बुधबार बिहान ठमेलको 'एस्ट्रेकमा वाल क्लाइम्बिङ'को माहोल सधैंभन्दा भिन्न थियो। एक हुल दृष्टिविहीन पहिलो पटक वाल क्लाइम्बिङ गर्न आतुर थिए।
२० देखि ३० वर्ष उमेर समूहका १५ जना दृष्टिविहीन युवालाई वाल क्लाइम्बिङ गराउन दृष्टिविहीन अभियन्ता सृष्टि केसी उत्साहित थिइन्।
सबै सहभागीलाई वाल क्लाइम्बिङका लागि प्रोत्साहित गर्दै उनले भनिन्, 'वान, टु, थ्री गो...ब्लाइन्ड रक्स!'
'ब्लाइन्ड रक्स' संस्थाकी सृष्टिले यति भनिनसक्दै वाल क्लाइम्बिङ अनुभव सँगाल्न सम्झना रिजाल, संजिया श्रेष्ठ र रोजिना पोखरेल तयार भए। उनीहरूले सहयोगीका साथमा वाल क्लाइम्बिङ गर्ने जुत्ता लगाए र कम्मरमा बेल्ट कसे।
पहिलो पटक भित्तामा चढ्न विभिन्न आकारका ढुंगामा हात र खुट्टाले छामछुम गर्दै चढ्ने क्रममा सम्झना रिजाल अरूभन्दा छिटो भइन्। उनी केही बेरमै छामछाम छुमछुम गर्दै डोरीको सहारामा लमकलमक भित्तामाथि उक्लिन थालिन्। उनी माथि पुगिसक्दा उनलाई पछ्याउने साथीहरू निकै तलै परे।
'कम अन सम्झना यु क्यान डु इट...' तल बसिरहेका उनका साथीहरू सम्झनाको हौसला र उत्साह बढाउन भनिरहेका थिए।
साथीहरूको हुटिङले सम्झनाको गति अझै बढायो। उनी जीवनकै पहिलो प्रयासमै करिब तीन तले घर हाराहारीको अग्लो भित्ताको टुप्पामा पुगिन्। सबैले ताली बजाएर सम्झनाको सफलताको खुसी साटे।
डोरीको भरमा बिस्तारै तल झरेलगत्तै सम्झनाले भनिन्, 'मलाई त अझै केहीबेर माथि चढिरहन पाए हुन्थ्यो जस्तो लागेको थियो।'
वाल क्लाइम्बिङअघि सम्झनालाई यो खेल गाह्रो होला भन्ने लागेको रहेछ। उनले भनिन्, 'अलि गाह्रो होला भनेको सजिलै भयो। सर्ट एन्ड स्वीट अनुभव भयो। पहिलो वाल क्लाइम्बर्स बनेकामा खुसी छु।'
२२ वर्षीया सम्झनाको मनमा वाल क्लाइम्बिङ गर्ने कुरा सुनेदेखि नै के होला, कस्तो होला भनेर खुल्दुली चलेको रहेछ। उनको हुटहुटी मेटिइसक्दा पनि उनका साथीहरू अझै वाल क्लाइम्बिङ गर्न संघर्षरत थिए।
उनले भनिन्, 'एकै पटकमा चढेँ। पहिलो भएकाले पनि रमाइलो लागिरहेछ।'
पत्रकारितामा स्नातक गरेकी सम्झनामा अवसर पाए जे पनि गर्न चाहने र जे पनि गर्न सक्ने आत्मविश्वास छ। यही कारण उनी यस्ता अतिरिक्त गतिविधिमा संलग्न हुँदै आएकी छन्।
दृष्टिविहीनहरूको सौन्दर्य प्रतियोगिता 'मिस ब्लाइन्ड रकर्स' की फस्ट रनर अप उनले प्याराग्लाइडिङ, हाइकिङ, र्याफ्टिङ गरिसकेकी छन्।
'हामीलाई कसैले गाइड गरे हामी पनि अरूजस्तै एडभेन्चरस गतिविधिमा सहभागी हुन सक्छौं। अरूजस्तै रमाउँछौं,' उनले भनिन्।
दृष्टिविहीनले पनि अरूसरह सबै काम गर्न सक्ने र गर्न पाउनुपर्ने सोचकै कारण यो कार्यक्रम आयोजना गरेको ब्लाइन्ड रक्सकी संस्थापक सृष्टिले बताइन्।
सम्झनाका अनुसार दृष्टिविहीन भएकै कारण उनले सानैदेखि घरबाहिर हुने गतिविधिमा सहभागी हुने अवसर गुमाइन्। एक पटक विद्यालयका अरू साथीहरू पिकनिक जाँदा उनलाई भने नर्सरीका केटाकेटीसँग त्रिभुवन पार्क घुम्न लगिएको थियो।
'अतिरिक्त र रोमाञ्चक गतिविधिले हाम्रो हौसला बढाउँछ। तर हामी धेरैजसो घरभित्रै खुम्चिएर बस्न बाध्य हुन्छौं। वाल क्लाइम्बिङमा आएर एकदमै रिफ्रेस्ड महसुस गरिरहेकी छु। कहिलेदेखि यस्तै मौका कुरेर बसिरहेकी थिएँ। वाल क्लाइम्बिङ कति छिट्टै सकिएझैं भएको छ,' उनले भनिन्।
वाल क्लाइम्बिङ गरेपछि सम्झनाको एउटा रहर त पूरा भएको छ। तर मीठो स्वरमा गीत गाउने सम्झनाका अरू अनुभव पनि सँगाल्ने धोको छ। त्यसमा पनि बन्जी जम्पिङमा गर्ने रहर खुबै पालेकी छन्। यसबाहेक उनी क्रिकेट पनि सिक्न चाहन्छिन्।
सम्झना बुधबार वाल क्लाइम्बिङमा सहभागी दृष्टिविहीनहरूकी प्रतिनिधि हुन्। यहाँ आएका १५ युवा सबैको अनुहार र बोलीमा घर बाहिरको गतिविधिमा सहभागी हुन पाउँदाको खुसी देखिन्थ्यो। समाजले साहसिक र रोमाञ्चक मानेका गतिविधिमा आफूहरू पनि सरिक हुन पाए सबै जे पनि गर्न सक्ने उनीहरूले बताए।
यो कार्यक्रम आयोजना गर्न पहल गर्ने सृष्टि केसीले भनिन्, 'हेर्दा यो भेला सानो कुराजस्तो लाग्ला। तर यस्तै स-साना कामबाट हामी पनि सक्छौं भन्ने सन्देश फैलिने हो।'
सृष्टि विगत पाँच वर्षदेखि ब्लाइन्ड रक्स संस्था मार्फत यस्ता गतिविधिको नेतृत्व गर्दै आएकी छन्। सृष्टिका अनुसार सात वर्षअघि उनीलगायत १७ जना दृष्टिविहीन भोटेकोसी नदीमा र्याफ्टिङ गर्न गएका थिए।
उनले भनिन्, 'त्यो बेला सातमध्ये दुई डुंगा डुबेको थियो। तर उद्दार टोलीको सहयोग पाएकाले केही भएन। अनि मैले महशुस गरेँ, एड्भेन्चरमा जोखिम त छ तर यो खतरनाक कुरा हैन। हामीले पनि जोखिम मोलेर रमाइला अनुभव लिन सक्छौं।'
त्यसयता सृष्टिले देश-विदेशका धेरै यात्रामा दृष्टिविहीनले पनि गर्न सक्छन् र भनिने धेरै अनुभवहरू सँगाली सकिन्। वाल क्लाइम्बिङमा सृष्टिलाई सस्टेनएबल हिमालयकी शान्ता नेपालीले पनि साथ दिएकी थिइन्। सृष्टिले सस्टेनएबल हिमालयको सहयोगमा पनि विभिन्न एड्भेन्चरस यात्रा गरेकी छन्।
उनले भनिन्, 'हाइकिङ, स्किइङ, स्केटिङ, माउन्टेन ग्लाइड सबै गरेँ। मैलेजस्तै अरू दृष्टिविहीन साथीहरूले पनि यस्ता अनुभव लिने वातावरण बनाउन म सक्रिय छु।'
सृष्टिले वाल क्लाइम्बिङ त्यस्तै एड्भेन्चरस अनुभव सँगाल्ने प्रारम्भिक खुड्किलो भएको बताइन्। भनिन्, 'ब्लाइन्ड क्यान डु र ब्लाइन्ड सुड डु।'
उनका कुरा सुनेर उत्साहित हुँदै सम्झनाले थपिन्, 'ब्लाइन्ड रक्स!'