झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना भएको हो।
बिहीबार बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दूधेस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर एम्बुलेन्स चालक ललितपुरस्थित गोदावरी नगरपालिका वडा नम्बर ७ का २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षका सन्तोष तामाङ घाइते छन्। उनलाई उपचारका लागि बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जनाएको छ।