सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म 'थ्री इडियट्स' मा अभिनेता आमिर खानले एक यस्ता वैज्ञानिकको भूमिका गरेका थिए, जसका नाममा चार सयभन्दा बढी पेटेन्ट दर्ता छ। संसारभरका बहुराष्ट्रिय कम्पनी उनको पछि लागेका छन्।
ती वैज्ञानिक भने सहरको चकाचौंध र नाम-दामबाट टाढा लद्दाखको दुरदराज गाउँमा केटाकेटीहरूको निम्ति स्कुल चलाइरहेका छन्।
उनको स्कुल आमस्कुलभन्दा फरक छ। त्यहाँ किताबी पाठ घोकाइँदैन, बरू विद्यार्थीहरूको दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा दिइन्छ। उनको स्कुलमा अन्तरिक्ष सुट लगाएका विद्यार्थी यस्तरी हिँडिरहेका हुन्छन्, मानौं चन्द्रमाको सयर गर्दै छन्। साइकलको प्याडल चलाएर उनीहरू भेँडाको ऊन कात्छन्। स्कुटरको इञ्जिनबाट मकै पिस्छन्। र, स्कुल परिसरभित्र 'मूत्र विसर्जन' गर्नेलाई करेन्टको झट्का दिन पनि उनीहरू माहिर छन्।
फुङसुक वाङ्डू नामका ती वैज्ञानिकको चरित्र वास्तविक जीवनमा आधारित छ। उनी हुन् लद्दाखका सोनाम वाङचुक, जो इञ्जिनियर भएर पनि फिल्ममा देखाइएजस्तै लद्दाखको हिमाली गाउँमा स्कुल चलाएर बसेका छन्।
सन् २०१८ मा म्यागासेसे पुरस्कार जितेका उनै सोनाम वाङचुक सोमबार नेपालका म्यागासेसे विजेता महावीर पुनसँग देखिए।उनी कीर्तिपुरस्थित महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र भ्रमणमा आएका थिए।
पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे, 'आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख, भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो। उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री इडियट्स भन्ने आमिर खान हिरो भएको फिल्म धेरैले हेर्नुभयो होला। सो फिल्म उहाँको जीवनमा आधारित थियो। अब उहाँसँग सहकार्य गरिन्छ।'
पुनले सार्वजनिक गरेको २१ सेकेन्डको भिडिओमा वाङचुकले भनेका छन्, 'हाम्रो लागि आविष्कार न्यूयोर्कबाट आउँदैन, न्यूदिल्लीबाट आउँदैन, हामीले नै गर्नुपर्छ, पहाडहरूको सन्दर्भ हेरेर।'
यसै सन्दर्भमा हामीले सोनामको भ्रमण र उनीसँगको सहकार्यबारे महावीर पुनसँग कुराकानी गर्यौं।
वाङचुकसँग उनको पहिलेदेखि चिनजान थिएन। उनी पुनको निम्तोमा नेपाल आएका पनि होइन रहेछ। अर्कै कार्यक्रमका लागि नेपाल आएको मौका पारेर वाङचुकले आफूजस्तै म्यागासेसे विजेता पुनसँग सम्पर्क गरेका रहेछन्।
'उहाँले मेरो मोबाइलमा फोन गर्नुभयो र हाम्रो राष्ट्रिय आविष्कार केन्द्र आउँछु भन्नुभयो,' पुनले सेतोपाटीसँग भने, 'हामीले उहाँलाई आविष्कार केन्द्र भ्रमण गरायौं।'
झन्डै एक घन्टा केन्द्रमा बिताएका वाङचुकले आफू मिलेर काम गर्न तयार रहेको बताएका छन्।
'हिमाली भेगमा कृषिको उन्नति र शिक्षामा प्राविधिक प्रयोगबारे हाम्रो कुराकानी भयो,' पुनले भने, 'वाङचुङले लद्दाखमा गर्दै आएको काम नेपालका डोल्पा, मुस्ताङजस्ता हिमाली क्षेत्रमा प्रयोग गर्न सकिन्छ।'
उनले अगाडि भने, 'लद्दाख र हाम्रो डोल्पाको उचाइ लगभग मिल्छ। त्यसैले त्यो ज्ञान हाम्रो हिमाली र पहाडी भेगमा निकै उपयोगी हुनसक्छ। कति लिने भन्ने हामीमा भरपर्छ।'
वाङचुकसँग अनुभव आदानप्रदान र अन्तर्क्रियाको सार सुनाउँदै पुनले स्थानीय समस्या स्थानीय आफैंले समाधान गर्नुपर्ने बताए।
'हाम्रो विकासको आवश्यकता के हो भन्ने बाहिरका मान्छेले बुझ्दैनन् र बाहिरका मान्छे आएर त्यसलाई पूरा पनि गर्दैनन्,' उनले भने, 'हामीले आफ्नो आवश्यकता आफैं पहिल्याउनुपर्छ र त्यसलाई आफैं पूरा गर्नुपर्छ।'
'मैले अर्कोपटक काठमाडौं आउँदा हामीकहाँ पस्नुस् भनेको छु। उहाँलाई आफैं निम्तो दिएर बोलाउन हामीसँग खर्च गर्ने क्षमता छैन,' पुनले भने।
पेसाले मेकानिकल इञ्जिनियर वाङचुकले लद्दाखको शिक्षा र कृषि क्षेत्रमा वैकल्पिक इञ्जिनियरिङ प्रयोग गर्दै आएका छन्। भारतको विद्यालयस्तरीय परीक्षामा भाषाका कारण ९५ प्रतिशतसम्म विद्यार्थी फेल हुन थालेपछि वैकल्पिक विद्यालय स्थापना गरेको वाङचुकको भनाइ छ।
उनले 'दी स्टुडेन्ट्स एजुकेसनल एन्ड कल्चरल मुभमेन्ट अफ लद्दाख' मा स्थानीय विद्यार्थीहरूलाई वैकल्पिक तरिकाबाट सिकाउने गरेका छन्, जसका लागि उनलाई 'एसियाको नोबल पुरस्कार' भनिने म्यागासेसे दिइएको थियो।
उनले उच्च हिमाली क्षेत्रमा गर्मी मौसममा हुने पानी अभाव चिर्न 'आइस स्तुप' निर्माण गरेका छन्। पानीलाई राति चिसोमा जमाएर राख्ने यो तरिका हिमाली क्षेत्रको जीवन परिवर्तनका लागि महत्वपूर्ण साबित भएको छ।
पछिल्लोपटक उनले भारतीय सेनाका लागि बनाएको सोलार हिटेड टेन्ट पनि चर्चामा छ। भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव बढेका बेला सैनिकहरूलाई चिसोबाट जोगाउन उनले उक्त टेन्ट बनाएका हुन्। रातको समय तापक्रम माइनस डिग्रीमा झर्ने लद्दाखमा सोलार हिटेड टेन्डले सेनालाई ठूलो राहत दिएको छ।
दैनिक व्यवहारमा विज्ञानको प्रयोगलाई बढावा दिने र त्यसबारे ज्ञान बाँड्ने वाङचुक शैलीबाटै 'थ्री इडियट्स' का फुङसुक वाङ्डू चरित्र विकास भएको हो।
वाङचुक आफैंले भने उक्त पात्र आफ्नो जीवनमा आधारित भएको अस्वीकार गर्दै आएका छन्।
उनले एक कार्यक्रममा उक्त चरित्र कसरी विकास भयो भन्नेबारे एउटा घटना सुनाएका थिए। सन् २००८ मा 'सिएनएन-आइबिएन' ले उनलाई रियल हिरोको अवार्ड दिएको थियो। उक्त अवार्ड थाप्न मुम्बई जाँदा आमिर खानसँग उनको भेट भयो। त्यति बेला उनले लद्दाख क्षेत्रमा बरफको टुक्राका लागि भारत र पाकिस्तानबीच हुँदै आएको युद्धमाथि फिल्म बनाउन फिल्मकर्मीहरूसँग आग्रह गरेका थिए।
'हामीलाई सानैदेखि सिकाइन्छ, देशको निम्ति ज्यान दिनुपर्छ। ज्यान दिएको त हामीले लद्दाखमा धेरै देख्यौं, जहाँ हिन्दुस्तान र पाकिस्तानका धेरै आमाले आफ्ना सन्तान गुमाइसके। मलाई लाग्छ, यो देशलाई ज्यान दिनेहरूको होइन, जिन्दगी दिनेहरूको खाँचो छ,' उनले भनेका थिए, 'यो कुरालाई सिनेमामार्फत् देखाउन सकिन्छ।'
त्यही कार्यक्रममा वाङचुकले लद्दाखमा गर्दै आएको कामबारे वृत्तचित्रसमेत देखाइएको थियो।
थ्री इडियट्समा देखाइएको फुङसुक वाङ्डूको चरित्र त्यही वृत्तचित्रका आधारमा तयार पारिएको हुनसक्छ। यो फिल्म वाङचुकको स्कुलमा सुटिङ गर्न खोजिएको थियो। तर उनीहरूले अनुमति नदिएको वाङचुकले बताएका थिए।
उनले भनेका थिए, 'म फिल्मको जीवन बाँच्न चाहन्न। हामीकहाँ बलिउड र क्रिकेटलाई अत्यधिक महत्व दिइन्छ। हामी आफ्नो जित पनि फिल्ममा हेर्न चाहन्छौं। आविष्कार पनि फिल्ममै गर्न चाहन्छौं। जबकि, यसको खाँचो हाम्रो वास्तविक जीवनमा छ। मसँग फिल्म वरिपरि घुम्नलाई समय पनि छैन।'
यिनै वाङचुङको हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभसँग द्विपक्षीय समझदारीमा हस्ताक्षर गरेर अगाडि बढ्ने कुरा भइरहेको पुनले जानकारी दिए।
'आ-आफ्ना कुरा सेयर गरेर अगाडि बढ्ने गरी समझदारी गर्दैछौं,' पुनले भने, 'यसले एकअर्काको सिकाइ र बुझाइ आदानप्रदान गरेर काम गर्न सजिलो हुन्छ। हामी दुवै हिमाली र पहाडी भेगमा काम गरिरहेकाले एकअर्काको अनुभव काम लाग्छ।'
पुनले २०७६ सालदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन्। कोरोना महामारी बेला उनले पिसिआर गर्न स्वाब संकलन बुथ निर्माण गरेका थिए, जसलाई नेपाली सेनाले समेत प्रयोग गरेको थियो। केन्द्रले एम्बुलेन्स चालकहरूलाई सित्तैमा पिपिई सेट उपलब्ध गराएको थियो।
त्यस्तै, केन्द्रले भर्खरै जन्मिएको बच्चालाई न्यानो दिन प्रयोग हुने 'बेबी वार्मर' समेत तयार पारेको थियो। उक्त वार्मर केन्द्रले विभिन्न स्वास्थ्य चौकीमा पठाएको छ।