यो छ-सात वर्षअघिको मात्रै कुरा हो। गाउँमा खानेपानीको समस्या थिएन। कुलोमा नियमित रुपमा पानी कुदिरहन्थ्यो। सुख्खायाममा पनि खेतका गह्रामा पानी पुग्थ्यो, गहुँ मकैलाई सिँचाइको चिन्ता थिएन।
अहिले अवस्था पूरै फेरिएको छ।
गाउँका खेत-खेतमा पुग्ने कुलोको मुहान लडेको छ। त्यसमा पानीको साटो कमिला कुद्छन्। पहिले ५०–६० फिटको गहिराइमा गाडिने ट्युबेलबाट सजिलै आउने खानेपानी अहिले १ सय २५ फिटसम्म गहिरो बनाउँदा पनि मुस्किलले मात्रै पानी आउँछ।
मोरङ केराबारी गाउँपालिका वडा नम्बर ८ का सयौं बासिन्दाले आधा दसकयता भोगिरहेको यो अफ्ठयारोको मुख्य कारण गाउँका खोलानालामा भइरहेको जथाभावी दोहन हो।
खोलाहरूबाट अनियन्त्रित रुपमा भइरहेको प्राकृतिक स्रोत दोहनले गाउँमा खानेपानीदेखि सिँचाइको स्रोतसम्मै बन्द गर्दै लगेको छ। यसले खोलामै आधारित जीवन जिउँदै आएका गाउँलेको दैनिक जीवन पनि निरन्तर असहज बनाउँदै लगेको छ।
‘अहिले कल (ट्युबेल) गाड्नु परो भने कम्तीमा १ सय ५० फिट गहिरो खन्नुपर्छ,’ केराबारी –८ आमजुँगीकी खड्गमाया खड्काले सेतोपाटीसँग भनिन्, ‘त्यो पनि पहिले जसरी मजाले पानी आउँदैन। पहिले ५० –६० फिटमा गाड्दा मजाले पानी आउँथ्यो। खोला जति खोतलेर गहिरो हुँदै गयो, त्यति नै यो समस्या बढ्दै गएको छ।’
गाउँमा पानीको स्रोत सुक्ने क्रम यति तीव्र छ कि विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उनको भनाइ छ। मोटरले पानी तान्न छाडेपछि बोरिङ गर्नुपर्ने बाध्यता आएको उनले सुनाइन्।
प्राकृतिक स्रोतको जथाभावी दोहनले निम्त्याउने दुष्परिणामलाई नजिकैबाट भोगिरहेकी पात्र हुन् खड्गमाया खड्का। उनीजस्ता सयौं गाउँलेको व्यवहारिक अनुभवले भन्छ- जतिबेलासम्म खोलानाला सुरक्षित थिए, त्यसबेलासम्म गाउँमा खानेपानी र सिँचाइको समस्या थिएन। तर, जब दिनैपिच्छे दर्जनौं टिपर, ट्रक र ट्याक्टरले निर्माण सामग्री उघाउन थाले, खोला गहिरिँदै गयो, खानेपानी र सिँचाइको स्रोत सुक्दै गयो।
ठेकेदारको ‘दादागिरी’का सामु जनप्रतिनिधि र सरकारी संयन्त्र रमिते बन्दा मोरङको केराबारी क्षेत्रमा मौलाएको प्राकृतिक स्रोत दोहनले भयावह अवस्था निम्त्याउन थालेको छ। खोलामा दोहन उच्च हुँदा स्थानीयले सिँचाइ र खानेपानीजस्ता आधारभूत आवश्यकताबाटै बञ्चित हुनुपर्ने अवस्था आएको छ।
गाउँपालिकाभित्रका खोला र त्यसछेउका निजी जमिनमा जनप्रतिनिधिहरूकै संरक्षणमा क्रसर उद्योगहरूले मनपरी उत्खनन् जारी राखेका छन्। यसले गाउँमा आपूर्ति हुने खानेपानीको स्रोत निरन्तर सुक्न थालेको छ।
वातावरणीय प्रभाव मूल्यांकनको सीमा मिचेर ठेकेदारले चुरे क्षेत्रको खोला र त्यसछेउका जमिनमा जथाभावी गरेको उत्खननले खानेपानीको स्रोत सुक्न थालेको केराबारी गाउँपालिका-८ आमजुँगीका तुलसी भण्डारीले बताए। यो गाउँ हुँदै बग्ने खदम खोलामा क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनिरल इन्डष्ट्रिज र शिवम क्रसरले मापदण्ड विपरीत उत्खनन् जारी राखेको गाउँलेको भनाइ छ।
केराबारी-८ खदम खोलाछेउको निजी जग्गामा गरेको उत्खननले किसानका खेतमा सिँचाइ हुने कुलो भत्काइदिएको छ।
आमजुँगीका करिब पाँच सय घर परिवारले खेती गर्न सिसौली पैनी नामको कुलो बनाएर दुई वर्षअगाडि पानी ल्याएका थिए। ‘जथाभावी उत्खनन् गरेको कारणले अहिले सिँचाइ गर्ने कुलो भत्काइदिएको छ,’ केराबारी-८ का गोपाल खड्काले भने, ‘सिसौली पैनीमा आएको पानीले दुई सय बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको थियो।’
यो सारा खेलमा जनप्रतिनिधि पनि ठेकेदारसँग मिलेको स्थानीयबासी आरोप लगाउँछन्। मापदण्डभन्दा धेरैबढी ढुङ्गा-गिट्टी र बालुवा निकाल्दा खोला नै तालजस्तो बनेको छ। खोला उत्खनन् गर्नका लागि बढीमा एक मिटर ४० सेन्टिमिटर गहिरो खन्न मात्रै अनुमति दिइएको हुन्छ। तर, त्योभन्दा तेब्बरबढी गहिराइमा उत्खनन् जारी छ।
अहिले पनि उत्खनन् चलिरहेको र केही दिनमा बन्द गरेपछि लडेको पैनी बनाइदिने सहमति भएको गाउँपालिका अध्यक्ष रोहित कार्की बताउँछन्। खोला खोतल्दा पाइने राजश्व लिने गाउँपालिकाले पैनी चाहिँ ठेकेदारले बनाउने भन्दै बाटो हेरिरहेको छ। ‘अहिले सिँचाइ त्यति आवश्यक छैन,’ अध्यक्ष कार्की भन्छन्, ‘बर्खाका लागि ठेकेदारले बनाइदिने बचन दिएका छन्।’
गाउँपालिका अध्यक्षले सिँचाइको आवश्यकता नभएको बताए पनि गाउँका किसानको माग बेग्लै छ। ‘उहाँलाई आवश्यक छैन होला,’ स्थानीय खड्गमाया खड्का भन्छिन्, ‘यहाँ धेरैले गहुँमा पानी लगाउन पाएनन्, मकैबारी सुख्खा लागेर पटपटी हुने अवस्था छ।’
यही समस्या स्थानीयबासीले गाउँपालिकामा बारम्बार सुनाएका छन्। धेरै गहिरो नखन्न निर्देशन दिन उनीहरूले आग्रह गरेको धेरै भइसकेको छ।
तर, ठेकेदारले भने अहिले पनि तीनदेखि चार मिटरसम्म गहिरो खनिरहेका छन्। यसरी खन्दा आसपासका बासिन्दा आक्रोशित छन्। मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला जुनसुकै बेला बस्तीमा पस्ने त्रास उच्च भएको केराबारी-८ का जीतबहादुर बस्नेतले बताए। ‘हामीले त्यति गहिरो बनाएर नखन्न ठेकेदारलाई आग्रह गर्यौं,’ उनले भने, ‘तर खन्न छाडेनन्।’
खदम खोलामा मापदण्ड विपरीत खोलाको दोहन गर्दा खोलाको सतह गहिरिएर आसपासका बस्तीका ट्युबेल र इनारको पानीको स्रोत सुकेपछि पानी आउनै छाडेको छ।
उनका अनुसार मापदण्ड विपरीत खोला उत्खनन् भइरहँदा पनि यहाँका जनप्रतिनिधि मौन छन्। गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, वडा नम्बर ८ का अध्यक्ष मनोज खड्कासहितको संरक्षणमा मापदण्ड विपरीत खदम र निजी जमिनदेखि धमाधम ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको उनीहरूको आरोप छ। आँखैअघि खोलामा मनपरी चल्दा पनि जनप्रतिनिधि मौन रहेको घटनाले उनीहरू मिलेमतो पुष्टि हुने आरोप स्थानीयबासीको छ। ‘दैनिक पाँच सय टिपर ढुंगा, गिट्टी जथाभावी निकाल्दा पनि उनीहरू रमिते मात्रै किन छन्?,’ स्थानीय सोध्छन्, ‘हामीले बारम्बार सुनाउँदा पनि थाहा नपाए झैं गर्छन्।’
खोलामा ठेकेदारले मनपरी गरिरहेको वडाध्यक्ष मनोजकुमार खड्का स्वीकार्छन्। ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचारसंहिता बनाएका थियौं,’ वडाअध्यक्ष खड्काले भने, ‘त्यसको अहिले पालना भएको छैन।’
यसरी जनप्रतिनिधिले नै लाचारी व्यक्त गरेपछि गाउँलेको जीवनको एउटा मुख्य आधार खोलामा ठेकेदारको मनपरी छ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार शून्य दशमलव पाँच मिटरदेखि बढीमा डेढ मिटरसम्म गहिरो बनाएर गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न स्थानीय तहले क्रसर र ठेकेदारलाई अनुमति दिएको थियो। तर, तीनदेखि चार मिटरसम्म गहिरो खनेर उत्खनन् भइरहेको छ। यसलाई स्थानीय सरकारले देखेको नदेख्यै जस्तो गरिरहेको छ।