२०७३ सालको कुरा हो। दैलेखको सदरमुकामभन्दा ८ किलोमिटर तल चुप्रामा रहेको प्रहरी चौकीमा सरकारी पोशाक लगाएका एक जना पातलो जिउडाल भएका मानिस पुगे। ड्युटीमा भएका प्रहरीलाई आफू दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी भनेर परिचय दिए।
प्रहरीले उनलाई ‘जय नेपाल सर’ भनेर स्वागत गरे।
आफ्नो सहायक सिडिओका रूपमा भर्खरै सरूवा भएको र आफूसँग दैलेखसम्म जानका लागि सवारी साधन नभएको बताएपछि प्रहरीले नै आफ्नो मोटरसाइकलमा चढाएर सदरमुकाम पुर्याइदिए।
सदरमुकाम पुगेपछि उनले त्यहाँका केही सरकारी कार्यालयहरूमा पुगेर पनि आफू सहायक प्रमुख जिल्ला अधिकारी भनेर परिचय गराए। बैठक तथा कार्यक्रममा पनि उनी सहभागी भए। कतिपय कार्यालय प्रमुखहरूलाई धम्काए पनि।
महिला विकास कार्यालयको एउटा बैठकमा सहायक सिडिओकै हैसियतमा उनी सहभागी भए।
उक्त कार्यक्रममा मन्तव्य राख्दै उनले कर्मचारीहरूलाई निर्देशन समेत दिए। बजारको होटलहरूमा पनि उनले आफू सहायक प्रमुख जिल्ला अधिकारी भएको भन्दै नियमानुसार चल्न भन्न थाले।
दैलेख गएको एक साताभित्र उनी पक्राउ परे। उनी थिए जाजरकोटको छेडागाड नगरपालिका–२ (साविकको साल्मा गाविस–९) डेड्कुलाका दीपक बुढा। उनी त्यसबेला नक्कली सहायक सिडिओ बनेर दैलेख गएका थिए।
तिनै दीपक बुढा अहिले फेरि सरकारी अधिकारीको नक्कली परिचयपत्र बनाएर ठगी धन्दा गरिरहेको आरोपमा पक्राउ परेका छन्। यही चैत ५ गते सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनीसँग नेपालमै नभएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको परिचय पत्र थियो।
परिचय पत्रमा उनले नागुनाथ गाउँपालिका हुम्लाको प्रमुख प्रशासकीय अधिकृत उल्लेख गरेका छन्।
त्यतिबेला (२०७३ मा) दैलेखमा लुकबहादुर क्षेत्री प्रमुख जिल्ला अधिकारी थिए। उनका अनुसार नक्कली सप्रजिअ बनेर गएका बुढालाई दैलेखमा सार्वजनिक मुद्दा चलाइएको थियो। उनलाई पक्राउ गरिएको केही दिनपछि धरौटीमा छोडिएको क्षेत्रीले बताए।
‘त्यो मान्छे चुप्राको प्रहरीकहाँ गएर पनि आफू सहायक सिडिओ हुँ भनेछ, प्रहरीले पनि पत्याएछ। प्रहरीले नै दैलेख पुर्याइदिएछ,’ तत्कालीन प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, ‘उनी दैलेख पुगेर महिला विकास कार्यालयमा गएछन्, कार्यालयले पनि स्वागत गरेर चिया खुवाएछ। कर्मचारीलाई निर्देशन पनि उनले दिएछन्।’
उनका अनुसार नक्कली सहायक सिडिओ बनेका बुढा त्यसपछि दैलेखको दुल्लु गए। दुल्लुमा ईलाका प्रशासन कार्यालय छ। त्यहाँ गएर उनले आफू तत्काल जिल्लामा सहायक सिडिओ रहेको र केही समयपछि त्यही ईलाका प्रशासन कार्यालयमा प्रमुख भएर आउने कुरा त्यहाँका प्रमुखलाई सुनाएछन्।
‘ईलाकाका हाकिमले मलाई यस्तो कुरा आएको छ भनेर फोन गर्नुभयो, मैले त्यस्तो कुरा त केही आएको छैन त भनेर उहाँलाई भनेँ,’ क्षेत्रीले भने, ‘एक रात दुल्लुको एउटा होटलमा बसेर ती मान्छे फेरि सदरमुकाम आएछन्।
सदरमुकाममा पनि होटलमा बसेछन्। प्लस टु पढ्दै गरेकी एउटा केटीलाई होटलमै बोलाएर राखेछन्। त्यहाँबाट उनी नक्कली सहायक सिडिओ भन्ने थाहा भयो। हामीले पक्राउ गरेका थियौं।’
उनले थप भने, ‘उनको बुवा आएर पनि उसको मानसिक अवस्था ठिक छैन भनेर भन्नुभयो, हामीले उनलाई धरौटीमा छोडेका थियौं।’
उनी त्यही आफू बसेको होटलका सञ्चालकलाई धम्क्याइरहेको अवस्थामा फेला परेका थिए। त्यतिबेला उनलाई पक्राउ गर्न गएको सादा पोशाकसहितको प्रहरीलाई समेत बुढाले ‘म यहाँको सहायक प्रमुख जिल्ला अधिकारी हुँ, तिमीहरूलाई ठेगान लगाउँछु’ भनेर धम्काएका थिए।
त्यसबेला बुढाले लामो समयसम्म जिल्लामा सहायक सिडिओ नभएको थाहा पाएपछि आफू नक्कली सहायक सिडिओ बनेर आएको बयान प्रहरीलाई दिएका थिए।
‘त्यतिबेला ती मान्छेले त्यहाँ अरू पनि धेरै फटाहा काम गरेको भन्ने थियो,’ २०७३ मा दैलेख जिल्लाका प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘सहायक सिडिओ हुँ भनेर पसलेहरूलाई धम्क्याउने, कर्मचारीलाई पनि निर्देशन दिने गरेका रहेछन्। हामीसँगको बयानमा त्यो भनेका थिए।’
२७ वर्षीय बुढालाई यो पटक प्रहरीले चैत ५ गते पक्राउ गरेर शुक्रबार महानगरीय अपराध महाशाखामा अड्डासार गरी पठाइसकेको छ।
महाशाखामा परेको नेत्रकुमारी बोहोराको जाहेरीका आधारमा बुढालाई पक्राउ गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पत्र पठाएको थियो।
‘म कुनै सरकारी अधिकारी हुँ भनेर उनले ठगी गरेको देखियो, कति जनालाई के-केमा ठगी भयो भन्ने कुरा हामीसँग छैन,’ जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘हामीसँग कुरा गर्दा त उनले आफूले यस्तो धेरै ठाउँमा गएर काम गरिसकेको बताएका थिए।’
प्रहरीसँग उनले विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, विभिन्न जिल्लाको सहायक सिडिओको रूपमा नक्कली परिचयपत्र बनाएर पुगेको बताएको प्रहरी निरीक्षक शाहीले बताए।
‘उसले त सोलुखुम्बु, ईलाम, सल्यान, सुर्खेत लगायतका धेरै ठाउँमा 'सहायक सिडिओ हुँ' भन्दै आफू हिँडेको बताएको छ,’ प्रदेश प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकले भने।
चैत ५ गते (बिहीबार) पक्राउ परेको बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।