भारतमा कोरोनभाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको गौरीफन्टा नाकाबाट कञ्चनपुरको डोकेबजार हुँदै स्वदेश फर्किनेको संख्या फेरि बढेको छ।
टीकापुर-१ की सीता बिक भारतबाट फर्कीएकी छन्। उनी तीन महिना पहिले बैंगलुरू गएकी थिइन्। श्रीमान् उतै काम गर्ने भएकाले दूधे बच्चासहित कमाइ गर्न उतै गएकी उनी कोरोना फेरि फैलिने डरले फर्किएकी हुन्।
‘हाम्रो बस्नेतिर त थिएन तर अन्ततिर फेरि कोरोना आयो भन्थे, पछि बन्दसन्द होला भनेर आइहाल्यौं,’ उनले भनिन्।
भारतका केही प्रान्तहरूमा फेरि कोरोनाको संक्रमण तीव्र फैलिन थालेको खबर उनले पाएपछि फर्केको बताइन्।
पिसिआर पोजेटिभ आए के हुने हो, कता जानुपर्ने हो भन्ने उनलाई चिन्ता थियो।
टीकापुरमा सुकुम्बासी बस्तीमा बसेको उनको परिवारलाई बिहान-बेलुका हातमुख जोर्नका लागि भए पनि भारत नगई धरै थिएन।
पहिलेजस्तो वातावरण नहुँदा त्यहाँ गएर काम पाउन उनीहरूलाई सहज थिएन। धेरै ठाउँमा बिन्ती बिसाएपछि सीताका श्रीमानले एक अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम पाएका थिए।
उनका श्रीमानले नियमित काम गर्न थालेको केही महिना नपुग्दै फेरि भारतमा कोरोनाको संक्रमण फैलिन थाल्यो।
यही त्रासले उनको काम गर्ने ठाउँमा जोखिम भएको भन्दै मालिकले काम छोड्नु पर्ने बताए।
काम छुटेपछि अन्त गएर खोज्न उनले चाहेनन्। कोरोनाको संक्रमण फैलिन थालेको भन्दै उनले स्वदेश फर्केन मन गरे। त्यसको भोलिपल्ट सपरिवार घर फर्केको सीताले सुनाइन्।
‘पहिला पनि कोरोनाकै कारण घर फर्किनु पर्यो, अहिले फेरि त्यस्तै भयो,’ उनले पसिना पुछ्दै भनिन्।
सीताका श्रीमानले भारत गएर नै परिवार पाल्ने गर्छन्।
‘पहिला उहाँमात्रै जानुहुन्थ्यो, पछि म पनि उहाँसंगै जान थालें, घरखर्च चलाउन केही सजिलो भएको थियो। पोहोर सालदेखि कोरोनाले कहिले यता कहिले उता भएका छौं,’ उनले भनिन्।
सीतासँगै उभिएकी रमा बिकले पनि काम गर्ने ठाउँमा फेरि कोरोनाको त्रास बढेकाले छोडेर आएको बताइन्। उनी पनि ४ महिनाअघि काम गर्न बैंगलुरू पुगेकी थिइन्।
‘म सेटको घरमा खाना पकाउने, भाडा माझ्ने, घर सफा गर्ने काम गर्थें। कोराना आयो, अब काममा नआउनु भनेपछि घर फर्किनु पर्यो,’ उनले भनिन्।
बझाङका बिर्खे बोहरा ५ महिना अघि कमाउन फेरि भारत गएका थिए।
लक डाउनमा घरमै बसेर धेरै घाटा भएकोले अब कमाउन जानुपर्छ भन्ने सोचले भारत गए पनि फेरि उस्तै समस्या भएपछि बाध्य भएर फर्किनु परेको उनले सुनाए।
होलीपछि कोरोनाको त्रास कम भए फेरि भारत जाने उनको योजना छ।
भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि कमाउन भारत गएकाहरू सुदूरपश्चिमका विभिन्न नाका हुँदै अहिले धमाधम घर फर्किरहेका छन्।
कैलालीको भजनीका ४३ वर्षीय बिर्ख रोकाया पनि भारतबाट फर्केका छन्। उनले होली नजिकिएकाले फर्किएको बताए। उनी दशैंमा फर्किने भन्दै पुसमा मात्र भारत गएका थिए।
‘बैंग्लोरतिर हो गएको, होली पनि आयो, उता काम पनि छुट्नेजस्तो थियो, खाली बस्नु भन्दा घरै जाउँ भनेर आइयो,’ उनले भने।
भारतबाट फर्किएकाहरूले यात्रामा समस्या भने भोग्नु नपरेको सुनाए।
‘पोहर कमाउने बाटो कोरोनाले बन्द गरिदियो, यसपटक पनि फेरि हल्ला चलेको छ, खै के हुन्छ,’ बिर्खले भने।
भारतबाट आएकाहरूमाथि नेपाल सरकारले त्रिनगर नाकामा निगरानी बढाइरहेको छ।
गौरीफन्टामै भारतीय गाडीबाट झरेर वारी लागेका उनीहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सामान के-के छ हेरेर पठाउने गर्छ।
नेपाल आएपछि लाइन लगाएर सशस्त्र प्रहरीले भारतको कुन ठाउँबाट आएको भनेर सोधपुछ गर्ने गरेका छन्।
‘प्रहरीले कहाँबाट आएको भनेर सोधे, टाढाबाट आएकालाई रगत चेक गर्न लाउने रहेछन्,’ बिर्खले भने।
सीमानामा हेल्थ डेस्क राखिएको छ। भारतबाट आएकाहरूलाई कोरोनाका लक्षण छन कि छैनन् भनी सोध्ने गरिएको छ। आएकामध्ये केहीलाई छानेर मलेरिया र एन्टिजेन जाँच्ने गरिएको हेल्थ डेस्कमा रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सिनियर अहेब गजेन्द्रबहादुर सिंहले बताए।
‘पलिया, बनगाउँजस्ता नजिकका बजारमा सामान किन्न जानेहरूले पनि कोरोना संक्रमित हुने जोखिम बढेको छ, टाढाबाट आएकालाई त जाँचेर पठाउँछौं, यतै नजिक जाने सयौं हुन्छन्,’ उनले भने।
हेल्थ डेस्कसँगै रहेको प्रहरी कक्षमा पारिबाट आएका सबैको विवरण टिप्ने गरिएको छ।
‘पहिले-पहिले दिनमा २ सय जति आउँथे, अहिले ५-७ सयसम्म आउन थालेका छन्,’ एक जना प्रहरीले रजिस्टर देखाउँदै भने।
भारतबाट आएकामध्ये केहीको मलेरिया, रगतको नमूना आरडिटीबाट जाँचेपछि पिसिआर पनि गराउनु पर्ने भए केही दिनअघि मात्रै बनाइएको अर्को हेल्थ डेस्कमा पठाइन्छ। त्यहाँ हात धुने, आराम गर्ने, चेक गर्ने र संक्रमित भए एम्बुलेन्समा राखेर आइसोलसन पठाउने गरिन्छ।
गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जाने-आउनेको ठूलो भीड हुन्छ। यस्तै भारतीय अस्पतालमा उपचारका लागि जाने, नजिकका सीमावर्ती बजारमा सामान किन्न जानेहरू पनि थुप्रै हुन्छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नाकामा निगरानी बढाइएको बताए।
‘अहिले गौरीफन्टा र गड्डाचौकी नाकामा आवतजावत गर्ने र मालवाहक सवारी साधनमाथि निगरानी बढाइएको छ’ उनले भने।
नाकालाई व्यवस्थित पार्न सुरक्षाकर्मी र कर्मचारी पनि थप हुने उनले बताए।
कोरोनाको दोस्रो चरणको लहर नेपाल आउन नदिन सतर्क रहन भनिएको छ।
यसका लागि गौरीफन्टा नाका हुँदै भारतीय सीमावर्ती बजार आउने-जानेलाई पनि रोक लगाउने विषयमा छलफल सुरु भएको छ।
सबै तस्बिरहरू: सविता बुढा/सेतोपाटी