छ। त्यसकारण मान्छेले उपयोगी नठानेर त्यसैमाथि लुगा पनि सुकाएको देख्न सकिन्छ।
हिति हेरेपछि हामी फेरि चोकमा फर्कियौं। त्यहाँ एक मन्दिर छ जसलाई सिनामंगल मन्दिर भनिन्छ। भित्र छिर्नेबित्तिकै तामाको चारमुखे महादेव देख्न सकिन्छ। यो मन्दिरलाई सन्तानेश्वर महादेव पनि भन्न थालिएको रहेछ।
'यहाँ महादेव राखिएको पनि धेरै भएको छैन,' भित्ताको एक मार्बलमा कुँदिएको शिलालेख देखाउँदै कायस्थले भने, 'एक रिजाल परिवारले करिब चार वर्षअघि मात्र राखिदिएका रहेछन्।'
महादेव राख्नुअघि यो ठाउँमा ठूलाे शिला भएको स्थानीयहरू बताउँछन्। त्यही शिलाबाट यो ठाउँको नाम नेपाल भाषामा शिलाःमुग र सीमाना या मुगः भएको थियो। पछि अपभ्रंश हुँदै सिनामंगल भन्न थालियो।
स्थानीय प्रमोद सञ्जेलले भने, 'त्यही ढुंगाको नामसँगै इतिहास जोडिएको छ। तर पछि त्यो शिला चर्किँदै गएपछि एकजनाले चारमुखे महादेव हालिदिन्छु भन्नुभयो। हामीले पनि महादेव नै भनेर पूजेका थियौं, त्यसैले आपत्ति जनाएनौं।'
नेपाल भाषामा शिलाःमुग र सीमाना या मुगः को अर्थ 'सीमानाको ढुंगा' भन्ने बुझिन्छ। यो शिलालाई सीमानाको ढुंगा भन्नुको कारण यो काठमाडौं, भक्तपुर र ललितपुरको मध्य भाग थियो जसलाई जिरो किलो पनि भनिन्छ।
अहिले जुन ठाउँमा एयरपोर्ट छ, त्यो कुनै समय गौचरन थियो। विशाल चउरमा एकाएक एयरपोर्ट बन्ने भएपछि धेरैथोक परिवर्तन भए। त्यहाँको शिला, विभिन्न मन्दिर एवं मान्छेका घर–जग्गासमेतको स्थान परिवर्तन भयो।
अहिले जुन ठाउँमा रन–वे छ, त्यहीँ यो शिला थियो। करिब ५०–६० वर्षअघि राजा महेन्द्रले यहाँ एयरपोर्ट बनाउने भएपछि कोरियाका कामदारहरू ल्याई, डोजर चलाएर शिला झिक्न खोजियो। करिब १२-१३ फिटको शिला सबै बाहिर निस्केन। ७–८ फिट टुक्रिएको शिला बेवारिसे अवस्थामा एकछेउ फालियो। बाँकी त्यहीँ पुरेर रन–वे विस्तार भयो।
करिब ४० वर्षअघि स्थानीयले त्यहाँको शिलालाई अहिलेको ठाउँमा ल्याए र महादेव मान्दै पूजा गर्न थाले।
यो शिलासँग एउटा किम्बदन्ती पनि जोडिएको छ। यही शिलामा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाले आफूसँग अरूले लिएर गएको ऋण मुक्त गरेको भनाइ छ। त्यहीँ शंखधरको शालिक पनि थियो। त्यो शालिक अहिले पशुपतिमा जीर्ण अवस्थामा राखिएको स्थानीय बताउँछन्। रन-वेभन्दा केही तल पुरानो पाटी र ढुंगेधाराका डोब अझै देख्न सकिन्छ।
शंखधरले ऋण मुक्त गर्नुअघि त्यहीँको ढुंगेधारामा नुहाएको स्थानीय विश्वास राख्छन्।
'त्यहीँको हितिमा कुँदिएका देवीदेवताहरू यहाँको मन्दिरको विभिन्न ठाउँमा राखिएका छन्,' यति भन्दै कायस्थ मन्दिर वरिपरिका देवता देखाउन लागे।
हामी मन्दिरबाट सेनाको अनुमति लिएर विमानस्थलभित्र रहेको पाटी र ढुंगेधाराको ठाउँ हेर्न गयौं। त्यसअघि कायस्थले हामीलाई मन्दिरपारि मदरल्यान्ड अस्पताल नजिक 'विमानस्थल निषेधित क्षेत्र' लेखिएको तारजालीको ढोकानजिक लगे। स्थानीयले त्यहाँबाट पाटीसम्म पुग्ने बाटो दिन माग राखेका रहेछन्।
त्यहाँछेउ समुन्नत फार्मेसी छ जसको अगाडि मोटरसाइकलहरू पार्क गरिएका हुन्छन्। विमानस्थलमा रहेको पाटी वरिपरि दुई–दुई वटा हिति रहेको स्थानीय बताउँछन्। उनीहरूले त्यस ठाउँमा दुई ढुंगेधारा गाडिएको भनिरहेका छन्, केही अवशेष बाटोछेउ फालिएको अवस्थामा पनि देखिन्थ्यो।
'विमानस्थलबाट ल्याएर स्थानीयले यहाँ गाडेका रहेछन्। त्यो हितिलाई यहाँबाट झिकेर यथास्थानमै राखियोस् भन्ने पनि हाम्रो माग हो,' कायस्थले भने।
यहाँको पाटी र हिति संरक्षणका लागि भनेर केही महिनाअघि मात्र उपभोक्ता समिति बनेको छ। त्यही समितिका केही सदस्यसहित हामी विमानस्थलभित्रको उक्त पाटीतर्फ लम्कियौं।
त्यो पाटीलाई महेन्द्र फल्चा (पाटी) भनिन्छ। राजा महेन्द्रले २०११ सालमा यसलाई जिर्णोद्धार गरेका थिए। वरिपरि महेन्द्र पालाका इँटाहरू पनि छन्। त्यस वरिपरि दुई हिति भएको स्थानीयले बताएका थिए। एक ठाउँमा पोखरीजस्तो अवशेष बाँकी नै छ। अर्को भागमा भने हितिका डोबधरि बाँकी थिएन। त्यो पनि केही समयअघि उम्रिएका झार सफा गरेपछि देखिन थालेको रहेछ।
बरू त्यसैछेउको बाटोमा कालोपत्रे गरिएको सडकका केही अवशेष भेटिए।
'यही बाटो हुँदै पहिले भक्तपुरबाट बानेश्वर, डिल्लीबजार, मैतिदेवी हुँदै रत्नपार्क जाने बस लाग्थ्यो। यहाँबाट नवदुर्गा, अन्नपूर्ण भन्ने बस चल्थ्यो,' हामीसँगै हिँडेका ६५ वर्षीय लक्ष्मण विष्टले विस्तार लाए, 'पछि २६–२७ सालतिर दक्षिण कोरियालाई यहाँ रन-वे विस्तार गर्ने टेन्डर पर्यो। अनि विभिन्न ठाउँबाट माटो ल्याएर समथर बनाई रन-वे बनाइयो।'
विष्टको परिवारको त्यहाँ खेतीबारी थियो। उनको परिवारले कोदो, मकै लगायत रोप्न जाँदा त्यो शिलालेख पूजा पनि गर्थे। रन-वे बनाएर बाँकी रहेको ढुंगा अहिलेको ठाउँमा ल्याएपछि त्यसैलाई विष्ट परिवार र अरूले पनि भगवान मानेर पूजा गर्न थाले।
धेरै पछि, करिब १५–२० वर्षअघि विमानस्थलभित्रको हिति पनि स्थानीयले उठाएर ल्याए। विष्ट अझै पनि त्यहाँबाट ती पुरातात्विक सामग्रीहरू ल्याएको समय सम्झन्छन्, 'चार-पाँच जना भाइहरू मिलेर ल्याएका थिए। पछि यहाँ पानी पनि खसालेका थिए। पानी आउन छाडेपछि भने त्यसको संरक्षण भएन।'
द्वन्द्वकाल अघिसम्म स्थानीयहरू विमानस्थलस्थित त्यो पाटीछेउ सजिलै छिर्न पाउँथे। उनीहरू वस्तुभाउ चराउँथे। त्यहाँ बस्ने, भोज लगाउने, रात बिताउनेजस्ता गतिविधि सामान्य थियो। जब द्वन्द्वकाल सुरू भयो, सेनाहरू बसेर पहरा दिन थाले। त्यहाँ तारबार लगाइयो।
अहिले त्यो ठाउँ त्यसै छ। विमानस्थलको कुनै प्रयोजनका लागि पनि उपयोग नभएकाले स्थानीयले करिब एक रोपनी १३ आनामा फैलिएको उक्त ठाउँमा हकदाबी गरेका छन्। त्यहाँको ऐतिहासिक विषयको खोजी, उत्खनन र संरक्षण गर्दै पर्यटकीय स्थल बनाउनुपर्ने माग राखेका छन्।
केही समयअघि पुरातत्व विभागकी अधिकृत सबिता न्यौपानेसहितको टोली यहाँको अनुगमन गर्न गएको थियो। अनुगमनपछि केही बजेट पनि छुट्ट्याएर जिर्णोद्धार गर्ने तयारी गरिरहेको थियो। विमानस्थलसँग समन्वय हुन नसकेपछि त्यो काम अहिले रोकिएको उनले बताइन्।
'विमानस्थलले आफ्नो क्षेत्रभित्र भएको भन्दै हामीलाई काम गर्न दिएन। अनि हामीले बजेट अन्तै लगायौं,' उनले भनिन्, 'अहिलेसम्म त्यहाँको इतिहास पनि स्थानीयको भनाइका आधारमा मात्र छ। त्यसलाई प्रमाण गर्न अनुसन्धान जरूरी छ। स्थानीय आफैं बलियो भएर लागे भने मात्र त्यस ठाउँको संरक्षण गर्न सकिएला।'
नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी त्यो ठाउँ 'एयर साइड' भित्र पर्ने भएकाले स्थानीयलाई फिर्ता गर्न नमिल्ने बताउँछन्।
'अहिले हवाईजहाज पार्किङका लागि ठूलो क्षेत्र नभएकाले जहाजहरू आकाशमै केही समय 'होल्ड' गरेर बस्नुपर्ने अवस्था छ, जसकारण 'एयर–ट्राफिक' बढिरहेको हुन्छ। त्यसको समाधानका रूपमा त्यो क्षेत्रमा पार्किङ बनाउने गुरुयोजना छ,' उनले भने, 'हामीले पहिल्यै किनेको र विमानस्थलभित्र परिसकेकाले बाहिरको मान्छेका लागि खोल्ने कुरै आउँदैन।'
त्यहाँभित्र रहेको पाटी र अन्य सम्पदा संरक्षण गर्न त्यसलाई अन्य ठाउँमा सार्नुको विकल्प नरहेको उनी बताउँछन्।
'हामीले पहिले पनि नागेश्वर मन्दिर लगायत विभिन्न सम्पदा सारेर बस्तीमा पुनः स्थापना गरेका थियौं। त्यसलाई पनि त्यस्तै गर्न सकिन्छ,' उनले भने।
यता महेन्द्र पाटीको एक रोपनी १३ आना जग्गा स्थानीयलाई दिन मिल्दैन भनिरहँदा करिब ९१ रोपनी जग्गा विमानस्थलले होटल बनाउन ३० वर्षका लागि व्यापारीलाई दिन लागेको छ।
त्यस सन्दर्भमा मुरारीले भने, 'त्यो ठाउँ एयर साइड बाहिर पर्छ जहाँ दुर्घटना हुँदैन। तर जुन ठाउँमा पाटी छ, त्यो एयर साइड हो, दुर्घटना सम्भावना बढी हुन्छ। जहाज र मान्छेको सुरक्षालाई ध्यानमा राखेर पनि त्यो ठाउँ स्थानीयलाई खुला गर्न मिल्दैन।'
स्थानीयहरू भने भन्छन्, 'त्यति ठाउँ मात्र दिँदा विमानस्थललाई केही फरक पर्दैन। इतिहासको संरक्षण र एयरपोर्ट पर्यटनका लागि पनि त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।'