काठमाडौं र ललितपुरका विभिन्न ठाउँका घरघरमा आजदेखि मेलम्चीको पानी वितरण गरिने भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत् पुरानै पाइप संरचनाबाट परीक्षणका रूपमा घरघरमा पानी छाड्न लागिएको छ।
आइतबारदेखि मेलम्चीको पानी वितरण सुरू गर्न लागेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले सेतोपाटीलाई बताए।
‘मेलम्चीको पानी आजदेखि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा रहेका घरका धारा-धारामा पठाउँदैछौं,’ राईले भने, ‘केयुकेयलका पुरानै नेटवर्कबाट पानी वितरण गरिन्छ।’
तर ललितपुर खुमलटारमा भने नयाँ ट्यांकीमा पानी भरेर प्रयोगमा ल्याइने उनले जानकारी दिए।
केयुकेएलका ट्यांकी रहेका यी ठाउँबाट पानी वितरणको तयारी छ। ‘अनामनगर, मिनभवन, महाँकालचौर, महाराजगञ्ज, बाँसवारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमा पानी भरे घरघरमा पठाउन लागिएको हो,’ उनले भने।
यी ट्यांकीहरूबाट पहिलेदेखि नै पानी वितरण भइआएका घरका धारामा आजदेखि मेलम्चीको पानी छाडिने उनको भनाइ छ।
‘सबै धारामा एकैपटक पानी आउँदैन,’ उनले भने, ‘हामीले सिफ्ट मिलाएर छाड्छौं।’ ट्यांकीमा पानी भर्ने काम अहिले भइरहेको उनले बताए।
‘ट्यांकीमा पानी भरिइसकेपछि सेड्युलअनुसार घरघरमा वितरण गरिन्छ,’ उनले भने। विभिन्न स्थानका ट्यांकीबाट चार करोड लिटर पानी वितरण गर्ने योजना छ।
उनकाअनुसार परीक्षणका लागि सकेसम्म धारामा निरन्तर रूपमा पानी छाडिनेछ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने क्षमता भए पनि अहिले कम ल्याइएको छ। क्षमताअनुसार सुरूङबाट पानी छाडिएको छैन। त्यसैले अहिले दैनिक चार करोड लिटर पानी वितरणको तयारी गरिएको हो।
काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग छ। घरघरमा आउने मेलम्चीको पानी सफा हुने दाबीसमेत केयुकेएलको छ। मेलम्चीको पानी सुरूङबाट सुन्दरीजल झारिएको र त्यहाँ प्रशोधन केन्द्र चलाइएको छ।
२०५६ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएर काम हुँदै आएको थियो। यतिका वर्षपछि काठमाडौं आएको मेलम्चीको पानी घरघरमा परीक्षणका लागि पठाएर सफल भएपछि एक साताभित्रै राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी छ।