सुर्खेत बराहताल गाउँपालिका-५ सुनद्वारी गाउँका घरबारीमा गत शुक्रबार नजिकैको स्कुलबाट विद्यार्थी आए।
किसानको घर-घरमा पुगेर उनीहरूले सोधे, 'तपाईंहरू कसरी खेती गर्नुहुन्छ?'
किसानले आफूले लगाउने बाली, ती बाली लगाउने तरिका, तिनको बजारबारे धेरै कुरा बताइदिए।
बराहताल-५ को जनज्योति माध्यमिक विद्यालयमा आइएसी एजी (कृषि विज्ञानमा प्रमाणपत्र तह) दोस्रो वर्षमा अध्ययनरत छात्रा कोपिला शाही आफ्नो समूह लिएर शुक्रबार नजिकैको सुनद्वारी गाउँमा पुगेकी थिइन्।
उनको समूहलाई किसानले आफ्नो खेतीमा भोग्नु परेको समस्या पनि सुनाएका थिए।
कोपिलाको समूहका विद्यार्थीले बालीमा रोग लागे के गर्ने, आधुनिक प्रविधि के-के छन्, तिनको प्रयोग कसरी गर्ने भनेर आफूले कक्षामा पढेको कुरा किसानलाई सुनाए।
‘हामी सुनद्वारीका दश घरमा गयौं, किसानका धेरैथरी समस्या रहेछन्। तीमध्ये धेरैले प्रावधिक सेवा ज्ञान छैन भने। कतिपयको गुनासो भने उन्नत जातको बिउ लगायौं तर उत्पादन भएन। उत्पादनको बजार भएन भन्ने थियो,’ कोपिलाले सेतोपाटीसँग भनिन्,'हामीले आफूले जानेका कुरा सिकाएर आयौं।'
आउँदो शुक्रबार पनि उनीहरू आफ्नो तोकिएको क्षेत्रमा किसान भेट्न जानेछन्।
विद्यालयमा भएको उन्नत जातको बिउ लिएर कृषकलाई वितरण गर्ने र त्यसको उपयोगबारे उनीहरूलाई परामर्श दिने योजना छ।
स्कुलको ‘विद्यार्थीसँग किसान’ कार्यक्रमअन्तर्गत यसरी कृषकसँग कुरा गर्न थालेका हुन्। कार्यक्रमले कृषि प्राविधिक समूहका विद्यार्थीलाई किसानको बारीमै पठाउने व्यवस्था गरेको छ।
यो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक कक्षामा सहयोग पुग्ने र किसानलाई नि:शुल्क प्राविधिक लाभ मिल्ने अपेक्षा स्कुलले गरेको छ।
विद्यालयमा पढिरहेका ३०० जना प्राविधिक समूहका विद्यार्थीलाई ३० वटा समूहमा विभाजन गरिएको छ। एउटा समूहमा १० जना विद्यार्थी छन्। उनीहरू हरेक शुक्रबार विद्यालय बन्द भएपछि नजिकैका किसानका घर-बारीमै पुग्छन्।
'हामी स्कुलमा बालीमा लाग्ने रोगबारे पढ्छौं। यही विषयमा हामी फिल्डमा गयौं भने त्यो रोगको असर प्रत्यक्ष देख्न पाउँछौं र यसको नियन्त्रणका लागि आफूले पढेका उपाय किसानलाई सिकाउन पाउँछौं,’कोपिलाले भनिन्।
प्रधानाध्यापक नारायण सिग्देलका अनुसार विद्यालयमा प्राविधिक विषयमा ३ सय २० विद्यार्थी छन्। विद्यालय वरपर थुप्रै कृषक भएकाले विद्यार्थीलाई कृषकसँग प्रत्यक्ष पठाएर विद्यार्थीको प्रयोगात्मक र कृषकलाई प्राविधिक सहयोग पुग्ने गरी यो कार्यक्रम सुरू गरिएको उनले बताए।
‘हाम्रा प्राविधिक विद्यार्थीलाई किसानसम्म पुग्ने बाटो बनाउन यो कार्यक्रम सञ्चालन गरेका हौं,' उनले भने, 'किसान र विद्यार्थीको प्रत्यक्ष सम्पर्क भए प्राविधिक विद्यार्थीले किसानसँग भएका परम्परागत खेतीबारे सिक्ने र किसानलाई चाहिएका आधुनिक खेतीबारे विद्यार्थीले जानकारी दिन सक्छन्।’
यो कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय युवा परिषद्ले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकममध्ये केही पैसाले कृषकलाई भेट्न जाँदा उपहार दिन उन्नत जातको बिउबिजन खरिद गरिएको सिग्देलले बताए।
अहिले एक जना किसानसँग एकजना विद्यार्थी समावेश गरिएको र पछि विस्तारै एउटा विद्यार्थीले धेरै कृषकलाई समेट्न सक्ने वातावरण मिलाउने योजना रहेको प्रधानाध्यापक सिग्देलले बताए।
‘भोलिका दिनमा प्राविधिक विद्यार्थीले आफ्नो प्रयोगात्मक कक्षाकै लागि भए पनि धेरै कृषकलाई समेट्न सके भने बराहताल गाउँपालिकाभरका किसानलाई विद्यार्थीबाट नि:शुल्क प्राविधिक सहयोग पुग्न सक्ने हुन सक्छ,’ उनले भने।
विद्यालयले विद्यार्थीलाई फिल्ड जाँदा लगाउन ‘जे गर्छु, नेपालमै गर्छु’ लेखिएको टि-सर्ट दिएको छ। विद्यार्थीलाई स्वदेशमै केही गर्न उत्प्रेरणा मिलोस् भनेर उक्त टि-सर्ट दिइएको सिग्देलले बताए।
उनका अनुसार ‘विद्यार्थीसँग किसान’ कार्यक्रम एक चरणमा ९० दिन सञ्चालन हुनेछ।
जसमा १२ देखि १४ वटा शुक्रबार पर्छन्।
‘विद्यार्थीको समूहमा प्राविधिक शिक्षक पनि हुन्छन्। विद्यार्थीलाई १ हजार र शिक्षकलाई ५०० देखि १ हजार रूपैयाँसम्म खर्च दिएर कृषककहाँ पठाउने छौं,’ सिग्देलले भने।
हप्तामा दुई/तीन दिनसम्म पनि कृषकसम्म विद्यार्थीलाई प्राविधिक सहयोग गर्नका लागि पठाउन सकिन्छ कि भन्नेबारे छलफल भइरहेको उनले बताए।
अहिले एउटा घर बराबर एकजना विद्यार्थी प्रत्यक्ष सम्पर्कमा हुने र यसबाट छिमेकीले पनि लाभ पाउने अपेक्षा सिग्देलको छ।
‘अब प्राविधिक विषय कालोपाटीमा पढाएर साध्य छैन। कालोपाटीमा चित्र कोरेको लौका, फर्सी पढेर काम छैन। माटोमै फलेको देखेर पढ्ने-जान्ने वातावरण हामी सिर्जना गर्दैछौं,’ उनले भने।
विद्यालयमा कार्यरत् डा. सरोज श्रेष्ठका अनुसार यो कार्यक्रममार्फत् किसान र विद्यार्थीलाई बारीमै अन्तर्क्रिया पनि गराइन्छ।
‘यो कार्यक्रम गर्ने क्रममा विद्यार्थी पनि एकदमै उत्साहित देखिनुभयो, हामीलाई पनि यो कार्यक्रम फलदायी हुन्छ भन्ने आशा छ,’ डा. श्रेष्ठले भने।
कार्यक्रममले विद्यार्थीलाई भोलि कार्यक्षेत्रमा कसरी काम गर्ने भन्ने ज्ञान दिने श्रेष्ठको भनाइ छ।
‘फिल्डमा गएका विद्यार्थीले त्यहाँको परम्परागत कृषिबारे बुझेर उनीहरूलाई कसरी व्यवसायी बनाउने भनेर पनि अभ्यास गर्नुहुन्छ,’ उनले भने।
स्थानीय कृषक शेरबहादुर सलामीले विद्यार्थी आफूसँग आउन थालेपछि नयाँ कुरा सिकेको र सिक्ने जाँगर बढेको बताए।
‘विद्यार्थी हामीसँग आउने गरेपछि हामीलाई पनि सजिलो भएको छ, काम गर्ने तरिका र समय तालिकाबारे पनि उहाँहरूले सिकाउनुहुन्छ। हामीलाई उत्साह पनि बढेको छ,’ उनले भने, ‘हामीले पुरानो विधिमा खेती गर्ने गरिराखेका छौं, अब नयाँ तरिकाले गर्नुपर्छ भनेर उहाँहरूले हामीलाई भन्नुहुन्छ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक मर्स्याङ्दीले किसान र प्राविधिकबीच देखिएको अन्तरलाई कम गर्न पनि विद्यालयले सञ्चालन गरेको ‘विद्यार्थीसँग किसान’ कार्यक्रमले सहयोग गर्ने बताए।
‘किसान आफैंमा विज्ञ भए पनि परिवर्तन भइरहने प्राविधिक ज्ञान हुँदैन, यो ज्ञान कृषकलाई प्रदान गर्न हाम्रो यो कार्यक्रमले सहयोग गर्नेछ,’ उनले भने।
सबै तस्बिरहरू: दीपकजंग शाही/सेतोपाटी