कैलालीकी ३५ वर्षीया जयश्रीदेवी चौधरी टोल चलाउने भएकी छन्। उनी आफ्नो टोलका १७ घरकी 'भलमन्सा' हुन्। कैलारी गाउँपालिका–४ 'के' गाउँमा १९ जना भलमन्सा छन् जसमा ४ जना महिला छन्। तीमध्ये अमरटोलकी भलमन्सा जयश्री हुन्।
जयश्रीका अनुसार भलमन्सा भनेको थारू टोलमा चुनिएको मान्छे हो। भलमन्साले टोलबासीका सुख-दुःख, सभा-भेला, निती-नियम, मुद्दा-मामिलामा, विकास निर्माणका काम लगायतमा अगुवाइ गर्नुपर्छ।
'तर अचेल पहिलेजस्तो छैन। अहिले त भलमन्सा राजनिती, नेता र कर्मचारीसँग जोडिएको छ,' उनले सेतोपाटीसँग भनिन्।
उनी दोस्रो पटक गाउँमा भलमन्साका रूपमा चुनिएकी हुन्। यसअघि २०७४ मा पहिलो पटक उनी भलमन्सा बनेकी थिइन्। एक वर्ष भलमन्साको जिम्मेवारी सम्हालिसकेकी उनी दोस्रो पटक गत माघ ३ गते चुनिएकी हुन्।
थारू वस्ती रहेका हरेक टोलमा एक जना भलमन्सा बनाइएका हुन्छन्। सूदुरपश्चिमका अरू जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा थारू समुदायको ठूलो संख्यामा बसोबास छ। थारू समुदायका विभिन्न चलनमध्ये प्रत्येक माघमा गाउँमा भलमन्सा चुन्ने पनि एक हो। यो समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछन्। त्यही नयाँ वर्षका दिन उनीहरूले गाउँमा नयाँ भलमन्सा चुन्छन्।
यसपालि जयश्रीको टोलमा भलमन्सा को बन्ने भनेर सहमति हुन सकेको थिएन। अनि चिठ्ठा प्रक्रियाबाट भलमन्सा बनाउने गाउँलेहरूले निर्णय गरेका थिए। त्यो चिठ्ठा जयश्रीलाई पर्यो। चिठ्ठा जितेपछि उनलाई गाउँलेले गाउँ चलाउने जिम्माका साथ भलमन्साको पदको जिम्मेवारी दिएका हुन्।
'सुरूसुरूमा नेतृत्व गर्न डर लागेको थियो। कसरी काम गर्ने, काम गर्न सक्छु कि सक्दिनँ भनेर डराउँथेँ,' उनले भनिन्। जिम्मेवारी पाएको केही दिनमै टोलका मान्छेले आफूले भनेको मान्छन् कि मान्दैनन् भन्ने चिन्ता पनि लाग्थ्यो उनलाई। विस्तारै कामको अनुभव भएपछि उनको धक हराएको छ।
जयश्रीलाई भलमन्सा भएपछि उनका टोलका हरेक घरबाट वर्षको एक हजार रूपैयाँ मिल्छ। उनको वर्षभरीको तलब १७ हजार रूपैयाँ हो।
पहिले–पहिले टोलका मान्छेले भलमन्सालाई अन्न दिने चलन थियो।
'अहिले पहिलेजस्तो धेरै खेती गर्ने किसान छैनन्। त्यसैले अन्नभन्दा पनि पैसा दिने चलन आयो,' उनले भनिन्।
टोलमा केही काम परे भलमन्साका सल्लाह लिने चलन छ। गाउँ कसरी चलाउने, सामुदायिक वन संरक्षण, गाउँ नजिकको नदीमा तटबन्ध गर्नुपर्ने, नयाँ बजेटमा कस्ता योजना माग गर्ने, बाटो, बिजुलीका पोल सबै ठाउँमा नपुगेकाले टोल भेलामा कुरा राख्ने काम उनकै काँधमा हुन्छ। यी विषयबारे छलफल गर्न उनी हरेक हप्ता टोलबासीसँग बैठक बस्छिन्।
गाउँमा कोही बिमार परे खबर उनैकहाँ आउँछ। पैसा अपुग भए पनि घरघरबाट जुटाउने काम भलमन्साकै हुन्छ।
'केही विवाद हुँदा भने गाउँमै मिलाउन मिल्ने कुरो मात्र मिलाइन्छ। प्रायः सबै गाउँपालिका वा प्रहरीमा जान बाटो देखाइदिन्छौं,' उनले भनिन्।
के गाउँका केही भलमन्साले कानुनसम्बन्धी तालिम पनि लिएका छन्। कस्ता मुद्दामा कसरी काम गर्न मिल्छ भनेर भलमन्साहरूको हरेक महिनाको १० गते हुने बैठकमा छलफल हुन्छ।
बिहे, ब्रतवन्ध, माघी, होली, नयाँ साल, दसैं, तिहारजस्ता चाडपर्व र उत्सवमा खानपान व्यवस्था पनि भलमन्साले मिलाउनुपर्छ। यस्तो बेला आवश्यकताका बारेमा जयश्रीले पहिले गाउँलेसँग छलफल गर्छिन् र पछि सम्बन्धित ठाउँबाट सामानहरू उपलब्ध गराउँछिन्।
'नयाँ वर्षका बेला सिकार (मासु) को व्यवस्था पनि भलमन्साले गर्नुपर्छ। सुँगुर खोज्ने, भाग लगाउने काममा जुट्नुपर्छ,' उनले भनिन्।
गाउँमा अरू जुनुसुकै काम परे पनि भलमन्सालाई सोध्न आउँछन्।
'केही काम पर्ने बित्तिकै सबभन्दा पहिला गाउँलेहरू भलमन्साकहाँ पुग्छन्। त्यसपछि जहाँ जानुपर्ने हो, जे गर्नुपर्ने हो त्यही अनुसार काम गर्छौं,' उनले भनिन्।
वडा कार्यालय, गाउँपालिका वा सरकारी काम गाउँमा आउँदा पहिले भलमन्साकै खोजी हुन्छ।
जयश्री भन्छिन्, 'नेता, कर्मचारी, संघसंस्थाका मान्छे जे काम परे पनि पहिले यहाँ पुग्छन्।'
भलमन्साले उनीहरूको कामका लागि मानिसहरू भेला पारिदिने काम गर्छन्। गाउँमा आएका योजनाहरू सफल पार्न जनसहभागिता जुटाउन उनको ठूलो भूमिका रहन्छ।
'बाटो, तटबन्ध यस्तो काम गर्ने बेला सबै घरबाट अनिवार्य आउनु भनेपछि भलमन्साले भनेको सबैले मान्छन्,' उनले भनिन्।
जयश्रीका अनुसार चुनावका बेला त भलमन्साका घरमा नेताको आवतजावत भइरहन्छ। चुनावमा राजनीतिक नेताहरू आफ्ना लागि भोट माग्न आउँछन्।
जयश्रीलाई टोलको काममा जान थालेपछि घरको काममा कहिलेकाहीँ समय मिल्दैन। भलमन्सा भएपछि उनले अहिले घरको कामकाज, खेतीपाती मात्र नभई गाउँका काममा पनि खटिरहनुपरेको छ। उनी बैठक वा कहीँ काममा गएका बेला घरको काममा उनका श्रीमानले सहयोग गर्छन्।
'खेतीपाती, पशुचौपायाको काममा त उहाँले सहयोग गर्नुहुन्छ। खाना पकाउने र घरका सानातिना काम केटाकेटीले गरिदिन्छन्,' उनले भनिन्।
गाउँपालिका, वडा कार्यालय, विभिन्न संघसंस्थाले गरेका कार्यक्रम वा तालिममा सहभागी हुन परे, उनका श्रीमानले मोटरसाइकलमा ल्याउने-पुर्याउने गर्छन्। आफ्नी श्रीमती गाउँकी भलमन्सा भएर नेतृत्व भूमिकामा काम गरेको देख्दा खुसी लाग्ने उनका श्रीमान बताउँछन्।
श्रीमान र सन्तानको सहयोग पाएकामा खुसी हुँदै जयश्री भन्छिन्, 'कहिले बिसन्चो भए मैले गर्ने काम श्रीमानले गरिदिनुहुन्छ। गाउँलेहरूकहाँ केही खबर गर्नुपरे भने छोराछोरीले पनि सहयोग गर्छन्।'
उनको अर्को मुख्य काम भनेकै सूचना आदानप्रदान हो। यहाँका किसानहरू प्रायः खेतको काममा व्यस्त हुन्छन्। कहीँबाट केही सूचना आए भलमन्सा भएकाले जयश्रीले नै पहिले थाहा पाउँछिन्। अनि उनैले अरूहरूलाई भनिदिनुपर्छ।
गाउँमा महिला भलमन्सा भएपछि महिलाहरूलाई धेरै सहज भएको उनको अनुभव छ। उनीहरूले आफूलाई परेका समस्याहरू बिना धक सुनाउने गरेको उनले बताइन्।
'पहिला पहिला त हाम्रो गाउँमा महिलाहरू बोल्न, केही सिक्न लाज मान्थे, डर मान्थे। अहिले त गाउँको नेतृत्वमा पुग्न सक्ने समेत भएका छौं,' उनले भनिन्।
जयश्रीजस्तै कैलालीका केही स्थानीय तहका थारू गाउँमा महिला भलमन्साले नेतृत्व गरिरहेका छन्। के गाउँकै खल्लारू टोलका भलमन्सा जगलाल डगौरा थारू ५-७ वर्षयता महिला भलमन्सा धेरै हुने गरेको बताउँछन्।
'तर महिलाहरूलाई घर, भातभान्सादेखि बच्चाको स्याहार र भलमन्साको कामले समस्या हुने गरेको छ। उनीहरूका परिवारले घरको काम हेरिदिए महिलाले पनि उत्कृष्ट काम गर्न सक्थे,' जगलाल बताउँछन्।
उनका अनुसार गाउँका मान्छेले महिला त हो भनेर कतिपयले विश्वास गर्दैनन्। नपत्याएजस्तो, अपहेलना गरेको पनि देखिन्छ। उनले भने, 'अहिले महिला र पुरुषको अधिकार बराबर हो। भलमन्सा काम गर्न चाहने महिलालाई अवसर दिनुपर्छ।'
थारू गाउँमा रहेको पित्तृसत्तात्मक सोचले महिलालाई काम गर्न समस्या रहेको उनको बुझाइ छ।
'बोक्साबोक्सी प्रथा जस्ता कुरितिका कारण पनि भलमन्सालाई काम गर्न अलि गाह्रो छ,' उनले भने।
यस्ता कुरितिले गाउँमा विवाद पनि हुने गरेका छन्। अहिले यस्ता मुद्दा सिधै प्रहरीकहाँ पठाउने गरेको उनले बताए। जगलाल आफैंले वकिलबाट दुई पटक कानुनबारे तालिम लिएका छन्।
'फौजदारी र सार्वजनिक मुद्दा गाउँमा मिलाउनु हुँदैन। देवानी मुद्दा पनि सामान्य भए हेर्छौं। बाँकी त न्यायालयको बाटो देखाइदिन्छौं,' उनले भने।
अहिले कोरोनाबाट बच्ने सूचना फैलाउन पनि भलमन्सा सक्रिय छन्। साबुनपानीले हात धुने, गाउँबाहिरका मानिसहरूसँग भौतिक सम्पर्कमा नजाने, टाढा कामले जानुपरे मास्क लगाउने जस्ता कुरा जानकारी दिँदै भलमन्साहरू हिँडिरहेका छन्।
जगलाल भन्छन्, 'भलमन्सा भनेको गाउँमा भलो गर्ने मान्छे हो। गाउँमा परेको समस्या समाधानको बाटो देखाउने मान्छे हो।'
जयश्री पनि आफूलाई भलमन्सा पदले दिएको जिम्मेवारी सम्हाल्न लागि परेकी छन्। टोल कसरी चलाउने भनेर सिक्न पाएकोमा खुसी लागेको उनले बताइन्। गाउँको जिम्मेवारी राम्रो सम्हालेकोमा धेरैले उनको तारिफ पनि गर्छन्।