एकदिन उनी घरमा कसैलाई खबर नगरी झोला बोकेर हिँडे। झोलामा म्युजिक सिस्टम थियो। दिमागमा धेरै कुरा खेलिरहेका थिए। चन्द्रागिरिमा गुडिरहेका अनेक सवारी साधनमध्ये काठमाडौंको बस समाते।
बसन्तपुर, कालभैरव अगाडि पुगेपछि भुइँमा रूमाल ओच्छ्याए। छेउमा म्युजिक सिस्टम राखे, अन गरे। संगीत घन्किन थाल्यो। अनि नाच्न थाले।
तीन घन्टासम्म लगातार उनी नाचिरहे। हेर्न आउने बटुवाले रूमालमा पैसा राखिदिए। त्यो नाचवापत् दुई हजार रूपैयाँजति कमाइ भयो।
'त्यो दिन मेरो दिमागमा अरू केही थिएन। नाचेर त्यहाँकै गरिबलाई भए पनि सहयोग गर्छु भन्ने थियो,' केही महिनाअघिको घटना सम्झिँदै उनले भने, 'प्रहरी प्रशासनले रोकोस् वा नगरपालिकाले, त्यो काम जसरी पनि गर्छु भन्ने होड थियो। त्यसरी नै म सात-आठ पटक नाचेँ।'
उनी हुन् चन्द्रागिरिका २३ वर्षीय किसन रोका मगर। आफूलाई 'सिल्भर रोबोपस' भनेर चिनाउन चाहन्छन्।
यो साता पनि उनले दुई दिन लगातार बसन्तपुरमा नृत्य प्रस्तुत गरे। तर यसपालि उनले साउन्ड सिस्टम मात्र लिएर आएका थिएनन्। चाँदीजस्तै टल्किने लुगा, मास्क र टोपी बोकेका थिए। ती सामान उनी आफैंले बनाएका रहेछन्, घरमै भएका सामग्रीमा सिल्भर रङ पोतेर।
उनी त्यहीँको प्रहरी प्रशासन हाता छिरे। सबै सामग्री अनुमति लिएर पहिरिए। अनि किसनबाट 'सिल्भर रोबोपस' बनेर उनी फुत्त बाहिर निस्किए।
अनि कालभैरव अगाडि रोबोटिक्स नृत्य प्रस्तुत गर्न थाले, नेपाली गीतमा।
'कता कता छौ कुन रूपमा
कुन सोचमा हराउँदै
कुन गीतको, कुन बोलमा
आफैंलाई पहिल्याउँदै...'

मान्छेहरू उनको नृत्य र हुलियाले आकर्षित भए, किसनलाई घेरा हालेर हेर्न थाले। नजिकै उनले ब्यानर पनि राखेका थिए। अनुहार जलेकी जोरपाटीकी किशोरी पूजा कार्कीलाई सहयोग गर्न उनले रकम उठाउन खोजेको उक्त ब्यानरले बताउँथ्यो।
सिल्भर रोबोपस बनेर गरेको रोबोट डान्सबाट उनले दुई दिनमा १५ हजार ८ सय ८५ रूपैयाँ संकलन गरे। अनि मंगलबार कीर्तिपुरमा उपचाररत पूजाका हातमा उक्त पैसा थमाए। त्यसपछि हामीसँग भेटेका उनले रोबोटको जस्तो मास्क नखोली भिडिओ कुराकानी गर्ने भए।
'मैले जे गरिरहेको छु, त्यो आफ्ना लागि होइन। अरूका लागि हो भने किन अनुहार चिनाइराख्नुपर्यो,' उनी भन्छन्, 'मान्छेले मेरो अनुहार याद नगरून्, बरू मैले जसलाई सहयोग गरिरहेको छु, उनीहरूको समस्या सम्झिऊन्।'
सुरूमा अनुहार देखाएर नाच्ने उनले मास्क लगाउन थालेको कारण पनि यही हो। आफ्नो अनुहार सबैले चिनून्, भाइरल बनौं भन्ने होडबाजीबाट उनी टाढै रहन चाहन्छन्। पछि नाचबाटै आफू परिचित भएछन् भने 'मान्छे आकाशमा हुँदा पनि आफ्नो खुट्टा जमिनमा हुनुपर्छ' भन्ने धारणा राखिरहन चाहन्छन्।
.JPG)
.JPG)
कसैकसैले भने नाचिरहँदा उनलाई सोध्छन् रे, 'तपाईं पहिला पनि यहाँ नाच्ने भाइ हो?'
त्यसरी सोध्ने मान्छेलाई उनी साँचो उत्तर दिन्छन्।
'जसले मलाई चिन्नुभयो, चिन्नुभयो। अब मान्छेले मेरो अनुहारभन्दा कामलाई चिनून्,' किसनले भने।
किसनले पूजा कार्कीका बारेमा फेसबुक चलाइरहेका बेला थाहा पाएका थिए। पूजाको पहिलेको र जलिसकेपछिको अनुहार देखेर उनलाई दुःख लाग्यो। के–कसरी सहयोग गर्न सकिन्छ होला भनेर पूजाको परिवारसँग सम्पर्क गर्ने माध्यम खोजे। अनि आफूले सडकमा नाचेर कमाएको पैसा पूजालाई दिए।
'उनको अनुहार मैले देखेभन्दा अलि निको भएको रहेछ,' पूजालाई भेटेर आएपछि उनले भने।
अस्पतालमा पूजाले भनेका कुरा पनि सम्झिँदै सुनाए, 'दाइ, निको भएपछि तपाईं र म नाच्नुपर्छ है। मलाई अलिकति सिकाइदिनुस् अनि म तपाईंलाई साथ दिन्छु।'
त्यो सुन्दा किसन केही भावुक भए। अनि सोचे, 'उनी त्यसरी पनि लड्दै, उठ्दै छिन्। आफूलाई त्यस्तो हुँदा पनि हार मानेकी छैनन्। अरूलाई आत्मबल दिने काम गरिरहेकी छन् भने मैले त अझै धेरै गर्न बाँकी छ।'
.JPG)
किसन रोका मगरले सडकमा नाचेर संकलन गरेको पैसा आगोले जलेर घाइते भएकी पूजा कार्कीलाई सहयोग गरेका छन्। तस्बिर सौजन्यः किसन रोका मगरत्यसो त यसरी आत्मबल किसनले आफैंलाई पनि नदिएका होइनन्। सानैमा बुवा बितेपछिका आमाको दुःख उनले बुझेका छन्। १२ पढ्दै गरेकी बहिनीको भविष्यबारे चिन्ता पनि छ।
आफैंले भने १२ पढेर छाडेका उनी चन्द्रागिरिमै नृत्य कक्षा सञ्चालन गर्छन्। करिब पाँच वर्षअघि नाच सिकेका उनले दुई वर्षदेखि कक्षा चलाइरहेका हुन्। भन्छन्, 'कोही पढेर गर्छन्, कोही परेर। मलाई सानो भए पनि आफ्नै मालिक हुन मन छ। त्यसैले अरूकहाँ काममा जोतिनुभन्दा आफ्नै हिसाबमा काम गर्ने सोच छ।'
उनकी आमा सानेपास्थित चौधरी ग्रुपकी कर्मचारी हुन्। दिनमा चार-पाँच पटक फोनमा आमासँग कुरा हुने बताउँदै किसनले भने, 'कहाँ के गरिरहेको छ भनेर आमालाई चिन्ता भइरहन्छ। नाचेर घरमा फर्किएपछि उहाँले तेल लगाएर खुट्टा मालिस गरिदिऊँ भन्दै सोध्नुहुन्छ। आफैं त दिनभर काम गरेर कति थाक्नुहुँदो हो, पर्दैन भन्छु।'
दिनमा करिब तीन–चार घन्टा लगातार नाचेर किसनको शरीर लखतरान भएकै हुन्छ। त्यसमाथि रात परिसकेपछि हतारहतार चन्द्रागिरिको बस समात्नुपर्छ। तर भोलिपल्ट फेरि शरीर आफैं चंगा भइसक्ने बताउँदै भन्छन्, 'बानी भइसक्यो नि त।'
.JPG)
किसन रोका मगरले आगोले जलेर घाइते भएकी पूजा कार्कीलाई सहयोग गर्न सडकमा नाचेका हुन्। यो क्रममा उनलाई सहयोग गर्नेहरू तस्बिर पिन खिचाउँछन्। तस्बिर सौजन्यः किसन रोका मगरचन्द्रागिरिमा नाच्दा राम्रो पैसा संकलन नहुने भएकाले मान्छे धेरै हुने ठाउँसम्म धाउनुपर्ने उनी बताउँछन्। सडकमा नाच्न आउँदा उनीसँग कहिलेकाहीँ नाता पर्ने भाइ पनि आउँछन्, नभए एक्लै।
'फ्रि स्टाइल' नाच्ने भएकाले उनी संगीतको 'बिट' मा ध्यान दिन्छन्। त्यो शैलीमा नाच्दा आफ्नो स्वतन्त्रता हुने भएकाले कोरियोग्राफी गरिरहनुपर्दैन, बिर्सिएर स्टेप बिग्रिने डर पनि हुँदैन। कुन 'मुभ' गर्दा मान्छेलाई बढी तान्छ भन्नेमा भने ख्याल गर्नुपर्छ।
उनले आफ्नो उपनाम 'सिल्भर रोबोपस' पनि सिल्भर लुगा लगाएर रोबोटिक्स नृत्य गर्ने भएकाले राखेका हुन्। यो हुलिया उनले विदेशी नाचहरू हेरेर सिकेका थिए। रोबोपस शब्द रोबोट र अक्टोपसबाट बनेको हो।
किसनले नाचेर पूजालाई सहयोग गरेपछि अब पूजाजस्तै समस्यामा परेका अरूलाई हरेक पटक साताको दुई दिन नाचेर सहयोग गर्ने योजनामा छन्। त्यसका लागि त्यस्ता मान्छे र अन्य ठाउँबारे बुझिरहेका छन्।
.JPG)
कुनै समय 'मोडल अर्गनाइजर' पनि बनेर हिँडेका किसन नाच्दा दुःख, खुसी, रिस, आवेग सबै पोख्न सकिने बताउँछन्। आफ्ना प्रत्येक भावना प्रत्यक्ष जोडिएर आउने यस्तो कला आफूमा मात्र सीमित नहोस् भनेर अरूलाई सहयोग पुग्ने काम गरिरहेका छन्।
यसबाट आफूजस्तै नृत्य वा अन्य कला खुबी भएका मान्छेले 'ए! यस्तो पनि गर्न सकिने रहेछ' भन्ने आइडिया पनि पाऊन् भन्ने चाहना उनको हो। यति भन्दै उनले गीत पनि गुनगुनाए, 'हातमा कलम हुनेहरू, कलम लिएर उठ...बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ...।'
त्यसपछि भने, 'हामीले यसले गरिदेला नि भन्दा पनि आफ्नो तर्फबाट के गर्न सकिन्छ भनेर सुरू गर्नुपर्छ। मेरो कला छ भने मैले त्यसलाई सदुपयोग गर्नुपर्यो नि।'