भूकम्पपछि बारपाक, लाप्राक कस्तो भयो होला? पुनर्निर्माण पश्चातका यी गाउँका तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेलाबखत छाइरहन्छन्। त्यही तस्वीर देखेर लमजुङका दूधपोखरी– २ बिचौरका शिक्षकको पनि आँखा लोभियो। ती गाउँ हेर्ने हुटहुटी पलायो।
स्थनीय बागेश्वरी माविका शिक्षक मिलेर शनिबार सवेरै बारपाक जाने योजना बनाए। ‘बिहानै जाने हो भने त बारपाक पुगेर फर्कन भ्याइन्छ, शनिबारको विदामा घुमघाम् गर्न जाम् भनेर हामी बारपाक र लाप्राक पुगेका थियौँ’, शिक्षक अमृत दवाडीले भने।
शिक्षकहरू घुम्न जाने योजना बनाए पनि सबै जना जान सकेनन्। विद्यालयमा अध्यापन गराउने ६ जना शिक्षक बारपाक जान तयार भए। उनीहरुको समूहमा दूधपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख शुशील नराल पनि जोडिए।
गोरखासँग सिमाना जोडिएको छ, बिचौर गाउँको। चेपे नदीले गोरखा र लमजुङको सिमाना छुट्याउँछ। बिचौरका मानिस अहिले पनि काठमाडौं लगायतका शहर जान परेमा वा किनमेल गर्न परेमा गोरखा जान्छन्। चेपे नदी तरेर देश–विदेश लाग्छन्।
विद्यालयका एक जना शिक्षक ठाकुर दवाडी यसअघि हिँडेर नै बारपाक पुगेका थिए। २०७२ सालको भूकम्पअघि नै बारपाक पुगेका उनले शनिबारको भ्रमणमा आफूले शुरुमा देखेको बारपाक सुनाए। ‘पहिले त ढुुङ्गाले छाएका घर एकै ठाउँमा झुरूप्प थिए, अहिले त आरसीसी घरले भरिएछन्’, ठाकुरले भनेका थिए।
बारपाकमा सामान्य खाजा खाएर ठाकुरले नै लाप्राकमा खाना बनाउन अनुरोध गरे। बारपाक घुमेर शिक्षक समूह एक घण्टामै लाप्राक पुग्यो। उनीहरुले फोटो खिचे र फर्किए। उनीहरुले बारपाक र लाप्राक घुम्दै गर्दा सबै गाउँले मिलेर बस्ने हो भने गाउँ पनि यस्तो राम्रो हुँदो रहेछ भनेर गफ गरेको दवाडी सम्झन्छन्।
जब उनीहरु लाप्राकबाट फर्कदै थिए। जीपका ड्राईभर सन्तोष तामाङ्ले गाडीको गेयरले राम्रोसँग काम नगरेको बताए। बाटो अफ्ठ्यारो भएकाले उनीहरु विस्तारै फर्किए। घरबाट निस्केकै दिन बारपाक र लाप्राक घुमेर फर्कन उनीहरुलाई हतार थियो। जब अफ्ठ्यारो बाटो सकियो, उनीहरु चढेको जीपको गति केही बढ्यो।
गाडी एकै चोटी घ्यार्र गर्यो, र कुनामा पुगी ठोकियो। कुनामा ठूलो ढुङ्गाको चोसो निस्केको थियो। त्यही ढुङ्गामा जीप ठोक्कियो। जीप ठोक्किएन मात्र, उछिट्टिएर छेउमा पुग्यो र भीरबाट गुल्ट्यो ।
गाडीको ब्रेक फेल भएर चालकले जीप कुनातर्फ मोडेका रहेछन्। तर जीप कुनामा अडिएन। शिक्षक सहित गुल्टिएको जीप दरौँदी किनारमा पुगेको सोही दुर्घटनामा घाइते भएका शिक्षक दवाडी बताउँछन्।
दुर्घटनामा परेर बागेश्वरी माविका शिक्षकद्वय रामेश्वर न्यौपाने र ठाकुर दवाडीको घटनास्थलमै ज्यान गयो। शिक्षक अमृत दवाडीलाई उनै शिक्षकद्वयले पढाएका थिए।
‘उहाँहरुले मलाई कक्षा १ देखि नै पढाउनुभएको थियो, त्यही स्कुलमा २ बर्षदेखि पढाइरहेको थिएँ’, दवाडीले भने, ‘मेरो गुरु र सँगै काम गर्ने सहकर्मीलाई गुमाउनुपर्यो।’
उनले गाउँकै स्कुलमा शिक्षण थाल्नुअघि लमजुङ्मै एक गैरसरकारी संस्थामा काम गर्थे। पछि जागिर छाडेर उनी गणित विषयमा एम्.ए गर्दै गर्दा गाउँमा सरकारी दरबन्दीमा गणित विषयको शिक्षक चाहियो। दवाडी त्यही बेला शिक्षक बन्न गाउँ पुगेका थिए।
आफूलाई पढाएको शिक्षकले दुर्गम भए पनि आफ्नै गाउँमा आएर पढाउन भनेपछि आफू गाउँ गएको दवाडीले बताए। दुर्घटनामा परेर घाइते भएका दूधपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख सुशील नराल स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात पोखरा रिफर भएका छन्।
दुर्घटनामा घाइते भएका अन्य शिक्षकहरु विष्णु दवाडी र विष्णु न्यौपाने चितवन रिफर भएका छन्। उनीहरुको टाउकोमा चोट लागेको जनाइएको छ। घाइते शिक्षक अमृत दवाडी र अनिल मरहठ्ठा स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात् डिस्चार्ज भएका छन्। सवारी चालक सन्तोष तामाङ् र अमृत दवाडी पनि घाइते भएर उपचार पश्चात् डिस्चार्ज भएको जनाइएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट खसेर झण्डै सय मिटर तल पुगेको जनाइएको छ। ‘गेयरले काम नगर्दा पनि अप्ठ्यारो बाटो कटाइयो, तर सजिलो बाटो पुगेर दुर्घटना भयो’ घाइते शिक्षक दवाडीले भने।