पछिल्लो समय व्यापक फैलिरहेको कोरोनाको नयाँ अर्थात् 'यूके भेरियन्ट' बाट १८ वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको बताइएको छ।
उक्त भेरियन्ट नेपालमा पनि भित्रिएको भन्दै सरकारले विशेष सतर्कता अपनाउन भनेको छ।
जापानको ओसाका सिटी विश्वविद्यालय मेडिकल स्कुलबाट मेडिकल साइन्स (भाइरोलोजी)मा विद्यावारिधी गरेकी डा लुना भट्टका अनुसार 'यूके भेरियन्ट' बाट १८ वर्षमुनिका बालबालिका बढी जोखिममा पर्नुका मुख्य तीन कारण छन्।
पहिलो कारण- 'यूके भेरियन्ट' पहिलेको भन्दा बढी आक्रमक छ। यसले जसलाई पनि सहजै आक्रमण गर्नसक्छ।
डा. भट्ट भन्छिन्, 'यूके भेरियन्टभित्रै पनि पहिलेभन्दा केही परिवर्तन आएको छ। पहिले पनि सजिलै फैलिने त थियो तर यति धेरै भन्ने चाहिँ थिएन। पहिले संक्रमण भइसकेकालाई फेरि हुने भन्ने थिएन तर अहिले संक्रमण भइसकेकालाई पनि पुनः संक्रमण हुन्छ भन्ने छ।'
दोस्रो- बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। उनीहरूमा रोगसँग लड्ने क्षमता मज्जाले विकसित भइसकेको हुँदैन। जसले गर्दा संक्रमणसँग जुध्ने क्षमता उनीहरूमा कमजोर हुन्छ।
'बच्चा हुर्किंदै जाँदा प्रतिरोधात्मक क्षमता पनि विस्तारै बढिरहेको हुन्छ। १८ वर्षमै प्रतिरोधात्मक क्षमता बलियो भइसकेको हुँदैन। त्यसैले उनीहरू बढी जोखिममा हुन्छन्,' डा. भट्ट बताउँछिन्।
यदि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भए सुरूमै भित्रिएको भाइरसले उनीहरूलाई किन बढी आक्रमण गरेर भन्ने प्रश्नमा उनले पहिलेको भाइरस अहिलेको नयाँ भेरियन्ट जस्तो बढी आक्रमक नभएको जनाइन्।
थप प्रष्ट्याउँदै उनले भनिन्, 'पहिलेको भाइरस यति धेरै फैलिने खालको थिएन। साथै 'रिसेप्टर' (भाइरस टाँसिने भाग) मा पहिलेको भाइरस मज्जाले टाँसिन्दैनथ्यो। जसले गर्दा भाइरस सजिलै अन्य भागमा फैलिनसक्थेन। तर अहिलेको नयाँ भेरियन्ट 'रिसेप्टर' मा मज्जाले टाँसिन्छ। त्यसले गर्दा बालबालिका बढी जोखिममा छन्।'
तेस्रो- बालबालिकाहरू पहिले यो भाइरससँग कम संक्रमित हुनु हो। जसले गर्दा उनीहरूमा संक्रमणविरूद्ध लड्ने 'एन्टिबडी' बनेको नहुने डा. भट्ट बताउँछिन्।
उनका अनुसार पहिले संक्रमण भइसकेको मानिसमा 'एन्टिबडी' बन्न सुरू गर्छ र त्यसले पुनः संक्रमण हुनबाट बचाउँछ। साथै संक्रमण भइहाले पनि त्यसविरूद्ध लड्न मद्दत गर्छ।
तर बालबालिकामा भने पहिलोपटक संक्रमण देखिने सम्भावना रहेको भन्दै उनीहरूमा भाइरसविरूद्ध लड्ने कुनै एन्टिबडी बनिसकेको हुँदैन। जसले गर्दा संक्रमण भइहाले बालबालिकालाई थप गाह्रो हुनसक्ने डा. भट्ट बताउँछिन्।
'बालबालिकामा एन्टिबडी बनिसकेको हुँदैन। त्यसले गर्दा संक्रमण भइहाले उनीहरूलाई थप गाह्रो हुनसक्छ। ओठ सुनिने, रगत जम्ने, एलर्जी भएजस्तो हुने र श्वासप्रश्वासमा समेत समस्या देखिनसक्छ,' उनले भनिन्।
यद्यपि बालबालिकालाई संक्रमण भइहाले उनीहरूमा एन्टिबडी उत्पादन नहुने भन्ने हुँदैन।
उनका अनुसार संक्रमण भइसकेपछि शरीरमा दुई प्रकारका एन्टिबडी उत्पादन हुन सुरू गर्छ। पहिलो भनेको आइजिएम र दोस्रो आइजिजी। आइजिएम संक्रमण भएको पहिलो सातामै बन्न सुरू गर्छ भने आइजिजी कम्तीमा दश दिनबाट उत्पादन हुन थाल्छ।
अर्को कुरा भनेको आइजिजीको तुलनामा आइजिएम एन्टिबडी निकै कमजोर हुन्छ। अर्थात् यसको संक्रमणविरूद्ध लड्ने क्षमता कम हुन्छ। आइजिएम हप्ता दिनभित्र हराएर जान्छ भने आइजिजी लामो समयसँग रहनसक्छ।
तर बालबालिकाको हकमा भने बढी आइजिएममात्रै सक्रिय हुनेगर्छ।
'बालबालिकामा पनि संक्रमण भएपछि एन्टिबडी त बन्छ तर एन्टिबडी आइजिएमबाट आइजिजीमा परिवर्तन नै नहुने समस्या देखा पर्नसक्छ,' डा. भट्टले भनिन्।
गुणस्तरीय हिसाबले हुने दुइटा एन्टिबडीमध्ये पनि बालबालिकामा भने नचाहिने एन्टिबडी बढी उत्पादन हुने हुँदा त्यसले झन् बेफाइदा पुर्याउने उनले बताइन्।
उनका अनुसार गुणस्तरीय हिसाबले शरीरमा दुई प्रकृतिको एन्टिबडी हुन्छ।
पहिलो भनेको भाइरसलाई 'न्युट्रलाइज' (समातेर राखिराख्ने) गर्ने र दोस्रो न्युट्रलाइज नगर्ने।
डा. भट्टले बालबालिकामा भने भाइरसलाई नसमात्ने एन्टिबडी बढी उत्पादन हुने बताइन्। जसले गर्दा भाइरसहरू जथाभावी कोषहरूमा टाँसिने र बढी फैलिने जोखिम रहन्छ।
'एन्टिबडी आफैंले भाइरसलाई खाँदैन। यसले त समात्ने मात्र काम गर्ने हो। पछि अरू कोषहरू आएर अवस्था हेरेर भाइरसलाई आक्रमण गर्ने हो,' उनले भनिन्।
पछिल्लो समय 'यूके भेरियन्ट' नेपालमा पनि भित्रिएको र यसबाट बालबालिका बढी जोखिममा रहेका कारण उनीहरूप्रति विशेष ध्यान पुर्याउनुपर्ने डा. भट्टको सुझाव छ।
उनले नयाँ भेरियन्टबाट ४० वर्षमुनिका मानिसहरू र त्यसमा पनि बढी १८ वर्षमुनिका प्लस टु र स्कुलमा पढ्ने विद्यार्थीहरू बढी जोखिममा रहेको बताइन्।