धेरै दिन भो, पोखराबाट माछापुच्छ्रे नदेखिएको।
पोखराको प्राकृतिक सुन्दरता हेर्न नयाँ दिल्लीबाट नेपाल आएकी सोनिया कार्की र उनका साथी मिनु जङभिडले माछापुच्छे नहेरी फर्कनुपर्यो।
भारतको महाराष्ट्र निवासी उनीहरुले भारतमा भोगेका समस्या नेपालमा पनि भोग्नुपर्ला भनेर सोच्दा पनि नसोचेको बताए।
‘पोखरामा पनि यस्तो प्रदुषण होला भनेर हामीले त सोचेका पनि थिएनौं’, पोखरा विमानस्थलमा शनिबार भेटिएकी सोनियाले भनिन्, ‘यसपाली नेपाल घुम्न आउँदा समय र पैसाको मात्र बर्बादी भयो।’
विश्वमै वायु प्रदुषणको शहरका रुपमा भारतको राजधानी नयाँ दिल्ली सहितका शहरहरुको पँक्तीमा नेपालको राजधानी काठमाडौं पनि आउँछ। तर पोखरा वायु प्रदुषित शहरमा दर्ज भइसकेको छैन। अहिले पनि कतिपय काठमाडौंबासी नेपाली पोखरा झरेपछि देखेको वातावरणीय स्वच्छताकै चर्चा गर्छन्।
पोखरा विमानस्थलमा भेटिएका काठमाडौं मैतीदेवीका डोलेन्द्र थापाले पनि यसपटक पोखरा आउँदा यसअघिका अनुभव देख्न नपाएको बताए। पोखराको फेवाताल पारीको रानीबन होस् या अगाडीका काहुँडाँडा। शनिबारदेखि यति नजिकैका डाँडाहरु पनि देख्न सकिएन। जसको प्रत्यक्ष प्रभाव विमानस्थललाई पर्यो।
पोखराको आकाशमा तुवाँलो छाउँदा शुक्रबार ६ वटा फ्लाइट रद्ध भयो। शनिबार त दिनभर एउटा पनि विमान उँड्न र अवतरण गर्न सकेन। पोखराबाट दिनहुँ काठमाडौं, भैरहवा, भरतपुर लगायता स्थानमा विमानसेवा सुचारु छ। आइतबार पनि पोखरालाई वायु प्रदुषणले छोपेको छ। वायु प्रदुषणकै कारण आइतबार पनि विमानसेवा ठप्प भएको विमानस्थलले जनाएको छ।
पोखरा विमानस्थलका अनुसार शनिबार बुद्ध एयरको १० वटा, यती एयरलायन्सको ७ वटा, तारा एयरको ५ र समिट एयरको ५ वटा उडान योजना थिए। यत्तिका उडानमा १२ सय जना यात्रुले टिकट काटेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदी बताउँछन्।
तारा एयर र सिता एयरको ५/५ वटा उडानबाट मुस्ताङ जान यात्रुहरु विहानै विमानस्थल पुगेका थिए। ती उडानबाट मात्रै १८० जना यात्रु मुस्ताङ जान्थे। पोखरा–मुस्ताङको उडान विहान १० बजेसम्म सकिन्छ।
शुक्रबार जोमसोमको मौसम अनुकूल नभएर रद्ध भएका उडान पनि शनिबारलाई सारिएको थियो। शनिबार विहान जोमसोमको मौसम ठिक भयो, तर पोखराकै बेठिक भयो। भिजिविलिटी नपुग्दा शनिबारका सबै उडान रद्ध गर्न परेको सूचना अधिकारी सुवेदीले बताए।
पोखरा विमानस्थलबाट जहाज उडाउन र अवतरण गर्न कम्तिमा ५ किलोमिटर देखिनुपर्छ।
आँखाले देखेको भरमा मात्र उडान भर्नुपर्ने भिएफआर प्रणालीमै रहेको पोखरा विमानस्थलबाट शनिबार दुई किलोमिटर पनि मुस्किलले देखिन्थ्यो। विमानस्थलको अगाडि र पछाडी केही दुरीमै रहेका डाँडाका कारण आँखा नदेखि उडान भर्न सकिने अवस्था थिएन। त्यही कारण शनिबारका सबै उडान रद्ध भएको विमानस्थलले जनाएको छ।
पोखरा विमानस्थलबाट दिनभर हवाई सेवा बन्द भएपछि विमानस्थलमा थुप्रिएका यात्रु कोही सडकबाटै गन्तव्यमा गए त कोही आइतबार आकाश खुल्ने आशामा फर्किए। काठमाडौं विमानस्थलबाट सोमबार दिल्ली जाने योजनामा रहेकी सोनिया र उनका साथी पनि सडकबाटै काठमाडौं गए।
काठमाडौं जान हतारिएका डोलेन्द्र थापाले सडकबाटै काठमाडौं जान गाडी मगाए। त्यही गाडीमा सोनिया र अन्य यात्रु पनि काठमाडौं हानिए।
वायु प्रदुषणका कारण दिनभर नै उडान बन्द गर्नुपर्दा पोखरा विमानस्थलका अधिकारीहरु पनि छक्क परेका छन्। साउने झरी र पुष– माघको तुवाँलोमा पनि यसरी नै विमानस्थल बन्द गर्नुपरेको उनीहरु सम्झन्छन्।
नेपालमै सबैभन्दा धेरै पानी पर्ने पोखरामा यतिबेला पानी पर्न सकेको छैन।
चैतमास आउने हावाहुरी पनि बन्द छ। धेरै पानी पर्ने भएकै कारण पोखरा सफा र स्वच्छ शहरमा दरिएको थियो। चैतमासमा वायु प्रदुषणकै कारण विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था यसअघि थाहा नभएको सुवेदीले बताए।
कोरोना भाइरसको महामारी आउनुअघि चैत महिनाभरी नै विमानस्थलमा नेपाली जत्तिकै विदेशी पर्यटकले पनि भरिभराउ हुन्थे।
पदयात्राको उपयुक्त सिजन भएकाले चैतमा धेरै पर्यटक नेपाल आउँथे, त्यसमा पनि धेरैजसो पोखरा। कोरोना महामारीपछि कमै विदेशीले मात्र नेपाल टेक्न पाएका छन्।
वायु प्रदुषणका कारण हवाई सेवा नै अवरुद्ध हुने हदसम्म प्रदुषण बढ्दै गए पोखराको पर्यटन क्षेत्र पनि प्रभावित हुने कतिपय व्यवसायी बताउँछन्। प्रदुषणकै कारण नजिकैको हिमाल पनि नदेखिने अवस्था आए पोखराको पर्यटन खस्किने उनीहरुको चिन्ता छ।
पोखराका ३ ठाउँबाट हावाको गुणस्तर मापन गरिन्छ।
गण्डकी बोर्डिङ स्कुल, पोखरा विश्वविद्यालय र जल तथा मौसम विज्ञान कार्यालयबाट पोखरामा हावाको गुणस्तर मापन भइरहेका छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकाल पोखराको हावा खतराको विन्दुमा पुगेको बताउँछन्।
शनिबार मात्रै पोखराका ३ ठाउँमा मापन भएको हावाको गुणस्तर (एक्यूआई) १५४ देखि २३६ सम्म पुगेको छ। ढकालका अनुसार ५० एक्युआईसम्म राम्रो मानिन्छ । हावाको गुणस्तर जति धेरै अंकमा गयो उति नै दुषित हुने ढकालले बताए।
राजधानी काठमाडौंमा जस्तै पोखरामा पनि वायु प्रदुषण फैलिनुमा देशभित्रका स्थानीय र बाह्य कारण रहेको एरोसोल सम्बन्धी शोधकर्ता जीवन रेग्मीले बताए।
देशभित्रका स्थानीय कारणमा देशभरिका थुप्रै जंगलमा लागेको डढेलो, किसानले बाली भित्राएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदुषण बढाएको उनले बताए।
बाहिरी कारणमा नेपालमा प्रवेश गर्ने पश्चिमी बायुले ल्याउने दुषित हावाले पनि नेपालमा प्रदुषण बढाएको छ। रेग्मीका अनुसार, पश्चिमी वायुमार्फत पाकिस्तान र भारतको ‘इण्डो ग्यांगेटिक प्लेन’ बाट नेपालमा दुषित हावा छिर्दा यहाँको वायु पनि दुषित हुन पुगेको हो।
‘नेपालभित्र र बाहिरबाट आउने हावामा २.५ माइक्रोन भन्दा कम आकारको मसिना कण हुन्छन्, जुन हामीले सास फेर्दा सिधै फोक्सोमा पुग्न सक्छन्’, रेग्मीले भने, ‘त्यसले स्वास्थ्यमा समस्या त ल्याउने नै भयो, भिजिविलिटी पनि घटाउँछ।’
धुलोका कणको आकार अनुसार १० माइक्रोन भन्दा ठूला कणहरु चिसो हुने वित्तिकै जमिनमा झर्ने गरेपनि धुँवामा हुने तीभन्दा साना कण हावामै बसिरहने उनले बताए।
‘यसलाई कि त बर्षाको पानीले बगाउनुपर्छ, कि त ठुलो हावाले अन्त लैजान्छ, नत्र हावामै बसिरहन्छ,’ उनले भने।
यस्तो दुषित हावामा श्वास फेर्दा नाक चिलाउने, आँखा पोल्ने जस्ता तत्कालिन ‘एलर्जीक’ प्रकृतिका लक्षण देखिएपनि यसले श्वास– प्रश्वास र फोक्सोमा समस्या ल्याउने रेग्मीले बताए।
‘धुवाँको कण सबैभन्दा खतरनाक छ’, उनले भने, ‘यस्तोबेला सकेकम्म घरबाट बाहिर ननिस्कने र निस्कनै परे मास्क प्रयोग गर्दा यस्तो कण हाम्रो फोक्सोमा पुग्न सक्दैन।’