शनिबार कर्णाली पुलमा सधैझैं घुमफिरका लागि पुगेका आन्तरिक पर्यटकहरू पुलमाथि रमाइरहेका थिए। समूह-समूह बनाएर केहीले फोटो खिचिरहेका थिए भने केहीले भिडिओ बनाइरहेका थिए।
पुलको सुरक्षार्थ खटिएका चौकीदारले भीड नियालिरहेका थिए। कर्णाली पुलमा भीडलाई व्यवस्थित पार्न, पर्यटकहरू आए/गएको विवरण राख्न र रेखदेखका लागि भनेर सडक विभागले दुई जना चौकीदार राखेको छ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घ बोगटीका अनुसार पुलमा दैनिक बाक्लो संख्यामा मानिसहरू आउने गरेको बताए।
‘शैक्षिक भ्रमण, पिकनिक र घुमघामका लागि पछिल्लो समय बाक्लो संख्यामा मानिसहरू चिसापानी पुल आउँछन्,’ उनले भने।
यसैबीच कैलालीको लम्कीस्थित ब्राइट फ्युचर अंग्रेजी स्कुल कक्षा १० मा पढ्ने ८ जना किशोर पनि दिउँसो तीन बजेतिर चिसापानी पुगेका थिए।
उनीहरूले शुक्रबार नै चिसापानी जाने भनेर योजना बनाए पनि घर परिवारलाई खबरै नगरी त्यहाँ पुगेको प्रहरी निरीक्षक बोगटीले बताए।
‘उनीहरू विदाका दिन घुम्न भनेर शुक्रबारै योजना बनाएर घरमा खबरै नगर हिँडेका रहेछन्,’ उनले सेतोपाटीसँग भने।
दिउँसो पुलमा पुगेर उनीहरू रमाइलो गर्न थाले। केहीले फोटो खिचे। केहीले भिडिओ बनाउन थाले। सँगै गएका ८ जनामध्ये ५ जना पुलको एकापट्टि बसे भने बाँकी ३ जना पुलको अर्कोपट्टी थिए।
बोगटीका अनुसार यसैबीच उनीहरू आपसमा जिस्कदै नदीमा हाम फाल्न सक्छौं कि, सक्दैनौ?, म सक्छु भन्दै ठट्टा गर्न थाले।
जिस्कदा जिस्किदै केही समयपछि ३ जनाको समूहमा रहेका लम्कीका १७ वर्षीय लोकेश प्याकुरेलले कर्णालीमा हाम फाले।
उनलाई देखेर उनीसँगै रहेका १८ वर्षीय सन्जय खड्का पनि नदीमा हाम फाले। त्यसपछि १७ वर्षीय वीरेन्द्र सिंह पनि लोकेश र सन्जयले जसरी नै नदीमा हाम फाले।
उनीहरू एक पछि अर्को गर्दै हाम फालेको पुलमा रहेका अरू युवाले पनि देखेका थिए।
प्रहरी निरीक्षक बोगटीका अनुसार नदीमा र्याफ्टिङ गरिरहेकाले पनि उनीहरूलाई हाम फाल्दै गरेको देखेका थिए।
‘कतिपयले उनीहरू हाम फालेको भिडिओ पनि बनाएका रहेछन्’, उनले भने।
हाम फाल्नेमध्येका वीरेन्द्र सिंहले साथीहरूलाई बचाउन आफूले नदीमा हाम फालेको प्रहरीलाई जवाफ दिएका छन्।
‘लोकेश र सन्जयलाई आफूले हाम नफाल भनेको तर उनीहरूले नमानेपछि आफूले उनीहरूलाई बचाउनका लागि हाम फालेको हुँ’,वीरेन्द्रको भनाइ उद्धृत गर्दै निरीक्षक बोगटीले भने।
बोगटीका अनुसार तीन जनामध्ये वीरेन्द्रलाई राम्ररी पौडी खेल्न आउँथ्यो। अरू दुई जना अलिअलि पौडी खेल्न सक्थे।
‘पौडी खेल्न जानेकाले नै म नदी बाहिर निस्किएको र मलाई चोट पनि कम लागेको तर साथीलाई राम्रोसँग पौडी खेल्न नआएकाले चोट लागेको हो’, वीरेन्द्रले प्रहरी बयानमा भनेका छन्।
वीरेन्द्र पौडी खेलेर नदीबाहिर आए। घाइते भएका लोकेशलाई डुंगावालाले उद्धार गरे। लोकेशको छाती पानीमा बजारिएको हुनाले घाइते भए।
घटनाको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल पुगेर प्रहरीले वीरेन्द्रलाई सोधपुछ गर्दा आफूहरू जिस्केर नदीमा हाम फालेको र साथीहरूलाई बचाउन आफूले पनि हाम फालेको जवाफ दिएका थिए।
उद्धार गरी बाहिर निस्किएका लोकेश घाइते भई बोल्न सक्ने अवस्थामा थिएनन्। उनको नाकबाट रगत बगिरहेको थियो। छातीमा समेत चोट लागेकाले तत्कालै उनलाई उपचारका लागि प्रहरीले नेपालगन्ज पठायो।
नदीमा हाम फालेका सन्जय फेला परेनन्। उनको खोजीका लागिस शस्त्र प्रहरी बल, नेपाल प्रहरी र आफन्तले टीकापुरबाट दुई वटा र्याफ्ट ल्याएर खोजी तीव्र पारेको प्रहरी निरीक्षक बोगटीले बताए।
२४ घन्टा बितिसक्दा पनि उनको केही पत्तो नलागेको बोगटीले बताए।
‘हामीसँग स्रोत साधन छैन, र्याफ्टिङबाट मात्रै हो उद्धार गर्ने हो। अहिले पनि हामीले खोजी कार्य जारी राखेका छौं, अझैं भेटिएको छैन’, उनले भने।
बेपत्ता किशोर मामा-माइजुसँग बस्दै आएका थिए। उनका आमाबुबा कामको शिलशिलामा भारत गएका थिए। घटनाबारे थाहा पाएपछि रातारात गाडी रिजर्भ गरेर उनी छोराको खोजी गर्न नेपाल आइपुगेका छन्।
सुदूर पश्चिम प्रवेशद्वारको रूपमा रहेको कर्णाली पुल मुलुककै नमूना पुल हो। शान्तसँग बगिरहेको कर्णाली नदीमाथि बनेको यो पुल हेर्न विभिन्न ठाउँबाट मानिसहरू चिसापानी आउने गर्छन्।
कैलाली र बर्दियाको सिमानामा पर्ने यो पुलबाट चुरेको दक्षिणी डाँडाहरू हेर्न सकिन्छ। यहाँ पर्यटकका लागि भनेर होटल र लजसमेत सञ्चालनमा छन्।
कर्णालीका माछाका लागि पनि यो ठाउँ प्रसिद्ध छ।
पछिल्लो समय फेसबुक र टिकटकमा फोटो तथा भिडिओ बनाएर राख्नकै लागि टाढा टाढाबाट मानिसहरू कर्णाली पुल पुग्ने गर्छन्।