हत्या गरी फरार भएका व्यक्तिलाई १८ वर्षपछि प्रहरीले भारतबाट पक्राउ गरेको छ।
बर्दिया प्रहरीले हत्या गरी फरार रहेका भारतबाट कृपाराम खटिकलाई पक्राउ गरेको हो।
उनलाई सोमबार बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए।
उनले २०६० साल कात्तिक १० गते खटिक लगायत ९ जनाले सोह बढैयाताल गाउँपालिका-३ बस्ने जितबहादुर गोदार क्षेत्रीको हत्या गरेका थिए।
प्रहरीका अनुसार उनीहरूले बञ्चरोले प्रहार गरेर क्षेत्रीको हत्या गरेका थिए। सो मुद्दामा बर्दिया जिल्ला अदालतले २०६८ जेठ १० गते २० वर्ष कैद सजाय तोकेको थियो। यसमा संलग्न अरूले कैद सजाय बिताए पनि मुख्य व्यक्ति खटिक भने फरार थिए।
‘उनी घटनापछि फरार भए। हामीले उनलाई पक्राउ गर्न १५ दिन लगायौं,’ एसपी कार्कीले भने,'लामो समयको खोजीपछि पक्राउ परे।’
कार्यालयले उनलाई बर्दियाबाट पक्राउ गरेको बताए पनि उनी भारतको रुपैडियाबाट पक्राउ परेको प्रहरी स्रोतले जनायो।
उनलाई प्रहरीले सोमबार नै जिल्ला अदालत गुलरियामा उपस्थित गराएको थियो। त्यस्तै, जेल चलान समेत गराइसकेको कार्यालयले जनाएको छ।
उनले क्षेत्रीको हत्या गरेपछि परिवारसहित नै भारतमा भागेका थिए। उनले करिब ९ वर्षसम्म रुपैडिया, नानपारा लगायतका क्षेत्रमा मजदुरी गर्ने गरेका थिए।
‘यता हत्या गरेर परिवारसहित भारत भाग्यो। त्यहाँ मजदुरी, खेती किसानी गरेर घर नै बनाएर बसेको रहेछ,’ एसपी कार्कीले भने, ‘९ वर्षदेखि रुपैडियाको मोहनपुरमा परिवारसहित नै बस्दै गरेको रहेछ।’
पछिल्लो समय उनले आफ्नै धानको मिल सञ्चालन गरेर कृषि तथा भैंसी पालनको व्यवसाय समेत सञ्चालन गरेको उनले बताए।