धनगढी उपमहानगरपालिका- १४, १८ र १९का बासिन्दा खानेपानीको समस्याले आहत छन्। उनीहरू नल्काको पानी पिउँछन्।
यस्तो पानी खाँदै उनीहरूले वर्षौं बिताएका छन्र। नल्काको पानी खान हुन्न, खानेपानी त शुद्ध हुनुपर्छ भन्ने थाहा पाएको पनि धेरै वर्ष भयो।
८/१० वर्ष अघि नल्काको पानी पिउन ठिक छ कि छैन भनेर जाँच भएको वडा नम्बर १४ का बाबुकाजी तामाङले बताए।
'नपिउनु भनेको पनि पिएकै छन्, अहिले पानी कस्तो छ थाहा छैन,’ उनले भने।
कतिपय नल्काको पानी आर्सेनिक र अरू कारणले पिउन योग्य नभए पनि स्थानीय उपभोग गर्न बाध्य छन्।
नल्काको पानीले लुगा धुँदा पहेँलो हुने, भाँडाकुँडा पनि पहेँलो हुने, पिउँदा पत्थरी, आँखा पाक्नेजस्ता रोग लाग्ने गरेको स्थानीय चन्द्रादेवी रानाभाटले बताइन्।
‘फिल्टर गरेको किटनाशक औषधी हालेको खानेपानी पिउनु त हाम्रो लागि सपनाको कुरा भयो,’ उनले भनिन्, ‘हामी त खेतीपाती गर्ने, पानी बढी पिउनु पर्छ। गर्मीमा त झन् बढी पिउन मन लाग्छ।’
उनले आयोजनामा राजनीतिकरण हुने हुँदा आफूहरूले स्वच्छ पानी अहिलेसम्म पिउन नपाएको बताइन्।
धनगढीका ती तीन वटै वडामा खानेपानी आयोजना सुरू भएको ८ वर्ष भयो। ट्याङ्की बनेको ६ वर्ष। त्यसयता अलपत्र परेको यो आयोजनामा अहिले पाइप जडानको काम भने सुरू भएको छ।
वडा नम्बर १४ का बाबुकाजी तामाङलाई भने पानी छिट्टै आउला भन्ने आस छैन।
८ वर्षअघि उनले छिटो ट्याङ्की बन्ला र आफ्नो घरमै खानेपानी आइपुग्ला भनेर उपभोक्ता समितिलाई ८ सय रूपैयाँ दिएका थिए। उनले झैँ कृष्णबहादुर तिवारीले पनि पैसा दिएका थिए।
'पैसा दिएपछि पानी ट्यांकी त बन्यो तर अहिलेसम्म पानी भने आएको छैन,' तामाङले भने, 'खानेपानी छिटो पाउनुपर्यो भनेर भन्दाभन्दा मुख थाकिसक्यो, रित्तो ट्याङ्की वर्षौंदेखि हेर्दै छौं। पानीको दु:खले साह्रो पारिसक्यो हामीलाई।’
२०६९ सालमा धनगढी-१४ डिपो बजारमा खानेपानी वितरण गर्ने योजनासहित मानबहादुर बिष्टको अध्यक्षतामा समिति बनेको थियो।
समितिले खानेपानी आयोजना चाहियो भन्दै तत्कालिन जिल्ला विकास समितिमा माग दर्ता गरेको थियो।
बिष्टको नेतृत्वको समितिले मान्यता पाउनै एक वर्ष लाग्यो।
दर्ता भएपछि उक्त समितिले १४ करोड बजेटको आयोजना निर्माण गर्ने सम्झैता गर्यो। तत्कालिन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५ करोड २९ लाखको स्थानीयले श्रमदान हुनु पर्ने भन्यो। बाँकी रकम सरकारले दिने भयो।
अर्को शर्त समितिले २० प्रतिशत धरौटी पनि बुझाउनु पर्ने भनेको समितिका अध्यक्ष बिष्टले बताए।
‘१८ लाख धरौटी मागेकोमा स्थानीयबाट ८ सयका दरले उठाएपछि ६ लाखमात्र पुग्यो,’ उनले भने।
उनका अनुसार संस्थानले ६ लाखमै काम गरिदिने भएपछि ओभर हेड ट्यांकी बनाउन चाहिने जग्गाका लागि समितिले छलफल चलायो। सडक नजिकैको सार्वजनिक जग्गामा बनाउने निर्णय भयो। ट्यांकी, पर्खाल, बोरिङ र तीन कोठे भवन डेढ वर्षभित्र तयार भए।
पाइप संस्थानले दिने भयो तर बिछ्याउने काम स्थानीयले श्रमदानबाट गर्नुपर्ने भयो।
उपभोक्ता समितिले श्रमदानबाट काम गराउन सकेन।
‘श्रमदान गर्न कोही पनि तयार भएनन्,’ अध्यक्ष बिष्टले भने।
सन् २०१७ मा निर्माण सम्पन्न गर्ने योजना रहेको चार वर्ष थप बिते पनि खानेपानी आउने ठेगान छैन।
खानेपानी संस्थानले उपभोक्ता समितिले काम गर्न नसकेर आयोजना पूरा हुन नसकेको बताएको छ।
उपभोक्ता समितिले भने सर्वसाधारणको सहयोग नै नपाएकाले काम गर्न नसकेको बताएको छ।
स्थानीय उपभोक्ता भने राजनीतिकरण भएपछि आयोजना अलपत्र परेको बताउँछन्।
स्थानीय मनहरी रानाभाटले नेताहरू सहमत नभएकाले काम नभएको बताइन्।
‘काम गर्न उनीहरूले सकेनन्। हामीले त पैसा दिएकै हौं, काम पनि गर्छौं भनेकै छौं,’ उनले भनिन्।
अर्की स्थानीय अच्छरी देवी रानाभाटले पनि आवश्यक परे श्रमदान गर्न सकिने बताइन्।
‘वडा, नगरपालिकाले पनि काम गर्न पर्ने हो’ उनले भनिन्,'हाम्रो श्रम चाहिए त्यो पनि गर्न सक्थ्यौं।'
हुन पनि पहिले एउटै उपभोक्ता समितिले तीन वटा वडामा काम गरिरहेको थियो। अहिले भने वडा नम्बर १९ मा भने आफ्नो छुट्टै उपभोक्ता समिति बनायो।
अहिले आयोजनालाई धनगढी उपमहानगरपालिकाले यो आयोजनालाई ७० लाख र जिल्ला समन्वय समितिले ३० लाख बजेट दिएका छन्।
‘नगरपालिकाले र समन्वय समितिले बजेट दिएपछि पाइप बिछ्याउने काम भइरहेको छ,’ उपभोक्ता समितिका अध्यक्ष बिष्टले भने।
वडा नम्बर १८ का अध्यक्ष मुरारीप्रसाद अधिकारीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत आएको बजेटले काम गर्ने श्रमिकलाई पाइप बिछ्याउन नाली खन्ने काम गर्न लगाइएको बताए।
‘पाइप बिछ्याउने काममा अड्केको योजना अहिले फेरि काम हुँदैछ,’ उनले भने।
स्थानीय सरकार आएको तीन वर्षसम्म उक्त खानेपानी आयोजनालाई सहयोग गर्न नसकेको उनले स्वीकारे।
‘हामी आएपछि विवाद मिलाउने, नगरपालिकासमम कुरा राख्ने र स्वरोजगार कार्यक्रमपछि पाइप बिछ्याउन खन्ने श्रमिक दिने काम गर्यौं,’ उनले भने।
वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्ष दुबैले आगामी वर्षभित्र स्थानीयका धारामा पानी पुर्याउने दाबी गरेका छन्।
वडा नम्बर १९ मा रहेको खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष आफैं रहेका वडा अध्यक्ष तिलुराम चौधरीले आफ्ना वडामा रहेको पानी ट्यांकीबाट पानी वितरण गर्न अब केही महिनामात्र लाग्ने दाबी गरेका छन्।
‘हामी पनि पाइप बिछ्याउने काम नै गरिरहेका छौं, अब पानी वितरण अर्को वर्षभित्र हुन्छ,’ उनले भने।
नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द कर्णले भने उपभोक्ता समितिले वर्षौंदेखि काम नसकेपछि सरकारले योजना पूर्ण गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको बताए।
‘उपभोक्ता समितिले चलाउन सकेका छैनन्, एकचोटी हामीकहाँ सञ्चालन गरिदिनु पर्यो भनेर प्रस्ताव आएको थियो तर लिखित निर्णय आएन,’ उनले भने।
सुरूमा डिभिजन कार्यालयमार्फत् उपभोक्ताले आफैं सञ्चालन गर्ने भनेर सुरू गरेकोले समितिले अब पनि काम नसके संस्थानलाई बुझाइदिन उनको सुझाव छ।
‘निकै कठिनाइ भइरहेकोले संस्थानले सञ्चालन गरिदिनुपर्यो भनेर उपभोक्ता समितिले हामीकहाँ निर्णय बनाएर ल्याउनु पर्यो। त्यसपछि हामीले केन्द्रमा पठाएर समन्वय गरेर चलाइदिन्छौं,’ उनले भने।