मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्रकारहरूसँग कुरा गर्दै आगामी असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने बताए। दैनिक संक्रमण नै ११ हजार पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको उनले जानकारी गराए।
संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्ने सरकारले यसको रोकथाम र नियन्त्रणका लागि भने प्रभावकारी कदम चालेको देखिँदैन।
अहिले नेपाल भित्रिएको कोरोना भाइरस बेलायतमा देखिएको नयाँ प्रकार (भेरियन्ट) को हो। यो हामीकहाँ पहिले देखिएको भाइरसभन्दा कडा छ। विभिन्न अनुसन्धानले यो भाइरसले बढी असर गर्ने कुरा पुष्टि गरिसकेका छन्। पछिल्लो समय भारतमा देखिएको संक्रमण र मृत्युदरले पनि यो कुरा प्रष्ट पार्छ। भारतमा दिनकै लाखौं मानिस संक्रमित भइरहेका छन् भने सयौंको मृत्यु भइरहेको छ।
विज्ञहरूका अनुसार नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिन्छ र बालबालिकामा सर्ने जोखिम बढी छ। पुरानो भाइरस बालबालिकामा देखिने सम्भावना निकै कम थियो। त्यसकारण नयाँ प्रकारको भाइरस समुदायबाट नियन्त्रण बाहिर गए त्यसको क्षति ठूलो हुने विज्ञहरूको अनुमान छ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नयाँ प्रकारको भाइरस नियन्त्रण गर्न नसके संक्रमण र मृत्युदर बढ्ने दाबी गर्छन्। उनले भारतको उदाहरण बताउँदै नेपालमा पनि सोही अनुपातमा संक्रमण फैलिए त्यसले मृत्युदर बढाउने बताए।
नेपालमा गत महिना नै बेलायतमा देखिएको भाइरस भित्रिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो। तर त्यसले निम्त्याउन सक्ने जोखिम र क्षतिबारे सरकार र मन्त्रालय गम्भीर बन्न सकेनन्।
नयाँ भाइरस भित्रिएको पुष्टि हुनेबित्तिकै सरकारले सीमानाकामा कडाइ गर्नुपर्थ्यो। सीमामा आउनेलाई पिसिआर परीक्षण गर्ने र नतिजा टुंगो नभइन्जेल कम्तीमा दुई साता क्वारेन्टिन राखेर मात्र घर पठाउनुपर्थ्यो। तर यो बीचमा हजारौं मानिस बिना परीक्षण घरघर पुगे।
कोरोनाको पहिलो लहरमा सरकारले समयमै परीक्षण, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन गर्न नसक्दा स्थिति भयावह भएको थियो। तर सरकारले पहिलेको क्षतिबाट पाठ सिकेजस्तो देखिँदैन।
सरकारले पछिल्लो समय भारतमा कोरोना फैलिन सुरू गर्दै विशेष सतर्कता र आवश्यक कदम चाल्नुपर्थ्यो। संक्रमण थम्थम्याउन सके मात्र पनि हामीलाई धेरै राहत हुन्थ्यो। हामीसँग भएका सीमित स्वास्थ्य पूर्वाधारले पनि त्यही पनि धान्ने अवस्था हुन्थ्यो। विकसित देशजस्तो स्वास्थ्य पूर्वाधार र जनशक्ति नभएकाले बेलैमा पूर्वतयारीका कदम चाल्नु हाम्रा लागि लाभदायी हुन्छ। तर सरकारले यसमा चासो नै दिएन।
हामीलाई थाहा छ, अघिल्लोपटक कोरोना संक्रमण दर भारतबाट आएकालाई व्यवस्थित गर्न नसक्दा नियन्त्रणबाहिर गएको थियो। त्यो बेला सीमाबाट ठूलो संख्यामा मानिसहरू बिना परीक्षण ह्वारह्वार्ती आए। उनीहरूलाई क्वारेन्टिन गर्न सकिएन। सकिएकाको पनि राम्रो व्यवस्थापन हुन नसक्दा क्वारेन्टिनस्थल नै संक्रमणको 'हट स्पट' बन्न पुग्यो। यसको उदाहरण झापाको केचनाकवल र बाँकेको नरैनापुरमा बनेका क्वारेन्टिन स्थल हुन्। ती दुइटै क्वारेन्टिनबाटै सयौं मानिसमा कोरोना फैलिएको थियो।
त्यो बेला नेपालका लागि यो सबै नयाँ थियो। संसारका विकसित र पूर्वाधारसम्पन्न देशलाई त आच्छुआच्छु पारेको भाइरस नेपालका लागि चुनौती हुने नै भयो। तर कोरोनाको दोस्रो लहरको संघारमा पनि नेपालले पहिलेको अनुभवबाट सिक्न र क्षतिबाट चेत्न नसकेको देखिन्छ। सीमाबाट हजारौं मानिस बिना परीक्षण आ-आफ्ना घरगाउँसम्म पुग्नुले यो पुष्टि गर्छ।
सरकारले पछिल्लो समय भारतमा संक्रमण बढेपछि मात्र सीमामा हेल्थडेस्क स्थापना गरेको छ। तर त्यहाँ आवश्यकताभन्दा कम स्वास्थ्यकर्मी खटाइएका छन्। सीमामा केही मानिसहरूको एन्टिजेन परीक्षण भइरहेको छ। यसमा पनि कैलालीको गौरिफन्टा नाकामा भारतबाट आउनेमध्ये लक्षण देखिएकाको मात्र परीक्षण भइरहेको छ। केहीको अवस्था हेरेर पिसिआर परीक्षणका लागि स्वाब पनि लिइन्छ।
भारतबाटै फर्किएका धनगढीका भोजबहादुर साउद आफ्नो परीक्षण नगरी घर पठाइएको बताउँछन्। आफूलाई संक्रमण भए पनि परिवारमा नसरोस् भन्ने सोचेर उनले परीक्षण गर्न चाहेका थिए। यसका लागि उनी लाइनमा पनि बसे। तर उनी रहेको टोलीका एक जनाको मात्र परीक्षण गरियो। बाँकीलाई यत्तिकै पठाइएको उनले बताए।
भाइरोजिस्ट डा. लुना भट्टका अनुसार एन्टिजेन परीक्षण पिसिआरका तुलनामा कम विश्वसनीय छ। एन्टिजेन परीक्षणमा भाइरसलाई समात्ने क्षमता कम भएकाले यसले पोजेटिभलाई समेत नेगेटिभ देखाइदिन सक्ने सम्भावना धेरै नै भएको भट्ट बताउँछिन्।
यस्तो अवस्थामा नयाँ भाइरस झन् कडा भएकाले पिसिआर नगरी एन्टिजेनमा जोड दिनु गलत सावित हुन्छ। संक्रमण नियन्त्रण भन्दा पनि फैलाउन मद्दत पुग्छ। त्यसैले पिसिआर परीक्षणमै जोड दिन धेरै जरूरी देखिन्छ।
पहिले नै सरकारले दैनिक २५ हजार पिसिआर गर्नसक्ने क्षमता भएको बताएको थियो। सुरूमा एउटा प्रयोगशालाबाट परीक्षण गरिएकामा अहिले निजी समेत गरेर देशभर ६७ वटा प्रयोगशाला छन्। ती प्रयोगशालासँग समन्वय गरेर सरकारले परीक्षणलाई रातभरमै अझै धेरै बढाउन सक्छ। त्यसमाथि अहिले पिसिआरका लागि चाहिने किट उपलब्धता पनि सहज र सुलभ छ।
क्वारेन्टिन गर्ने र कन्ट्याक्ट ट्रेसिङमा सरकारले स्थानीय तहलाई सक्रिय बनाउन सक्नुपर्छ। पहिले पनि यसको जिम्मा स्थानीय तहलाई थियो। स्थानीय तहले संक्रमितको रेखदेख गर्न टोलटोलमा निगरानी टोली गठन गर्ने समेत भनेको थियो। पछि संक्रमण दर घटेकाले उक्त टोलीहरू निष्क्रिय भएका थिए। अब ती टोलीलाई परिचालन गरी सक्रिय बनाउने बेला आएको छ।
नभए भारतमा भुसको आगोसरी फैलिँदै गरेको नयाँ प्रकारको भाइरसको लप्काले नेपाललाई सजिलै चपेट्न सक्छ। डा. अनुप सुवेदी अहिलेको नयाँ भाइरसलाई समुदायभित्रै नियन्त्रण गर्न सकेमा व्यवस्थापन गर्न पनि सकिने बताउँछन्। नियन्त्रण बाहिर गए त्यसले ठूलो क्षति पुर्याउने उनको भनाइ छ।