काठमाडौं टुँडिखेलमा घोडेजात्रा चलिरहँदा हामी पाटन दरबार स्क्वायर पुग्यौं। ठाउँ फरक भए पनि उद्देश्य थियो, घोडेजात्रा हेर्ने। स्थानीय नेपाल भाषामा भन्दा ‘याकः सल जात्रा’।
टुँडिखेलको खुला मैदानमा सेनाको परेड चल्छ, पाटनमा भने महर्जन समुदायका गुठियारहरूले घोडेजात्रा चलाउँछन्।
पाटन दरबारको मूल चोकको ढोका उत्सवका लागि खोलिएको थियो। त्यहाँ रातो रंगको घोडा थियो। सिंहदरबारको राजदल गुल्मबाट सेनाको अनुमतिमा त्यहाँ ल्याइएको रहेछ। भीमसेन गुठी च्योः खलका गुठियारहरू पालैपालो त्यो घोडा चढ्न थाले, मूलचोकको फन्को मारे।
केही समयसम्म यो क्रम चल्यो।
एकछिनमा दौरा-सुरूवाल, ढाका टोपी र ढाकाकै इस्टकोट लगाएका, अनुहारमा अबिर घसेका मान्छे आए। उनी पनि घोडामा त्यसैगरी चढे अनि मूलचोकको फन्को मारे।
उनको नाम सूर्यमान महर्जन हो। उनी आजको घोडा चढ्ने मुख्य व्यक्ति हुन्।
उनी घोडासँगै मूलचोकको मूलढोकाबाट दरबार स्क्वायरतिर निस्किए। त्यहाँबाट वल्खु, भोलढोका हुँदै बालकुमारी मन्दिर पुगेर पूजाआजा गरेपछि जात्रा सम्पन्न हुने रहेछ।
हामी उनी सँगसँगै हिँड्यौं।
घोडाको पछिपछि झिलिमिली तासको छातामुनि केही बुढापाका थिए। केहीले चिलाखः बोकेका थिए, केहीले खड्ग। उनीहरूसँग कुराकानी गर्दै जाँदा कोही राजा, कोही मन्त्री त कोही सेनाको प्रतिनिधित्व गरिरहेका रहेछन्।
भाइलाल महर्जनले हातमा खड्ग बोकेका थिए। तासकै कपडामा बेरिएको खड्ग मल्लकालीन भएको बताउँदै उनले भने, ‘पहिले पहिले घोडाको पछि पछि राजा हिँड्थे। मैले त्यही राजाको प्रतिनिधित्व गरेको हो। करिब २६ वर्ष भइसक्यो।’
उनी यहाँको जात्रा काठमाडौंको भन्दा पुरानो भएको दाबी गर्छन्। काठमाडौंमा घोडेजात्रा सुरू भएको राणाकालतिर हो। जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि त्यसैकै सिको गर्दै उनले घोडा दौडाउन सुरू गरेका थिए।
यहाँको जात्रा कति पुरानो भन्ने धेरैले जानकारी नभएको बताए। केहीले भने सिद्धिनरसिंह मल्लको पालामा सुरू भएको हुनसक्ने अनुमान गरे।
‘मसान्तको दिनमा राजाको थान मानिने भोलढोकाको गणेशमा बलि दिएर लिंगो ठड्याउनुपर्छ,’ भाइलालले भने।
घोडाले टोल परिक्रमा गर्ने क्रममा वल्खु चीबहाः परिक्रमा गर्यो। त्यसपछि भोलढोकादेखि बालकुमारीसम्म तीनपटक ओहोरदोहोर गर्यो। बालकुमारी मन्दिरमा अघिल्लो दिन नै यसिं (लिंगो) ठड्याइएको थियाे। त्यसलाई घोडाले छुनुपर्ने रहेछ।
त्यसपछि त्यहाँबाट घोडा सैनिकलाई नै फिर्ता दिइयो। त्यसअघि घोडामा बसेका सूर्यमानले सबैलाई देखाएर पान खाए। घोडा चढेर आएपछि हामीसँग कुरा गर्दै उनले भने, ‘तिमीले राम्रो काम गर्यौ भन्दै राजा बनेका मान्छेले मलाई पान दिनुहुन्छ। त्यसलाई सबैलाई देखाएर खानुपर्छ।’
उनले यसरी लगातार घोडा चलाउन थालेको तीन वर्ष भएछ। घर निर्माणको ठेकेदारी काम गर्ने उनले त्यसैमा व्यस्त हुँदा यसपालि दुई–तीन दिन मात्र घोडसवारी अभ्यास गर्न पाएको बताए।
‘हेर्नु न! फुर्सद नै छैन। त्यही पनि सरकारले आउनू भन्छ। अनि आफ्नो गुठीकै लागि हो भनेर समय निकालेँ,’ उनले भने।
घोडा चलाउनसक्ने दक्षता हेरेर च्योः खलःले गुठियार छनोट गर्छ। गुठिआजु, नाइके सबैले हेरेपछि त्यो जिम्मा सूर्यमानले पाएका रहेछन्। हाल उनी ५५ वर्षका भए। बाजे-बराजुदेखि चलिआएको संस्कृति जोगाउन यसमा सामेल भएको उनी बताउँछन्।
‘आफ्नो व्यस्ताका कारण अर्को वर्ष भाइ अष्टमानलाई यो जिम्मेवारी दिने सोच बनाएको छु,’ उनले भने।
त्यहाँ घोडेजात्रा सकिएपछि मन्दिर अगाडि रहेको यसिं ढालियो र चिलाखः निभाइयो। त्यसपछि त्यहाँ खटजात्रा लग्ने तर्खर हुँदै थियो। त्यसका लागि बालकुमारी मन्दिरमा त्यागलको बालकुमारी अघिल्लो रात नै ल्याइएको थियो।
त्यागलको बालकुमारी मूर्ति वर्षको दुईपटक यहाँ ल्याउनुपर्ने स्थानीय नवराज नकर्मीले बताए।
‘एकपटक त्यागलको बालकुमारीको मूर्ति चोरी भएर बाहिर लग्न लाग्दा विमानस्थलमा फेला पर्यो। त्यसपछि फिर्ता ल्याइयो,’ उनले भने, ‘बालकुमारी मन्दिरकै गजुर पनि चोरी हुन लाग्दा चोर्न पाएको थिएन।’
त्यहाँको बालकुमारीमा पूजा भएपछि बोका र हाँस काटेर बालकुमारीलाई चढाएपछि खटमा राखेर टोलटोलमा लगियो।
बालकुमारीबाट पिन्छेँ, पिलाछेँ, त्यागल, द्यालाछेँ, मंगलबजार हुँदै नगर परिक्रमा गरेर फेरि त्यागलमै लगेर बालकुमारीको मूर्ति प्रतिस्थापन गरेपछि जात्रा सम्पन्न भयो।
विभिन्न टोलमा मान्छेहरूले समयबजी, ऐला, छोयला, योमरी लगायत परिकार भगवान र सँगै हिँडेका बाजा खलः र गुठियारलाई खुवाए। द्यालाछेँमा भने एक हात ठूला तीन योमरि पात्रवंश समुदायले ल्याएका थिए। त्यो योमरि त्यहीँका स्थानीयलाई बालकुमारीको खट माथिबाट फालिएको थियो।
त्यस विषयमा बताउँदै बालकुमारीका पुजारी लक्ष्मण कर्माचार्यले भने, ‘उनीहरूले ३६० रोपनी जग्गा बालकुमारीलाई चढाएका थिए। त्यहीँबाट उब्जनी भएको नयाँ चामलको पीठोको योमरि भगवानलाई चढाएका हुन्।’