आर्काइभबाट
जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर। फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।
पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ।
अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ। भक्तपुरमा पनि यही दिनबाट फागु सुरू हुन्छ। पर्व सुरू भएको संकेत दिने सूचक भने फरक छ।
यहाँ भीमसेन मन्दिरमा भीमसेन र द्रौपदीको यौन समागम दृश्य प्रदर्शन गर्दै फागु सुरू भएको जनाउ दिइन्छ।
भीमसेनको लिंगको प्रतीकका रूपमा काठको लिंगो झुन्ड्याइन्छ भने द्रौपदीको योनीका रूपमा रातो कपडामा प्वाल पारेर टांगिन्छ। यी दुईको यौन समागम दृश्य प्रदर्शन गर्दै पूजाआजा गरेपछि विधिवत् रूपमा फागु सुरू भएको मानिन्छ।
फागु मनाउने विधिमा जस्तो अन्तर छ, फागुसँग जोडिएको आस्था पनि फरक छ।
किम्बदन्तीअनुसार फागु पर्वलाई कृष्णलीलाको चीरहरणसँग जोडेर हेरिन्छ।
वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिन्छन्। गोपिनीहरूले आइन्दा त्यसरी ननुहाउने विलाप गरेपछि बल्ल लुगा फिर्ता पाउँछन्।
गोपिनी र कृष्णको यो प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको हिन्दु महासंघका अध्यक्ष राजन मानन्धर बताउँछन्।
उनका अनुसार वसन्तपुरमा ठड्याइने चीरका ध्वजाहरू गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ।
अष्टमीको दिन उभ्याइने चीरलाई पूर्णिमाको साइत पारेर घिसार्दै टुँडिखेल लगेर जलाइन्छ। त्यस क्रममा चीरको ध्वाजा लुछाचुँडी हुन्छ। त्यस ध्वजाले केटाकेटीका रुन्चे र अन्य रोग निको हुने धार्मिक मान्यता छ।
टुँडिखेल बीचमा चीर जलाएपछि फागु पर्व अन्त्य हुन्छ। चीर जलाएपछिको खरानी हारालुछ गरेर विभूतिका रूपमा घर लैजाने परम्परा छ।
पहिले इन्द्रचोक, भेडासिंतिरका मारवाडी साहुहरू त्यो खरानी लिन मरिहत्ते गर्थे। उनीहरू भोलिपल्ट त्यही खरानीको होली खेल्ने मानन्धरको भनाइ छ।
‘तराईमा होलीलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ। त्यही भएर काठमाडौंमा चीर जलाएको भोलिपल्ट तराईमा होली खेलिन्छ,’ मानन्धरले भने, ‘तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ।’
पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दहन गरिएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।
दैत्यराज हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्ना छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। आगोले जलाउन नसक्ने वरदान पाएकी होलिका उक्त षड्यन्त्रमा आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई भने केही हुँदैन।
भक्तपुरमा फागुको सम्बन्ध कृष्णलीला वा होलिका दहनसँग जोडिँदैन। यहाँ भीमसेन उत्सवका रूपमा फागु मनाइन्छ।
नेवार बाहुल्य रहेको बस्तीमा भीमसेनकै गीत गाएर यो पर्व मनाइने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
‘नेवारहरूको पुर्ख्यौली पेसा व्यापार हो। भीमसेनको सुदृष्टि पर्यो भने व्यापार राम्रो हुन्छ भन्ने मान्यता छ,’ उनी भन्छन्, ‘देशमा अशान्ति हटोस् र समृद्धि छाओस् भनेर कामना गर्दै फागु मनाइन्छ। नेवारहरू समृद्धिको निम्ति भीमसेनको पूजा गर्छन्।’
महाभारतका पात्र भीमसेनलाई महादेव वा भैरवका रूपमा लिइन्छ। जस्तो, दोलखा भीमसेन दिउँसो महादेव र राति भैरव हुन्छन् भन्ने भनाइ छ।
भक्तपुर, तौमडीको आकाशभैरव पनि दिनको तीन रूप फेर्छन् भन्ने विश्वास गरिन्छ।
फागु या होली भन्नेबित्तिकै प्रेम वा प्रणयका सन्दर्भ जोडिन्छन्। त्यसैको छनक फागु गीतहरूमा पनि भेटिन्छ।
भक्तपुरमा गाइने फागु गीतमा भीमसेनकै आराधना छः
‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
बिस्यू वने मायेक स्वः झायाः लाः’
विभिन्न गुठी र मन्दिरका दाफा भजनमा गाइने यो गीतले भन्छ– ‘भीमसेनको लिंग देखेर डरायौ तिमी, भाग्नुनपर्ने गरी फागु खेल्न आऊ।’
यो गीतले किशोर–किशोरीबीच छेडखानीको संकेत गर्छ। फागु गीतको विशेषता नै यही हो।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार पहिलेको समाजमा युवतीहरू अहिलेजस्तो घुलमिल हुन्थेनन्। एकान्तमा बस्ने भएकाले युवाहरू तिनलाई जिस्काउने अभिप्रायले फागुमा यस्ता गीत गाउँथे।
‘रङको यो पर्व मायाप्रेम साट्ने अवसर हो,’ ग्वंग भन्छन्, ‘फागुमा गाइने गीतहरूलाई युवायुवतीले एकअर्काप्रति माया–प्रेम आदानप्रदान गर्ने माध्यमका रूपमा लिए।’
यही विशेषता काठमाडौंमा गाइने फागु पर्वमा पनि पाइन्छ।
‘अबिरया होली, तचँयाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि’
नेवार भाषाको ‘सिलु’ फिल्ममा रहेको यो गीतको शब्दले भन्छ, ‘अबिरको होली खेल्दा पनि रिसायौ तरुनी, अबिरले तिम्रो अनुहारलाई झन् राम्रो बनाउँछ।’
यही गीतका अरू टुक्राले भन्छः
तुँ तुँचा, मय्जुया पिलाको बाँला,
बागमतो बनेबले लेवो नापला।
अर्थात्, ‘मैयाँको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने।’
संस्कृतिविद् धौभडेल त यो मौसम नै प्रेममय भएको बताउँछन्– न गर्मी, न जाडो।
‘यही समयमा यौनका देव कामदेव र देवी रती बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘त्यही भएर फागुलाई प्रेम उत्सवका रूपमा लिइन्छ र मनाउने तरिका पनि प्रेमिल हुन्छ।’
उनका अनुसार पहिले राजाहरूले पनि दरबारमा होली खेल्थे। ‘अबिरया होली’ गीतमा यसको छनक पाइन्छ। उक्त गीतको एउटा हरफले भन्छ, ‘जुजु रानी दरबारय् होली म्हितिगु रे’
यसले राजदरबारमा राजारानीले समेत होली खेल्ने गरेको संकेत गर्छ।
‘सुन्दरी चोकमा मल्ल राजा, दाग चोकमा भारद्वारहरूले फागु खेल्थे,’ हिन्दु महासंघका अध्यक्ष मानन्धरले भने, ‘मूलचोकमा दरबारका कर्मचारी र वसन्तपुरमा जनतालाई खुसी पार्न चीर उठाएर फागु मनाउन दिइएको हो।’
यी चार ठाउँबाहेक नारायणहिटी दरबारमा समेत चीर उठाएर फागु प्रारम्भ गरिन्थ्यो। गणतन्त्रपछि भने यो चलन नरहेको उनले बताए।
संस्कृतिविद् ग्वंगका अनुसार सरकारी कर्मचारी तथा दरबारियाहरू सिंहदरबारमा फागु खेल्न पुग्थे। श्री ३ महाराजको दरबारमा बोराका बोरा अबिर राखिएको हुन्थ्यो।
फागुको विशेषता भनेकै अबिर हो।
यो जडिबुटी, फूल, रूखको बोक्रा पकाएर र केही कालिमाटीका खनिजबाट बन्छ। खासगरी पलाँसको फूल अबिरको मुख्य स्रोत हो। प्राकृतिक फूलको रङबाट बनेको फुस्रे सिन्दुर लगाए रगत बग्न रोकिने र घाउचोट लागेको निको हुने मान्यता पनि छ।
अचेल भने रसायन मिसिएका अबिर बढी पाइन्छन्। यसले रोग निको हुनुको सट्टा उल्टो बढाउने हुँदा फागुमा अबिरको चलनै कम हुँदै गएको धौभडेल बताउँछन्।
अहिले बेलुनमा पानी वा रङ भरेर ‘लोला’ हान्दै फागु मनाइन्छ। विगतमा काठमाडौंमा यस्तो चलन थिएन।
संस्कृतिमा दख्खल राख्ने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार विगतमा लाहाबाट बनेका लोला हान्ने गरिन्थ्यो।
‘हामीले घरमा बाल्ने बिजुलीको सानो चीमजस्तै गोलाकार लोला अति नै नाजुक हुन्थे। त्यही पातलो बोक्राभित्र अबिर र झिलीमिली जरीले भरिएको हुन्थ्यो,’ उनी भन्छन्।
त्यस्तै, नीलो रङ, सेतो कमेरो माटो, पहेँलो धूलो (पहेँलो माटो वा बेसारबाट बनेको) र कहिलेकाहीँ कालो मोसो दलेर पनि फागु मनाउने गरिन्थ्यो।
‘२०१० सालतिर काठमाडौंमा तरुनी केटीहरू सहर बजारमा उति साह्रो देखिँदैन थिए। राम्री केटीको दर्शन झ्याल–झ्यालमै सीमित हुन्थ्यो। होली सकिएको धेरै दिनसम्म राम्रा चेली भएका घरका झ्याल अबिरले रंगिएका हुन्थे,’ उनले भनेका छन्।
फागु पर्व कहिलेबाट मनाउन थालियो भन्ने प्रस्ट इतिहास छैन।
गोपाल राजवंशावलीका अनुसार राजा मानदेवले देशमा अशान्ति हुँदा शान्ति र समृद्धि निम्ति फागु मनाएको उल्लेख छ। यस आधारमा लिच्छविकालबाटै फागु पर्व सुरु भएको हुनसक्ने धौभडेल बताउँछन्।
त्यहाँभन्दा अगाडिको इतिहास हेर्ने हो भने, संस्कृतका महाकवि भवभूतिले लेखेको ‘मालती माधव’ र कालिदासले लेखेको ‘मालविक्रान्ग्रीमृत’ भन्ने नाटकमा समेत फागुको प्रसंग उल्लेख छ।
प्राचीन संस्कृत साहित्यमा फागु सन्दर्भ उल्लेख हुनु भनेको हिन्दु धर्ममा प्राचीनकालबाटै यो पर्व मनाउने गरिएको मान्न सकिन्छ।
पछि यसलाई चाडपर्वकै रूपमा मनाउन थालेको तौमडीस्थित राजा यक्ष मल्लको शिलापत्रमा उल्लेख छ। उक्त शिलापत्र नेपाल सम्बत् ५६१ को हो।
मल्लकालमा आएर नेपाल सम्बत् ७८१ र ७९२ मा राजा जितामित्र र जगतप्रकाश मल्लले लेखेको नेपाल भाषाका किताबमा फागुका गीत समावेश छन्।