भक्तपुरका प्रेमलाल शिल्पकार बिस्काः (बिस्केट जात्रा) को रथ बनाउने काममा सहभागी भएको झन्डै आधा शताब्दी भयो। ६० वर्षीय प्रेमलाल अहिले रथका नाइके हुन्।
फागुन २१ देखि उनकै नेतृत्वमा पाँच तले मन्दिर (न्यातपोल) मा यो वर्षका लागि रथ निर्माण भइरहेको छ।
केही दिनअघि भेट हुँदा आफू सानो छँदा रथ निर्माणमा सहभागी भएको क्षण सम्झँदै उनले भने, 'रथ बनाउने काममा लाग्दा म ११ वर्षको थिएँ। बुवा, हजुरबुवाहरू काम गरिरहँदा म उहाँहरूलाई तमाखु भरिदिने काम गर्थेँ। ज्याला त पाइन्थेन, उहाँहरूले नै केही पैसा दिनुहुन्थ्यो।'
यी पाँच दशकमा उनका बुवा, हजुरबुवा बितिसके। उनकै भूमिका पनि रथ निर्माणको सहयोगीबाट नाइकेमा परिणत भइसक्यो। नाइके भएपछि निर्माणका सबै गतिविधि नियाल्नुपर्छ उनले। काम गर्दा अलमलमा परेकालाई बाटो देखाइदिनुपर्छ।
'चैत २५ गतेभित्र काम सकेर रथ जोडिसक्नुपर्ने छ,' कामकै हतारोबीच हामीसँग कुराकानी गर्दै भने, 'पोहोर लकडाउन भयो, जात्रा चलेन। कोरोनाको डरले हामीले रथधरि बनाउन पाएका थिएनौं। यसपालि पनि जात्रा चल्छ कि चल्दैन थाहा छैन। कसैले चल्छ भनेका छन्, कसैले चल्दैन। जे भए पनि आफ्नो जिम्मेवारी हो, बनाउनु त पर्यो नि।'
अहिले रथका पाटपुर्जामा काम भइरहेको हो। रथको चक्कामाथि दायाँबायाँ हुने 'कासी', अगाडि भगवान राखिने लामो काठ 'बेतासी' मा बुट्टा कुँद्ने, बीचमा रहने 'औंसी' र 'गलः' भनिने रथको चार थामहरू नयाँ राख्ने काम भइरहेको छ।
त्यसका लागि सान्दान भनिने काठ बाराबाट र अग्राख, चिलाउनेको काठ सूर्यविनायक र राधेराधेबाट ल्याइएको छ।
'चिलाउनेको रूखलाई नेपाल भाषामा 'गेयछासी' पनि भनिन्छ। त्यो भनेको काठको राजा हो,' प्रेमलालले भने, 'त्यो एकदम बलियो काठ हो। काठ सुकेपछि न करौंतीले छुन्छ, न ज्यावलले। त्यस्तो बलियो हुने भएकाले पुरानो घरको छानामा त यो काठ एक टुक्रा भए पनि राख्नैपर्छ भन्ने मान्यता छ।'
अघिल्लो वर्ष नै त्यो रूख काटेर यहाँ ल्याइएको हो। त्यसैले केही भाग सुक्दै गएको छ। सुकेको चिलाउनेमा बुट्टा कुँद्न साह्रो भएकाले पानी हाल्दै बनाउन परेको उनले बताए।
रथको छाना भने पोहोर मात्र फेरिएको हो। त्यसैलाई अहिले मर्मत गरिरहेका छन्। यहाँ प्रयोग भएका कुनै कुनै काठ त करिब ६०–७० वर्ष पुरानो पनि रहेको प्रेमलाल बताउँछन्।
'काठ उत्तिकै बलियो छ, केही भएको छैन। त्यही भएर हामीले फालेका छैनौं,' उनले भने, 'त्यसैलाई केही मर्मत गरेर प्रयोग गरिरहेका छौं।'
पहिले काठ जोड्न परम्परागत प्रविधि नै अपनाइन्थ्यो। अचेल भने कतैकतै किल्ला पनि प्रयोग गरिन थालिएको रहेछ। रथले विभिन्न टोलको यात्रा गर्छ। आफ्नो टोलमा लग्न तानातानै हुने भएकाले यसलाई भूकम्प प्रतिरोधी शैलीमा जोडिएको हुने प्रेमलालले बताए।
रथका पाटपुर्जा जोड्ने काम दुई–चार दिनमा सुरू हुँदैछ। त्यसपछि २५ गतेसम्ममा दैनिकजसो भोज हुन्छ। बोका, राँगो, हाँस लगायत काटेर रथको काममा सहभागी हुने मानन्धर, कपाली, शिल्पकार लगायत विभिन्न समुदायका मान्छेलाई भोज खुवाइन्छ। यी सबै गतिविधि सञ्चालन निम्ति गुठी संस्थानले पैसा दिन्छ। तर गुठीयारहरूले रकम अपुग भएको बताउँदै आएका छन्।
प्रेमलाललाई पनि रथको नाइके भएकाले मासिक तलब गुठीबाट आउँछ। तर कति रकम हो भन्न उनी लाज मान्छन्।
'महिनाको जम्मा ६७ रूपैयाँ ५० पैसा छ, भन्नै लाज लाग्ने। मैले त तलब नलिएको धेरै भइसक्यो। एक वर्षको आठ सय रूपैयाँ तलब लिन के जानु?' उनले भने, 'त्यो तलब पनि चेकमा दिन्छ। एक घन्टा बैंकमा लाइन बस्नुपर्यो। त्यो समयसम्म बरू अन्तै काममा गयो भने दुई हजारदेखि २५ सयसम्म कमाइन्छ। आठ सयको लागि उताको २५ सय छाड्ने कुरा पनि आउँदैन।'
बाँकी समय उनी ज्यालामा अरू काम गर्छन्। त्यस कारण गुठीको पैसा लिन नगएकै ठिक लाग्छ उनलाई।
तर पनि आफ्नो कमाइको समय यो काममा किन लगाइरहेका छन् त?
'भगवानको काम भनेर नि,' उनी सजिलै जवाफ दिन्छन्, 'रथको काम गर्ने मान्छे भनेर इज्जत पनि हुने अनि समाजका गन्ने मान्छेले पनि सम्मान गर्नुहुन्छ।'
आफ्ना लागिभन्दा बढी आफ्नो तीन पुस्तादेखि गरिआएको कामलाई निरन्तरता दिनुपर्ने उनी ठान्छन्। त्यही क्रम निरन्तरता दिन उनका छोराले पनि सघाउन थालेका छन्।
तर उनको पुस्ताभन्दा धेरै पुरानो छ यो रथसँग जोडिएको जात्रा।
बिस्काः भक्तपुरको मूल जात्रा मात्र होइन, लिच्छविकालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्काःमा ठड्याइने यःसि (लिंगो) लाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लिइन्छ।
आठ रात, नौ दिनको जात्रा अन्तर्गत रथ यात्रा, जिब्रो छेड्ने लगायत विभिन्न उत्सव भए पनि लिंगो ठ्डयाउने र ढाल्ने मूल परम्परा हो। यो नयाँ वर्षको अघिल्लो दिन ठड्याइन्छ भने वैशाख १ गते ढालिन्छ।
बिस्काः जात्रा चैत २७ गतेबाट सुरू हुन्छ। भैरवनाथको मूर्ति र बेताल देवतालाई टौमढीस्थित न्यातपोल मन्दिर प्रांगणको तीनतले भैल खः (भैरवको रथ) मा स्थापना गरेपछि विधिवत जात्रा सुरू हुन्छ। त्यसबीच 'होस्टे हैंसे' गर्दै रथलाई आ–आफ्नो टोलमा लग्ने प्रतिस्पर्धा चल्छ।
प्यागोडा शैलीको तीनतले रथ तानातान गरेको दृश्य यो जात्राको केन्द्रविन्दुमा रहन्छ। भैरवकै वहान मानिने बेतालको रथ अगाडि हुन्छ। करिब ३० वर्षपछि दाता नारायणप्रसाद खाइजूले यसको पुनः निर्माण गरेका थिए। पुरानो बेताल रथ इनाचोको घरमा ठोक्किएर बिग्रिएको थियो। भैरवका नाइकेहरूले खाइजूलाई बनाउने जिम्मा दिए र दुई वर्षअघि उनले बनाए।
बेताललाई मानन्धर समुदायको सानो बालकका रूपमा पनि लिइन्छ। त्यसैले यसलाई सानो बालककै स्वरूपमा बनाइन्छ। बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन्।
किम्बदन्तीअनुसार पाँचतले मन्दिर नजिकैको पुः बहाः (पुजारीको बहाल) मा बेतालले उपद्रो गरेर दुःख दिन्थ्यो। ढोकाबाट नपसेर झ्यालबाट पस्थ्यो। पकाइरहेको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेका मान्छेको गालामा हान्थ्यो। भैरवका लागि भने उसले राम्रो काम गर्थ्यो।
भैरवको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ। पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्याएछ। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ। पाँचतले मन्दिरको गजुरसमेत बेतालले हालेको विश्वास गरिन्छ।
त्यही भएर बिस्काःभरि बाटोमा उट्पट्याङ गर्ने बच्चा देखियो भने उसलाई भक्तपुरबासी कसैले गाली गर्दैनन्। त्यो बच्चा भैरवकै वहान बेताल हुनसक्छ भन्ने उनीहरू ठान्छन्।
बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि हुन्छ। भ्रदकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ।
कथाअनुसार एकपटक भैरव र भद्रकालीको झगडा पर्छ। भैरवले श्रीमतीलाई फकाएपछि गाःहितिमा उनीहरूको समागम हुन्छ। त्यसैको प्रतीकका रूपमा बिस्काः बेला दुई रथ जुधाउने चलन छ।
लिच्छविकालमा सुरू भएको जात्रालाई मल्ल राजाहरू विश्व, जगज्योर्ति, रणजित लगायतले थप परिस्कृत गर्दै अहिलेको स्वरूपमा ल्याएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। यही क्रममा करिब १६ औं शताब्दीतिर मनोरञ्जनका रूपमा रथ यात्रा थपिएको उनको भनाइ छ।
धौभडेलका अनुसार सुरूमा रथ एकतले थियो। भूपतिन्द्र मल्लको पालामा तीनतले रथ विकसित भयो। उनैले बिस्काः सँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाउने चलन चलाए।
बिस्काः 'बि स्यात ख्यात' भन्ने शब्दबाट आएको हो। यसको अर्थ हो, सर्प मारेर झुन्ड्याउने।
बिस्काःको लिंगोमा झुन्ड्याइने ध्वजा त्यसैको रूप भएको धौभडेल बताउँछन्। सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले लिंगो ठ्ड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधिन्छ र अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर लिंगो उठाउने चलन छ।
कम्तीमा दुई हजार वर्षदेखि चलिआएको यो जात्राले अघिल्लो वर्ष कोरोना भाइरसलाई जित्न सकेन। मान्छेको भीडभाडमा संक्रमण जोखिम बढ्ने भएकाले यहाँ लिंगो ठड्याइएन, रथ तानिएन। बरू केही साना केटाकेटीले बाँसको लिंगो ठड्याएर बिस्काःको सम्झना मेटे। केहीले कृत्रिम रथ पनि गुडाए। कतिपयले सामाजिक सञ्जालमा पुराना तस्बिर र भिडिओ हालेर चित्त बुझाए।
करिब चार सय वर्षअघि पजि काठमाडौंका राजा प्रताप मल्लले बिस्काःकै समय पारेर भक्तपुरमा आक्रमण गर्दा जात्रा रोकिएको थियो। त्यो बेला प्रताप मल्लका सेना आएर यःसिं उठाउन नपाइने भन्दै घेराबन्दी गरेका थिए। टौमडीबाट रथ तानिए पनि ल्योसिङ्खेलसम्म पुगेन।
त्यो बेला रथयात्रा भएको थिएन। तर अघिल्लो वर्ष त रथ नै बनेन।
त्यस्तै, अर्को एकपटक पनि प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरेको धौभडेल बताउँछन्। जात्रै नहुने छाँट देखेपछि स्थानीय दुखी भएका थिए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको किम्बदन्ती छ।
बिस्काःलाई राजनीतिक उत्सवका रूपमा पनि लिइन्छ। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा मनाइने यो जात्रा सत्ता परिवर्तनको उत्सव भएको उनी बताउँछन्।
यसको अर्को पनि राजनीतिक सम्बन्ध छ।
'भक्तपुर पहिले नेपालकै राजधानी थियो। यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनाए। त्यसपछि इलाका सानो हुँदै गयो,' धौभडेलले भने, 'भुवन मल्लले राज्य आफ्नो अधीनमा राख्न बिस्काः जात्रालाई अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे।'
त्यही भएर साँखु, तौमडी, बोडे लगायत ठाउँमा पनि बिस्काः मनाउने चलन छ। ती ठाउँमा पनि अघिल्लो वर्ष कोरोना कहरले जात्रा भएन।
यो वर्ष पनि रथ यात्रा हुने/नहुने टुंगो छैन। जिल्ला प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेको छ।
'कोरोनाको जोखिम ह्वात्तै बढेको छ, त्यसैले धेरै भिडभाड हुने जात्रा-पर्वलाई औपचारिकतामा जतिसक्दो कम मान्छेको उपस्थितिमा कसरी गर्न सकिन्छ भन्नेबारे स्थानीय तह र गृह मन्त्रालयसँग छलफल गर्छौं,' प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, 'कसरी जात्रा-पर्व गर्ने भन्नेबारे छलफल गरेर मन्त्रालयको निर्णयअनुसार अगाडि बढौं।'
त्यहाँबाट निर्णय आइसक्नुअघि रथ त बनिसक्छ होला। रथका नाइके प्रेमलाल शिल्पकार भन्छन्, 'पहिलेजस्तो काम रोक नै भन्न कोही आएका छैनन्। त्यही भएर रथयात्रा भए पनि नभए पनि आफ्नो जिम्मेवारी ठानेर रथ बनाइरहेका छौं।'