भक्तपुरको पाँचतले मन्दिरनजिकै पुःबहा (पुजारी बहाल) मा एउटा छुकछुके बच्चा आइरहन्थ्यो। आफ्नो उपद्रो स्वभावका कारण टोलभरि त्यो बच्चाको चर्चा थियो।
ऊ ढोकाबाट नभएर झ्यालबाट पस्थ्यो। अर्काको भान्सामा छिरेर पकाउँदा पकाउँदैको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मान्छेको गालामा प्याट्ट हान्थ्यो। जे गर्नु हुँदैन भन्यो त्यही गर्थ्यो।
यस्ता सारा उपद्रोका बाबजुद ऊ भैरव भगवानको निम्ति भने राम्रो काम गर्थ्यो। त्यही भएर भैरवले उसलाई आफ्नो वहान मानेको थियो।
भैरवका यी वहान नै भक्तपुरको बिस्का: जात्रामा देखाइने बेताल हो।
आजबाट सुरू हुने भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राको रथयात्रामा ध्यान दिएर हेर्नुभयो भने, रथको सबभन्दा अगाडि भागमा तिनै किम्बदन्तीले भरिएको बेताल देख्न सकिन्छ। उनकै बलमा भैरवनाथको अजंग रथ अघि बढ्ने जनविश्वास छ।
बेताललाई यहाँका स्थानीय मानन्धर समुदायका साना बालकका रूपमा मान्छन्। त्यसैले उनलाई बोक्ने पनि मानन्धर समुदायकै मान्छे हुन्छन्। अहिले त बालकको स्वरूपमा उनको मूर्ति रथअगाडि राखिन्छ।
बेतालको मूर्ति फेरिएको करिब दुई वर्ष भयो। त्यसअघिको बेताल ३० वर्ष पुरानो थियो। जात्रा बेला इनाचोको घरमा ठोक्किएर बिग्रिएपछि दाता नारायणप्रसाद खाइजुले अहिलेको बेताल निर्माण गराएका थिए।
'निधारमा प्वाल परेकाले फेर्नुपर्यो,' खाइजुले भने, 'भैरवका नाइकेहरूले मलाई नै बनाउने जिम्मा दिएपछि भगवानका लागि काम गरेको थिएँ।'
बेतालको मूर्ति ब्रह्म सीः भनिने काठ, तामाको पाता र अष्तधातुले बनाइन्छ। पहिलेजस्तै ठोक्किएर नभत्कियोस् भनेर यसपालि धेरै तह बाक्लो बनाइएको छ। २०७५ चैत २३ गते त्यसको प्राण–प्रतिस्थापन गरिएको थियो।
बेतालको मूर्तिमा आँखा बनाउँदा सम्बन्धित चित्रकारको आँखा र बेतालको आँखा जुध्नुहुँदैन भन्ने मान्यता छ। 'आँखा जुधेमा चित्रकारको दृष्टि गुम्छ भन्ने विश्वास रहेकाले नहेरिकनै बनाउने चलन छ,' खाइजुले भने।
भक्तपुरको पुःबहामा बेताल चोक (बेतः चुकः) छ। बेतालले दुःख दिएपछि त्यो घर करिब १ सय ५० वर्षअघि लिलामीमा बेचिएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। घर बेचे पनि चोक भने बेताललाई दिनुपर्छ भनेर छुट्याइएको थियो।
बेतालको निर्माण सधैं त्यही चोकमा गरिन्छ। अरू बेला पनि बेतालको मूर्ति त्यहीँ राखेर पूजा गरिन्छ।
बेतः चुकः मा सिकर्मीले बोका काटेर पूजा गरेपछि मात्र नयाँ बेताल बनाउन पाइन्छ। बेताल तयार भएपछि अर्को बोका काटिन्छ। अन्तिममा आँखा खोलेर प्राण-प्रतिस्थापन गर्ने बेला फेरि बोका काटेर पूजा गर्ने परम्परा छ।
उट्पट्याङ बच्चा भए पनि बेतालले केही राम्रा काम गरेको कहावत छ। पाँचतले मन्दिरको गजुर उनले नै राखेको स्थानीय विश्वास गर्छन्।
संस्कृतिविद् धौभडेलले यसबारे थप उदाहरण दिए, 'भैरवनाथको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत् परेछ। पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्यायो। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ।'
त्यस्तै, एकपटक काठमाडौंका राजा प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरे। जात्रै नहुने छाँट देखेपछि स्थानीय दुःखी भए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको मानिन्छ।
'त्यही भएर बिस्काः जात्राभरि बाटामा उट्पट्याङ गर्ने बच्चा देख्यो भने मानिसहरू गाली गर्दैनन्। त्यो भगवान भैरवकै वहान बेताल हुनसक्छ भनेर जे गरे पनि छुट दिइन्छ,' धौभडेलले भने।
अघिल्लो वर्ष कोरोनाले बिस्काः रथयात्रा नभएपछि भर्खरै बनेको बेताल त्यसै थन्किएको थियो। बाटोभरि कतै ठोक्किँदै वा उपद्रो गर्दै हिँड्न पाइएको थिएन। यो वर्ष स्थानीयकै दबाबमा सुरक्षा मापदण्ड अपनाएर रथयात्रा हुँदैछ।
करिब दुई हजार वर्षदेखि चलिआएको यो जात्रा आज शनिबार दिउँसो दुई बजेबाट सुरू हुँदैछ। यसपालि भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडि भैरवनाथ र बेताल रहेको स्थानमा बलि दिने निर्णय भएको छ।
भैरवनाथको रथ तान्दै टौमढीबाट पूर्व बढीमा बुलुबुलु हिति (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म लगिनेछ। यसका लागि दुई समूहबीच होस्टे हैंसे गर्दै रथ आफ्नो टोलमा लग्न प्रतिस्पर्धा नै चल्छ।
भैरवनाथको रथलाई 'होस्टे हैंसे' गर्दै तानातान गरिरहेका बेला तपाईं बेताल हेर्न नबिर्सनुस् है। उसको उट्पट्याङ सम्झँदै मुसुमुसु हाँस्नुहोस्। पिट्न र हप्काउन चाहिँ पाइन्न नि!
अँ साँच्चै, सामाजिक दुरी कायम गर्न नबिर्सनुस् नि!