कलंकीमा रहेको हेयर कलर कम्पनीमा प्रहरी र वाणिज्य विभागले छापा मारेको छ।
मेहन्दी हबिब, काला-कोला, हिनाजलगायत उत्पादन कम्पनीमा वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको हो।
ट्रेड मार्क खारेज भइसकेको कम्पनीले गैरकानुनी रूपमा मेहन्दीलगायत कस्मेटिक सामग्री उत्पादन तथा प्याकेजिङ गरी बजार पठाइरहेको सूचनाका आधारमा छापा मारेर गोदामहरूमा सिल गरिएको प्रहरीले जनाएको छ।
त्यहाँ करोडौंका सामग्री थिए। २०७३ सालमै दर्ता खारेज भइसकेको कम्पनीको घर तथा गोदामहरूमा सिलबन्दी गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।
ती कम्पनीले भारतबाट सामग्री ल्याएर प्याकेजिङ गरी सामान बजार पठाइरहेका थिए।
मेहन्दी, फेस क्रिमलगायत फेन्सी आइटमको गुणस्तर र लेबल पनि परीक्षण नभएको पाइएको पंगेनीले बताए।
‘मानव स्वास्थ्यमा असर तथा कपाल झर्नेलगायत समस्या देखिएको गुनासोपछि वाणिज्य विभागसँगको समन्वयमा कारबाही थालिएको हो,’ पंगेनीले भने।
यसबारे विभागले थप अनुसन्धान गर्ने पंगेनीले बताए।
तस्बिरहरू: