प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आजकाल प्रहरीले २५ जनाभन्दा धेरै जम्मा नहुन भन्दै माइकिङ गरिरहेको देखिन्छ।
कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेपछि एक साताअघि महानगर र प्रशासनले चलिरहेको जुत्ता चप्पल मेलामा रोक लगाए।
विराटनगरमै पाँच दिनयता फुटबलको यस्तो रौनक जारी छ, जहाँ दैनिक हजारौं दर्शक निर्धक्क फुटबलमा रमाइरहेका छन्।
सर्वसाधारणमात्रै होइन, प्रदेश सरकारका मन्त्री, सांसद, महानगरका मेयर सबै दिनहुँ फुटबल हेर्न जान्छन्।
जुत्ता चप्पल मेला बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको सरकारले हजारौंको भीड लाग्ने फुटबलचाहिँ किन रोकेन?
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज पोखरेल भन्छन्, ‘त्यो पहिल्यै अनुमति लिइसकेको कार्यक्रम भएकाले रोक्न मिलेन।’
यसरी सरकारले कोरोनाको उच्च जोखिममा पर्ने महानगरभित्रको भीडभाड रोक्ने मामलामा सरकारले दोहोरो मापदण्ड अपनाएको देखिन्छ।
भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै सीमा जोडिएका ठाउँहरू जोखिममा देखिन्छन्। विराटनगर महानगर त्यही मध्येको एक हो।
गाउँ-गाउँसम्म संक्रमण फैलाउने मुख्य कारण भारतबाट प्रवेश गर्नेहरू बनिरहेका बेला सरकारले नाकामा गरेको व्यवस्थापनबारे धेरैलाई चासो छ।
सरकारले कोरोना नियन्त्रणका लागि नाकामा कस्तो व्यवस्थापन गरेको छ त?
मंगलबार बिहान ११ बजे, जोगबनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका सुनसान थियो। सधैँ ठेलमठेल चल्ने नाकामा भारतीय भू-भागतिर मात्रै भीड थियो, नेपालतिर सुनसान थियो।
सशस्त्र प्रहरीका एक जना र नेपाल प्रहरीका एक जना जवान भारतबाट नेपाल आउँदै गरेका एक दम्पतीसँग सोधपुछ गर्दै रजिष्टरमा विवरण भर्दै थिए।
नयाँदिल्लीबाट विराटनगर आएका उनीहरूसँग साथमा दुई जना बालबालिका पनि थिए। अभिभावकको मुखमा मास्कको सुरक्षा भए पनि ती बालबालिका मास्कबिनै उभिएका थिए।
जोगबनी-रानीको नाकामा विवरण टिपाएपछि ती दम्पती करिब १० मिटरनजिकै रहेको ‘हेल्थ डेस्क’ पुगे। त्यहाँ विराटनगर महानगरबाट खटिएकी स्वास्थ्यकर्मी उषा मेहताले उनीहरूको तापक्रम नापिन्। अन्य सोधपुछ गरिन्। त्यसपछि उनीहरू बाटो लागे।
प्रदेश १ सरकार र विराटनगर महानगर दुबैले नाकामा कोरोनाको एन्टिजेन परीक्षण गरेरमात्रै नेपाल प्रवेश गर्न दिइएको भनिरहेका छन्। आँखैअघि सरकारी दाबी खण्डित भएको देखेपछि अनमी मेहतालाई हामीले सोध्यौं ‘उहाँको एन्टिजेन परीक्षण पनि गर्नुभएन। उहाँ त कोरोनाको हटस्पट मानिने भारतीय सहरबाट आउनुभएको रहेछ। किन ?’
‘उहाँहरूलाई आवश्यक नभएर परीक्षण नगरिएको हो,' अनमी मेहताले भनिन्, ‘जसको तापक्रम उच्च छ, उसको मात्रै एन्टिजेन परीक्षण गर्ने हो। सामान्य तापक्रम भएकालाई परीक्षण गर्नुपर्दैन।’
तापक्रमकै भर परेरमात्रै एन्टिजेन परीक्षण नगर्दा जोखिम हुँदैन? यो प्रश्नमा मेहताले भनिन्-हामीले माथिबाट भने अनुसारले गर्ने हो ।’
विराटनगर महानगरले चलाएको हेल्थ डेस्कमा अनमी र अहेबसहित तीन जना स्वास्थ्यकर्मी खटाएको छ। अहिले दुई जनामात्रै कार्यरत छन्।
यी स्वास्थ्यकर्मी र नाकामा खटिएका प्रहरीको तथ्यांक अनुसार मुख्य नाकाबाट यसरी सबै विवरण भरेर नेपाल भित्रिनेको संख्या निकै कम छ।
चैत २५ यता जम्मा ४२ जना नेपाली यो नाका हुँदै नेपाल प्रवेश गरेका छन् । २५ गते ११ जना , २८ गते १२ जना र २९ गते १९ जना नेपाल भित्रेका छन् । २६ र २७ गते एकै जना पनि आएको रेकर्ड छैन । ३१ गते अर्थात मंगलबार साढे ११ बजेभित्रमा एउटा परिवारका चार जना भित्रेका छन्।
४६ मध्ये अहिलेसम्म तीन जनाको मात्रै एन्टिजेन परीक्षण भएको छ। जसमध्ये उदयपुर त्रियुगा नगरकी एक जना महिला, जो भारतको लुधियानाबाट आएकी थिइन्, लाई कोरोना पोजिटिभ देखिएको छ। यहाँका स्वास्थ्यकर्मीका अनुसार पोजिटिभ रिपोर्ट आएकी उनलाई एम्बुलेन्समा राखेर ‘होम आइसोलेसन’ मा बस्न घरै पठाएको छ। त्रियुगा नगरपालिकाले भने कुनै सम्पर्क समन्वय नगरी पठाएको भन्दै सार्वजनिक रूपमै असन्तोष प्रकट गरेको छ।
मंगलबार मुख्य नाकाबाट सुनसान राजमार्ग छिचोलेर दुई सय मिटर उत्तर-पश्चिम मिल्स एरिया जाँदा त्यहाँ देखिएको दृष्य भने फरक थियो।
साँघुरो कालोपत्रे सडकमा इ-रिक्साको ताँती छ। अटो (ट्याम्पो) को उस्तै लर्को छ, पैदलै आउने-जानेहरूको उस्तै भीड छ। करिब डेढ किलोमिटर लामो लाम लाग्ने यी साना सवारी साधनमा मान्छे खचाखच भरिएर निफिक्री नेपाल भित्रिरहेका छन्।
‘यी सबै भारतबाट आएकाहरू हुन्, उताको (मुख्य नाका) बाट जाँदा झन्झट हुन्छ भनेर यताबाट आएका हुन्,' मिल्स एरियाका स्थानीय मनोज साहले भने ‘दिउँसो मात्रै होइन, राति अबेरसम्म यो भन्दा ठूलो भीड यता आउँछ।’
सिमानाकाका यी दृष्यले सरकारले भनेजस्तो सतर्ककता अपनाएको देखाउँदैनन्। प्रहरी परिचालन भएकै अन्य नाकाहरूबाट पनि कुनै परीक्षण र निगरानीबेगर नै नेपाल भित्रिरहेका छन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज पोखरेल नाकामा त्यस्तो अवस्था रहेकोबारे आफूहरू जानकार रहेको बताउँछन्।
‘हो, मुख्य नाकाबाहेकका नाकाबाट ठूलो संख्यामा नेपाल आइरहेका छन् त्यो थाहा छ,' उनले भने ‘त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।’
यसबाहेक प्रदेश सरकार, संघीय सरकार लगायतले क्वारेन्टिन र आइसोलेसन बेड तयार पार्न स्थानीय सरकारलाई भनिएको पनि उनले बताए।
‘स्थानीय तहलाई आइसोलेसन तयार पार्न परिपत्र भइसकेको छ,’ पोखरेलले भने, ‘तयार हुँदैछ।’
स्थानीय सरकारले, संघ वा प्रदेशले आफूहरूसँग कुनै छलफल र सल्लाह नगरेको बताइरहेका छन्।
विराटनगर महानगरका प्रमुख भीम पराजुली प्रदेशको, जिल्लाको सिसिएमसी बैठकसमेत हुन नसकेको बताउँछन्।
‘हामी आवश्यक पर्दा महानगरवासीका लागि जस्तोसुकै व्यवस्थापन गर्न पनि तयार छौं,' प्रमुख पराजुलीले भने ‘तर, संघ र प्रदेशले अहिलेसम्म हामीलाई कुनै पनि कुरामा सल्लाह गरेका छैनन्।’
संघ र प्रदेशले स्रोत व्यवस्थापन नगरेको बताउँदै उनले महानगरमा तत्कालै आइसोलेसन तयार गरिहाल्ने अवस्था नभएको बताए।
महानगरले नाकामा एन्टिजेन परीक्षणको काममात्रै गरिरहेको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।