भक्तपुरमा बिस्का: जात्रा निम्ति रथ बनाउन सुरू भएको एक महिना भयो। रथका नाइके प्रेमलाल शिल्पकारसहित जात्रा सञ्चालन गुठीका सदस्यहरू फागुन २१ देखि न्यातपोल मन्दिरअगाडि रथको काम गर्दै थिए।
दुई हजार वर्ष पुरानो सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै आएका ६० वर्षीय शिल्पकार सोमबार बिहान असन्तुष्ट र आक्रोशित भेटिए।
आक्रोशको कारण थियो, कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबारको बैठकले बिस्का: जात्रा रोक्ने निर्णय गर्नु।
कोरोना जोखिम फेरि उच्च भएकाले भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै केन्द्रले जात्रा रोक्ने निर्णय गरे पनि सम्बन्धित गुठियार र भक्तपुरका स्थानीय सहमत छैनन्। यसलाई उनीहरूले संस्कृतिमाथि सरकारी हस्तक्षेपका रूपमा बुझेका छन्। जनजीवन सामान्य चलिरहेका बेला काठमाडौं उपत्यकाका जात्रापर्वमा मात्र अंकुश लगाउन खोज्नुलाई उनीहरू 'पूर्वाग्रही' मान्छन्। आइतबार रातिदेखि नै सामाजिक सञ्जालमा यसको विरोध सुरू भएको छ।
बिस्का: निम्ति रथ बनाउन सधैंझैं पाँचतले न्यातपोल मन्दिर अगाडि भेला भएका गुठियारहरूले पनि आफ्नै ढंगमा प्रतिरोध गरे। उनीहरूले जात्रा नचलाउने सरकारी निर्णयका बाबजुद रथ बनाउने काम रोकेनन्।
अहिले रथको माथिल्लो तल्लामा छाना हाल्ने काम भइरहेको छ। अन्तिम चरणको काममा सरकारबाट भाँजो हाल्न खोजिएला भन्नेमा उनीहरू सचेत छन्। त्यसैले सोमबार बिहान निर्माणस्थलमा स्थानीयको सहभागिता अरू दिनभन्दा बढी थियो।
'जात्रा गर्ने कि नगर्ने निर्णय गर्ने काम जनताको हो, उनीहरूको होइन,' शिल्पकारले भने, 'यो त हामी नेवारहरूको जात्रा हो। हाम्रो जात्रा चलाउने कि नचलाउने, कसरी चलाउने भन्ने निर्णय हामीले नै गर्ने हो, जात्राको मर्म नै नबुझेका सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरूले बैठक बसेर गर्ने होइन।'
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको उक्त बैठकमा प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी, सेनादेखि राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत थिए। बिस्का: जात्रासँग सम्बन्धित गुठियार भने एक जना थिएनन्।
यति ठूलो निर्णय गर्नुअघि सरकारले सरोकारवालाहरूसँग छलफल गर्ने आवश्यकता महशुस नगरेकोमा पनि शिल्पकारले आपत्ति जनाए।
'हाम्रै जात्रापर्वको बारेमा निर्णय गर्नुअघि हामीलाई सोध्नुपर्छ कि पर्दैन?' उनले प्रश्न गरे।
उनले अगाडि भने, 'हामी त गुठीसँग ज्याला लिएर काम गर्छौं, त्यसैले गुठीले नै भनेको मान्छौं। हामीलाई गुठीले काम रोक्न भनेको छैन।'
शिल्पकारका अनुसार २५ गतेसम्म रथ निर्माणको काम सकिनेछ। अब रथको छाना हाल्ने, चक्का रंगाउने काम मात्र बाँकी छन्। यसपटक रथका चारै चक्का र बीचका केही भागका काठ नयाँ फेरिएका थिए।
हाम्रो कुराकानी चलिरहँदा स्थानीय शिव अवालले भक्तपुरका स्थानीय जनता जात्रा चलाउन एकजुट रहेको बताए। 'यसपालि बिस्का: चलाउन भक्तपुर एकजुट छ। सरकारी निकायबाट काम रोक्न आउलान् भनेर हामी घेरेर बसेका छौं,' उनले भने।
अर्का स्थानीय आशाराम लाकेजु त झन् आक्रोशित थिए।
'पोहोर लकडाउनका कारण रोकियो। यसपटक त कसैले रोके पनि रोकिँदैन। यत्तिकै भए पनि तानिन्छ। तान्न दिएन भने सबै जम्मा हुन्छन्,' उनले भने, 'एउटाले अर्कोलाई फोन गरेर बोलाउँछन्, अर्कोले अर्कोलाई बोलाउँछन्, अनि टन्नै मान्छे भएर उनीहरूलाई खेद्छन्।'
मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठ पनि स्थानीयको भनाइसँग सहमत छन्।
'हामी सुरक्षा मापदण्ड अपनाएर बिनारोकतोक बिस्काः जात्रा चलाउने छौं। अघिल्लो वर्ष जात्रा सम्पन्न गर्न नसकेकाले शनिबार क्षमापूजा पनि गरिसक्यौं। जात्राका लागि गहना निकाल्ने, ब्रत बस्ने लगायत सबै प्रक्रिया सुरू भइसके,' उनले भने।
मध्यपुर थिमीमा बिस्काःको मुख्य जात्रा भनेको जिब्रो छेड्ने हो। त्यो वैशाख २ गते हुन्छ। यस वर्ष बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।
भक्तपुर नगरपालिकाले पनि टोलटोलमा हुने स्थानीय जात्राहरू नरोक्ने निर्णय गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले बिस्केट जात्रासँग सम्बन्धित टोलटोलमा हुने जात्रालाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सामान्य रूपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ। जात्रा अवधिभर नगरक्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्य रूपमा जात्रा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भने जात्रा नहुनुपर्नेमा अडिग छन्।
'सबै व्यवस्थित गरेर, सुरक्षा मापदण्ड अपनाएर, पूजाआजा र भगवानको काम गर्न हामीले रोकेका होइनौं। तर रथ तान्ने क्रममा कुनै सीमा र कुनै मापदण्डको पालना हुँदैन। त्यसले रोग फैलिने डर भएकाले हामीले रथ तान्ने काम स्थगित गर्न भनेका हौं,' उनले भने।
राजनीतिक कार्यक्रम, खेलकुद, सभा-सम्मेलन कहीँ पनि निषेधाज्ञा जारी नभएका बेला सांस्कृतिक पर्वमा मात्र यस्तो निर्णय किन गरियो भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो भीड पनि सही थिएन, त्यो बेसहीलाई फेरि अर्को बेसहीले निरन्तरता दिने त राम्रो कुरा भएन नि।'
यसबीच बिस्का: रोक्ने निर्णयले काठमाडौं उपत्यकालाई नै तरंगित बनाएको छ। घोडेजात्रा, पाँचह्रे र सेतो मच्छिन्द्रनाथ जात्राको मुखमा बिस्का: रोकिनुले गत वर्षजस्तै यसपालि पनि काठमाडौं उपत्यकाका सांस्कृतिक पर्वहरू बिथोलिने हुन् कि भन्ने शंका उब्जाएको छ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह व्यवस्थापन समितिको आइतबारको बैठकले कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको रथयात्रा यसपालि गर्ने निर्णय गरेको छ। रथयात्रा आउँदो वैशाख ७ बाट सुरू भई एक साता चल्नेछ।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ सेतो मछिन्द्रनाथको जात्रा हुने खबरलगत्तै बिस्काः नगर्ने निर्णय आउनुले काठमाडौंबासीलाई आक्रोशित बनाएको बताउँछन्।
'हिजोअस्ति प्रधानमन्त्रीको दलदेखि विभाजित राजनीतिक दलहरूले सडकै ढाकेर त्यत्रा कार्यक्रम गर्दा कोरोनाको वास्ता नहुने, अहिले जात्राको समय नजिक आउनासाथ कोरोनाको डर जनमानसमा फैलाउनु गलत हो। यस्तो समय सबै मिलेर सुरक्षित ढंगले जात्रा चलाउने तयारी गरौं, भाँड्न नखोजौं,' उनले भने।
यो पनि हेर्नुहोस्:
बिस्काःको रथ तान्ने काम चैत २८ बाट सुरू हुन्छ। त्यो दिन भगवान ल्याएर राखेपछि रथ तान्ने काम हुन्छ। आठ रात, नौ दिनको जात्राअन्तर्गत रथयात्रा, जिब्रो छेड्ने लगायत विभिन्न उत्सव भए पनि यःसि (लिंगो) ठ्डयाउने र ढाल्ने मूल परम्परा हो। यो नयाँ वर्षको अघिल्लो दिन ठड्याइन्छ भने वैशाख १ गते ढालिन्छ।
बिस्काः भक्तपुरको मूल जात्रा मात्र होइन, लिच्छविकालदेखि चलिआएको परम्परा हो। बिस्काःमा ठड्याइने यसिंलाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लिइन्छ।
प्यागोडा शैलीमा बनाइने बिस्काःको तीनतले रथलाई भैरवको रथ भनिन्छ भने सानो एकतले रथलाई भ्रदकालीको रथ भनिन्छ। श्रीमान–श्रीमती मानिने यी रथमध्ये भद्रकालीको रथ तयार भइसकेको छ।
'हामीले यति मिहिनेत गरेर रथ बनाएका हुन्छौं, त्यसलाई एकछिनमा गरेको निर्णयले रोक्ने भन्ने हुँदैन। त्यसमाथि यो जात्रा मात्र होइन, मान्छेको आस्थासँग जोडिएको विषय हो,' रथ नाइके प्रेमलालले भने, 'हिजो नहुने खबरपछि नै कति मान्छे जम्मा भइसके। साँच्चै नहुने भयो भने त यहाँ ठूलै धमाका हुन्छ होला।'
स्थानीय प्रशासनले गत वर्ष रातो मच्छिन्द्रनाथको घटनाबाट पाठ सिक्नुपर्ने भक्तपुरका स्थानीय बताउँछन्।
सरकारले जनतासँग सहकार्य नगर्दा कस्तो स्थिति उत्पन्न हुन सक्छ भन्ने गत वर्ष रातो मछिन्द्रनाथको रथयात्रा उदाहरण हो। जात्रा चलाउन स्वतस्फुर्त सडकमा आएका स्थानीय र रोक्न खटिएका सुरक्षाकर्मीबीच पाटनमा झडप भएको थियो। भोलिपल्ट कर्फ्यू लगाएर रथयात्रा सम्पन्न गर्नुपरेको थियो।
'भक्तपुरका स्थानीय यो निर्णयबाट असन्तुष्ट छन्। सोध्दै नसोधी गरिएको निर्णय हामीलाई मान्य छैन,' शिल्पकारले भने।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी