गत दश दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमित भर्ना हुने क्रम बढिरहेको छ। तिहारपछि शून्य संक्रमित रहेका टिचिङ, टेकु अस्पतालमा अहिले २० जनाभन्दा बढी संक्रमित भर्ना भएका छन्।
पछिल्लो समय कोरोनाको नयाँ अर्थात 'यूके भेरियन्ट' फैलिन क्रम बढेसँगै अस्पतालमा भर्ना हुने संक्रमित बढ्न थालेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
यो नयाँ भेरियन्ट अघिल्लो भेरियन्टभन्दा घातक रहेका कारण अस्पतालमा भर्ना हुने संक्रमित बढेको विज्ञहरूको विश्लेषण छ।
उपत्यकासँगै बाहिरका अस्पतालहरूमा समेत भर्ना हुने संक्रमित दिनदिनै बढ्दै गएको छ। विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाका अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको छ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले चार जना संक्रमित उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
'आजैमात्र भारतबाट आएका एक जनालाई आइसियूमा भर्ना गरेका छौं। उहाँको अवस्था गम्भीर छ। सायद भेन्टिलेटरमा पनि राख्नुपर्ने अवस्था आउनसक्छ,' उनले भने।
श्रेष्ठले लामो समय अस्पतालमा शून्य संक्रमित रहेकोमा चैत पहिलो साताबाट भने विस्तारै भर्ना गर्नुपर्ने संक्रमित बढेको बताए।
अहिले दैनिक संक्रमण पोजेटिभ आउने संख्या नै बढेको बताउँदै उनले भने, 'अहिले सीमामा भारतबाट आउनेहरूको एन्टिजेन परीक्षण भइरहेको छ। जसमा पोजेटिभ आउनेको संख्या बढिरहेको छ।'
तर अस्पतालले पोजेटिभ आएका सबै संक्रमितलाई भर्ना भने लिएको छैन।
श्रेष्ठका अनुसार अस्पतालले अहिले जटिल अवस्था भएका संक्रमितलाई मात्र भर्ना लिने गरेको छ।
उनले श्वासप्रश्वासमा समस्या देखिए वा अन्य जटिल अवस्था भएमात्र भर्ना गरिने बताए।
बाँकी संक्रमितलाई भने अस्पतालले काउन्सिलिङ गरेर घरमै 'होम-आइसोलेसन' वा क्वारेन्टिनमा बस्न सुझाउँदै आएको श्रेष्ठले जनाए।
त्यस्ता संक्रमितहरू अस्पताल आउनेक्रम दिनदिनै बढिरहेको उनले बताए।
'साधारण लक्षण भएकालाई 'होम-आइसोलेसन' मा जानु भन्छौं। सीमामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आउनुबित्तिकै अस्पतालमै आउनुहुन्छ। त्यसपछि उहाँहरूलाई सम्झाइबुझाइ गरेर घरमै बस्न वा नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा पठाउँछौं,' श्रेष्ठले भने।
उनले पछिल्लो समय संक्रमण दर बढिरहेको हुँदा अस्पतालमा भर्ना गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्ने बताए।
अहिले चैते दसैंको छेको पारेर भारतबाट आउनेहरूको संख्या बढेको बताउँदै श्रेष्ठले त्यहाँबाट संक्रमण पनि भित्रिने जनाए।
यसअघि कोरोनाको पहिलो लहरमा 'हटस्पट' बनेको वीरगंजमा पनि संक्रमण बढेको छ।
अहिले कोही पनि संक्रमित भर्ना नभएको भए पनि पोजेटिभ केस भने रहेको नारायाणी अस्पतालका चिकित्सक अतुलेश चौरसियाले जानकारी दिए।
'अहिले अस्पतालमा संक्रमित नभए पनि 'केस' बढिरहेको छ। हिजोमात्र ६० जनाको परीक्षण गर्दा २८ जना पोजेटिभ देखियो। यसरी नै संक्रमण बढिरहे पाँच प्रतिशत संक्रमित जटिल अवस्थामा पुग्न सक्छन् र उहाँहरूलाई भर्ना गर्नुपर्ने स्थिति आउनसक्छ,' उनले भने।
नारायणी अस्पतालले पनि संक्रमितमा गम्भीर समस्या देखापरे मात्र भर्ना गरिने जनाएको छ। बाँकी संक्रमितहरूलाई भने काउन्सिलिङ गरेर घरमै बस्न अनुरोध गरिने डा. चौरसियाले बताए।
यस्तै, विराटनगरस्थित कोसी अस्पतालमा पनि गत बुधबारदेखि भर्ना हुने संक्रमित बढेको छ।
अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवका अनुसार गत बुधबारदेखि सात जना संक्रमित भर्ना भएका छन्। जसमा एक जनाको हिजो मृत्यु भएको थियो। अहिले भने दुई जना संक्रमित उपचाररत् रहेको उनले बताए।
बुधबारअघि भने अस्पतालमा शून्य संक्रमित रहेको डा. यादवले जनाए।
उनले फेरि संक्रमण दर बढेको बताउँदै भने, 'शुक्रबारमात्र २८ जनाको पिसिआर परीक्षण गर्दा ११ जना पोजेटिभ देखियो। हिजो पनि तीन जनामा संक्रमण पुष्टि भयो। पछिल्लो समय फेरि केस बढ्न थालेको छ।'
कोसी अस्पतालले पनि जटिल अवस्थाका संक्रमितहरूलाई मात्रै भर्ना गरिरहेको छ। बाँकी संक्रमितहरूलाई बने अन्य अस्पतालले जस्तै काउन्सिलिङ गरेर घरमै बस्न अनुरोध गर्दै आएको छ।
'श्वासप्रश्वासमा समस्या देखिए, अक्सिजनको सहायता चाहिएका संक्रमितलाई मात्र भर्ना लिन्छौं। बाँकीलाई भने घरमै बस्न भन्छौं,' उनले भने।