काठमाडौं महानगरपालिकाले चैत मसान्तसम्म कमलपोखरी बनाइसक्ने योजना बनाएको थियो। तर कहिले ठेकेदारले काम ढिलाइ गर्यो, त कहिले सम्पदा अभियन्ताको विरोधले योजनाअनुसार निर्माण हुन सकेन।
केही समयअघि सम्पदा अभियन्ताले पोखरीको ऐतिहासिकता र मौलिकता नबचाएको भन्दै महानगरको काममा विरोध गरेका थिए। उनीहरूले पोखरीबीच कंक्रिटको कमल फूल राख्न खोजेर पोखरी मास्ने काम गरेको भन्दै आपत्ति पनि जनाए।
रानीपोखरी पुनर्निर्माण बेला पनि महानगरले कंक्रिट प्रयोग गर्दा धेरै विरोध खेप्नुपरेको थियो। बल्लबल्ल अभियन्ताकै अगुवाइमा रोकिएको थियो। पछि रानीपोखरीको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पायो र परम्परागत रूपमै पुनर्निर्माण सम्पन्न भइसकेको छ।
तर महानगरले कमलपोखरी निर्माणमा फेरि त्यही गल्ती दोहोर्याएको भन्दै अभियन्ताहरू आक्रोशित भए। रानीपोखरीबाट पाठ सिकाउन नसकेकोमा लज्जित भएको भनेर कमलपोखरीको हिलो कालो माटो टिपेर आफ्नो अनुहारभरि पोते पनि।
धेरै विरोधका बाबजुद काठमाडौं महानगरले कमलपोखरीमा काम रोकेन। अहिले यहाँको काम लगभग सकिन लागेको छ। काठमाडौं नगरपालिका अन्तर्गतको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले अब 'फिनिसिङ' को केही काम सक्न १०–१५ दिन थप लाग्ने बताए।
'ठेकेदारले घर बनाएजसरी काममा ढिलासुस्ती गरेकाले अहिले हतारहतार बनाउनुपरेको छ। त्यहीँमाथि सम्पदा अभियन्ताहरूले बेलाबेला विरोध गर्दा काम रोकियो।'
हामीले उनलाई सोध्यौं, 'तर पुरातत्व विभागले पनि काम रोक्न आदेश दिएको थियो नि?'
काम रोक्ने आदेश दिएको कुरा नकार्दै उनले भने, 'केही सम्पदा अभियन्ताले उजुरी दिएका रहेछन्। त्यही भएकाले पुरातत्वले ऐतिहासिक महत्वलाई ध्यान दिएर काम गर्नु भनेको हो। काम रोक्नु भनेको होइन।'
यो पोखरी विवादमा भइरहँदा केहीले कमलपोखरी सिम्सार भने, केहीले लिच्छविकालीन पोखरी। यसबारे अझै पुष्टि हुने प्रमाण फेला परिसकेको छैन।
थापा भने यो पोखरी बनेको धेरै नभएको बताउँछन्। उनका अनुसार यो पोखरीको ऐतिहासिक महत्व पनि छैन। पोखरी बनाउनुअगाडि त्यहाँका स्थानीय र विज्ञसँग सल्लाह गरेर महानगरले तथ्य फेला पार्न खोजेको उनले दावी गरे।
'तथ्य खोज्दै जाँदा हामीले त्यो पोखरी नभएर माटो निकालेपछि बनेको खाडल रहेको पायौं,' थापाले भने।
उनको भनाइमा हाल पोखरी रहेको ठाउँ नजिकैको बहादुर भवन र केशर महल बनाउने बेला माटो चाहिएको थियो। त्यसका लागि यही सार्वजनिक जग्गाको माटो निकालियो। माटो निकालेपछि यहाँ ठूलो खाडल बन्यो। पछि विस्तारै वर्खाको पानी जम्मा हुँदै, भरिँदै गयो। कमल पनि फूल्यो। र, यसको नाम कमलपोखरी रहन गयो।
'खाल्डोमा पानी जमेर बनेको पोखरीलाई पुरातात्विक महत्व छ भनेर हुँदैन,' थापाले भने, 'त्यहाँ पहिले ढल अनि फोहोर फालिन्थो। महानगरले सुन्दर पोखरी बनाउन लाग्दा सम्पदा मास्यो रे? त्यहाँ के सम्पदा थियो र मास्ने?'
उनले अगाडि भने, 'अनि पुरानो शैलीमा बनाउनुपर्छ भनेका छन्। त्यो भनेको के हो? त्यसलाई जस्तो थियो, त्यही अवस्थामा छाड्नुपर्ने हो? हामीले त झन् त्यहाँको प्रहरी चौकी र स्पोर्ट्स क्लब पनि हटाएर खुला स्थान बनाएका छौं। के त्यो गलत हो?'
कमलपोखरीलाई २०७६ सालको असारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर-१ का अध्यक्ष भरतलाल श्रेष्ठले शिलान्यास गरेर निर्माण थालेका थिए। करिब नौ करोड ४७ लाख रूपैयाँ बजेट यसका लागि महानगरले छुट्याएको थियो। जय धनञ्जय (कँडेल निर्माण सेवा) ले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेन्डर लिएको हो।
निर्माण अन्तिम चरणमा पुगिसक्दा यहाँको प्रहरी चौकी र स्पोर्ट्स क्लब हटाउनुसँगै पोखरीमा पुल र बत्ती राख्ने लगायत काम भइसकेको छ। वास्तुविदलाई देखाएर यहाँको काम वास्तुअनुसार बनाइएको थापाले बताए।
वास्तुअनुसार भन्नाले मण्डप, पुल कता, कसरी बनाउने लगायत कुरा पर्छन्। त्यस्तै अंक पाँचलाई पनि प्राथमिकता दिइएको रहेछ। पाँच मण्डप, पाँच फाउन्टेन, पाँच साना कमल पोखरी र पाँच ढुंगेधारा।
पोखरीको चार कुनामा चार कलात्मक मण्डप र बीच पुलको अन्तिममा एउटा मण्डप बन्दैछ। काठबाट बनेका ती मण्डप महानगरले भक्तपुर र भैसेंपाटीबाट ल्याएको जनाएको छ।
यसको प्रयोजन के भन्ने प्रश्नमा थापा भन्छन्, 'पोखरीको धार्मिक मान्यता कायम राख्नु। यो पोखरी छठ मनाउने मुख्य स्थलका रूपमा रहँदै आएको छ। पाँच मण्डप छठका बेला सूर्यलाई अर्घ दिन प्रयोग हुन्छ। विशेष मान्छेले मण्डपबाट अर्घ दिन्छन्, सर्वसाधारणले पोखरी किनारबाट। यसका लागि वरिपरि सिँढी राखेर हामीले घाट बनाएका छौं। अन्य समय यो पाटीका रूपमा पनि प्रयोग हुनेछ।'
वरिपरि ढुंगा छाप्न र सिँढी बनाउन महानगरले दोलखा र सिन्धुपाल्चोकदेखि ढुंगा ल्याएको थियो। छ इन्च मोटाइ, दस इन्च चौडाइका उक्त ढुंगा करिब तीन हजार स्क्वायर मिटर ल्याइएको हो।
पोखरीका चार कुनामा फाउन्टेन छन्। पाँचौं फाउन्टेन पोखरी बीचमा छ। बीचको फाउन्टेनको आकार बाहिरैबाट देखिन्छ। अन्यको भने देखिन्न तर तिनले पानी फाल्छन्। यसरी फाउन्टेन राख्दा पोखरी आकर्षक देखिने र पानी चलिरहने भएकाले अहिले रानीपोखरीमा जस्तो लेउ जम्ने समस्या समाधान हुने थापा बताउँछन्।
'सम्पदा अभियन्ताले पोखरीको कंक्रिट संरचना फुटाए भनेर समाचार आएको थियो। त्यो खासमा फाउन्टेनको बेस थियो,' उनले भने।
त्यही फाउन्टेनतिरै कमलको साना चार पोखरी र बीचमा कमल आकारको कृत्रिम फूल राख्ने तयारी महानगरको हो।
'पोखरीमा राख्न लागिएको फूल सम्पदा अभियन्ताले भनेजस्तो कंक्रिटको होइन, फाइबरको हो। त्यो वरिपरि रहने बत्तीको उज्यालोसँग संयोजन हुन्छ र आकर्षक देखिन्छ,' थापाले भने, 'अरू चार फाउन्टेनमा सानासाना पोखरी छन्, जुन प्राकृतिक कमल फूलकै लागि हो।'
वास्तुशास्त्र अनुसारै बनाइने भनेको पाँच ढुंगेधारा पनि पोखरी वरिपरिको पाँच कुनामा हुनेछ। यी धारा काठमाडौंकै बिक्रेतालाई बनाउन लगाइएको हो भने बत्ती र फाउन्टेन भारतबाट ल्याइएको हो। यी सबै जडान भइसक्यो।
बाँकी काम भनेको पाँच मण्डपमा झिँगटीको छाना हाल्ने, पुलको काम र वरिपरि पानी भर्ने हो। विभिन्न देवदेवीताका मूर्ति राखिने पनि योजना छ।
पानीका लागि महानगरले काठमाडौं उपत्यका खानेपानी आयोजनासँग सहकार्य गरेको छ। खानेपानी आयोजनाले हालै मेलम्चीबाट पानी सुन्दरीजलसम्म ल्याइसकेको छ। त्यहाँ ल्याइएको पहिलो चरणको पानी केही धमिलो भएकाले धोबीखोलामा छाड्ने योजना थियो। तर त्यो पानी कमलपोखरीमा खसाल्न महानगरले आग्रह गरेको थापाले बताए।
'हामीलाई पानी आवश्यक थियो। त्यो पानी खोलामा खेर फाल्नुभन्दा हामीलाई दिनुस् भनेर सहमति गर्यौं,' थापाले भने, 'हामीले बीस लाख लिटर पानी हालिसकेका छौं।'
थापाका अनुसार एक साता लगातार यहाँ पानी हालिएको हो। गत शनिबार पानी हाल्ने काम सकिएको थियो। सोमबार कमलपोखरी पुग्दा पिँधमा मात्र पानी देखिन्थ्यो।
'त्यो पानी केही माटोले सोस्यो, केही घामले। फेरि अनुरोध गरेर थप पानी हाल्ने तरखरमा छौं,' उनले भने।
थापाका अनुसार पोखरी भर्न करिब साढे एक करोड लिटर पानी चाहिन्छ। अन्य पोखरीजसरी तहतहमा बनाउन नपर्ने भएकाले कमलपोखरीमा सिधै पानी हाले पुग्ने उनले बताए।
यी त पहिलो चरणका काम भए। महानगरले छुट्याएको बजेट पनि पहिलो चरणकै कामका लागि हो।
त्यसपछि फेरि बजेट निकास गरेर पोखरी वरिपरिका काम हुनेछन्। त्यसमा व्यायामस्थल, ब्याडमिन्टन कोर्टदेखि पार्क बनाउने योजना महानगरको छ।
कमलपोखरीलाई धार्मिक र परम्परागत शैलीमा निर्माण गर्दै यसलाई मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना रहेको थापाले जानकारी दिए।
'बेलुकाका लागि लाइटिङ सिस्टम छ। सानो एम्पिथिएटर जस्तो पनि बनाउने छौं। विभिन्न ब्यान्ड आएर यहाँ सांगीतिक कार्यक्रम गर्छन् र मान्छेलाई मनोरञ्जन दिन्छन्,' थापाले भने, 'यहाँ आउने मान्छे र पर्यटकलाई यो आकर्षक मनोरञ्जन स्थल हुनेछ।'
महानगरले योजना यो पोखरीबाटै सम्पदा मार्ग बनाउने पनि छ। थापाका अनुसार नक्सालबाट हाँडीगाउँ हुँदै पशुपति, गौशाला जाने पैदलयात्रीलाई कमलपोखरी पनि घुम्ने स्थल बनाइनेछ।
कमलपोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी