कोरोनाले काम गर्न नसक्ने अवस्था भएपछि धनगढी-७ का भोजबहादुर साउद भारतको करनाटकबाट मंगलबार बिहान ५ बजे गौरीफण्टा नाकामा पुगे।
नेपाल आइपुग्नुअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धरपकड गरे।
‘सबै जनाले एकजुट भएर कुरा गरेपछि एसएसबीले हामीलाई खासै केही गर्न सकेन,’ उनले भने
नेपालपट्टी नाकामा फाट्टफुट्ट सुरक्षाकर्मी थिए। उनी त्यहाँ पुग्दा हेल्थ डेस्कमा कर्मचारी थिएनन्।
‘हामी सीमा नाकामा पुगेपछि कसैले सोधपुछ र विवरण पनि टिपोट गरेन, एक जना सुरक्षाकर्मीले खास यहाँ कोरोना परीक्षण हुनुपर्ने हो, अहिले स्वास्थ्यकर्मी आएका छैनन् भने,’ उनले भने।
उनीसँगै आएका कतिपयले भने नाकाका सुरक्षाकर्मीलाई भारतमा कोरोना परीक्षण गरेको कागज देखाउँदै घरतिर हिँडे।
उनी भने कोरोना चेक गरेर घर जान चाहन्थे। किनकि, उनलाई चिन्ता थियो- आफूलाई कोरोना लागे पनि घर परिवारलाई नसरोस्।
त्यसपछि उनी डेढ घण्टा नाकामा पर्खे। घण्टौं पर्खेपछि बल्ल कर्मचारी आएको कुरा सुरक्षाकर्मीले उनलाई सुनाए।
त्यसपछि कोरोना परीक्षणका लागि उनी लाइनमा उभिए।
‘लाइनमा पनि सुरक्षाका उपायहरू अपनाइएको थिएन। एकदम भिडभाड थियो। केहिले त मास्क लगाएका थिएनन्। लाइनमा कतिपय संक्रमित पनि थिए होला, संक्रमित नभएकालाई झन् जोखिम भयो,’ उनले भने।
हेल्थ डेस्कका कर्मचारीले लाइनमा लागेकामध्य् केही जनाको छनोट गरेर एन्टिजेन र कसैको स्वाब नमूना परीक्षण गरे।
उनको टोलीमा आएका एक जनाको पनि स्वाब लगे। त्यसपछि एन्टिजेनको रिपोर्ट आउन १५ मिनेट लाग्ने भने।
‘मैले मेरो पनि कोरोना परीक्षण होस् भन्ने चाहेको थिएँ। यहाँ त टोलीको एक जनाको मात्रै परीक्षण गर्ने रहेछन्। एक जनालाई कोरोना देखेपछि सबैलाई आइसोलेसनमा राख्नु भन्ने छ,’ उनले भने।
परीक्षण गरेकामध्ये जसको रिपोर्ट नेगेटिभ आयो उनीहरूलाई घर जान दिइने गरेको उनले बताए।
पोजेटिभ आएकाहरूलाई धनगढी-१५ उर्मामा रहेको आइसोलेसनमा राख्ने भन्दै एम्बुलेन्सका लागि कुर्न भनियो।
त्यस्तै, अछामको मंगलसेन कालागाउँका अनिल तिरुवाले कोरोनाले काम छुटेपछि घर फर्कीएको बताए।
उनी कोरोना गर्दा गत वर्ष पनि चैतमा घर फर्केका थिए। फेरि यस वर्ष पनि पहिलेको जस्तै भएको उनले बताए।
‘गत वर्ष त भारतबाट आएकालाई परीक्षण नै नगरी टिपरमा हालेर क्वारेन्टिनमा राख्थे, मैले २७ दिन क्वारेन्टिन बस्नुपर्यो। परीक्षण रिपोर्ट भने नेगेटिभ आयो,’ उनले भने।
यस पटक गत वर्षभन्दा नाकामा केहीको भए पनि परीक्षण हुने गरेको उनले सुनाए।
‘तर, सबैको नहुँदा परीक्षण गर्न चाहनेलाई समस्या भएको छ। गत वर्षको दु:खले मैले मेरो परीक्षण नाकामै होस् भन्नेको चाहेको थिएँ, तर भएन,’ उनले भने।
यस्तै, भारतको बेङ्गलुरुबाट आएका शेरबहादुर बोहराले सीमा नाकामा कोरोनालाई फैलिन नदिनका लागि सुरक्षाका उपाय कतिपय नपनाएको देखिएको बताए।
उनले भारतबाट नेपाल आउनेहरुका लागि केही व्यवस्था नहुँदा एक जना संक्रमित भए सबैले दु:ख पाउने अवस्था रहेको बताए।
‘यहाँ निकै अस्तव्यस्त छ, चेकजाँचको सिस्टम पनि राम्रो भएको छैन। मान्छेलाई रोक्ने तर, परीक्षण नगर्ने, सावधानी छैन, कतिपयलाई रोक भन्छन्, कतिपय भागेर पनि गइरहेका छन्,’ उनले भने।
भारतको बनारसबाट फर्केका टेकबहादुर साहुले नाकामा रहेको एक मात्र हेल्थ डेस्कका कर्मचारीको टोलीले हजारौंको संख्यामा आएकाको परीक्षण गर्न नसकेको बताए।
उनले नाकामा चेकजाच गर्ने टोली र हेस्थ डेस्कको संख्या बढाउनुपर्ने बताए।
कतिपय मान्छेहरु त पल्लोपट्टीको बाटोबाट परीक्षण नै नगरी घर जाने गरेका छन्।
‘नाकाबाट कतिपय त्यसै भागेका छन्। रिक्सावाला, अटोवाला, गाडीवालाले मान्छेहरूलाई उठाएर लग्छन्। उनीहरूबाट पनि कोराना फैलिने जोखिम बढी छ,’ नाकामा रहेका एक जना व्यापारी राम अधिकारीले भने।
गत वर्ष पनि कोरोना संक्रमणका बेला सुदूरपश्चिमको त्रिनगर भन्सार नाकामा यस्तै अवस्था थियो।
बेरोजगारीको समस्याले महामारीमा काम गर्न भारतमा पसेकाहरू अहिले फेरि फर्किन थालेका छन्।
भारतबाट फर्किनेहरू बढ्दै गएपछि कोरोना भित्रिने जोखिम पनि उच्च छ। फर्किएका कतिपयमा संक्रमण पनि देखिएको छ।
तर, सीमा नाकामा व्यवस्थापन राम्रो हुन सकेको छैन। पारिबाट आएका मान्छेहरूलाई घण्टौं कुरेर पनि केहीको मात्र परीक्षण गर्ने गरिएको छ।
थोरै मात्र कर्मचारीले हजारौंको संख्यामा आएकाहरूको परीक्षण गर्न नसकेको त्रिनगर हेल्थ डेस्कमा खटिएका कर्मचारी गणेश साउदले बताए।
‘जनशक्ति छैन, किट छैन, त्यही कारण सबैको परीक्षण गर्न नसकेको अवस्था छ, थप माग गरिरहेका छौं,’ उनले भने।
अहिले हेल्थ डेस्कमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट ४, धनगढी उपमहानगरपालिकाबाट १, सामाजिक विकास मन्त्रालयबाट १ र स्वास्थ्य कार्यालय कैलालीबाट ७ जना कर्मचारी काम गरिरहेका छन्।
उनका अनुसार कर्मचारीले आलोपालो काम गर्नुपर्छ।
बिहान ६ देखि दिउँसो १ बजेसम्म एउटा समूहले र १ देखि बेलुका ८ बजेसम्म अर्कोले काम गरिरहेको उनले बताए।
भारतबाट आउनेहरू राति १० बजेसम्म पनि पुग्ने गरेकोले कहिलेकाहीँ एक जना कर्मचारीले १२ घण्टा समेत काम गर्नुपर्ने अवस्था रहेको साउदले बताए।
‘कहिलेकाहीँ त १० देखि १२ घण्टा समेत पनि काम गर्नुपरेको छ। बिहान ६ बजे चिया पनि नखाएर काम गर्न आउँछौं। नाकामा पिउनका लागि कर्मचारीका लागि पानी समेत छैन, पानी नखाएरै काम गर्नुपरेको छ,’ उनले भने।
उनका अनुसार चैत ३ गतेदेखि मंगलबारसम्म २० हजारको हाराहारीमा भारतबाट स्वदेश फर्किएका छन्।
तीमध्ये झण्डै चार हजारको कोरोना परीक्षण गरिएको छ। यस्तै, ४ सय ७८ जनालाई कोरोना पोजेटिभ देखिएको छ।
पोजेटिभ भएकामध्ये निकै गम्भीर लक्षण देखिएकालाई सेती प्रादेशिक अस्पतालको कोरोना भवनको भेन्टिलेटरमा पठाउने गरेको उनले बताए।
‘सामान्य संक्रमितलाई धनगढी-१५ कनरीमा बनाइएको आइसोलेसनमा पठाउने गरेका छौं। अहिलेसम्म आइसोलेसनमा ४ सय ४३ जनालाई पठाइसकेका छौं,’ उनले भने।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बजारमा किन्न नमिल्ने हुँदा किटको अभाव भएको बताए।
‘किटका लागि विभागमा कुरा राखेका छौं, कर्मचारीको व्यवस्था भने, पुनर्वास नगरपालिकाले गर्नुपर्छ, किनकि मन्त्रालयबाट २७ लाख ४० हजार रुपैयाँ बजेट त्यहाँ गएको छ,’ उनले भने।
उनले सम्बन्धित स्थानीय तहलाई आइसोलेसन, कर्मचारी व्यवस्थापनको निर्देशन दिएकोले आवश्यक परे मात्र मन्त्रालय थप पहल गर्ने बताए।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सीमा नाकामा मानिस आउने क्रम बढेकोले सुरक्षाकर्मीलाई त्यही अनुसार परिचालन गरिरहेको बताए।
नाका रहेको स्थानीय तह पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले हेल्थ डेस्कमा कर्मचारी थप गर्ने प्रक्रिया भइरहेको बताए।
‘वैशाख २ गतेदेखि एचए र स्टार्फ नर्स गरी सात जना कर्मचारीलाई हेल्थ डेस्कमा पठाउने तयारीमा छौं, आवश्यक परे फेरि पनि थप गर्छौं,’ उनले भने।