सुर्खेतको वीरेन्द्रनगर-२ गुप्तीपुरमा रहेका माटाका ढिस्का गत वर्षको जाडो सिजनमा एकाएक चर्चामा आए।
टिकटक र फेसबुकमा भिडिओ र फोटो आउन थालेपछि वरिपरि गाउँकामात्र होइन टाढा-टाढाबाट यो ठाउँ घुम्न आउने मानिसको संख्या ह्वात्तै बढ्यो।
जंगलको बीचमा रहेको सुनसान ठाउँका ती माटाका ढिस्काले पर्यटकको आँखा त्यसै तानेका होइनन्। ढिस्कामा आँखा डुलाउने हो भने दरबार आकृति देखिन्छ। यस्ता आकृति किन र कसरी बने भनेर अध्ययन भइसकेको भने छैन।
सुर्खेतका पुराना पर्यटकीय गन्तव्यको तुलनामा पछिल्लो समय पाताल दरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।
गएको मंसिरमा वीरेन्द्रनगरको एक टोली पाताल दरबारमा वनभोज आयोजना गर्न गएको थियो। त्यसबेला त्यो टोलीले फेसबुकमा स्थानसहितको तस्बिर राख्यो।
त्यसपछि एकाएक यो ठाउँको नाम ‘पाताल दरबार’ जुरेको स्थानीय गुप्तीपुर युवा क्लबका सचिव ईश्वर शर्माले बताए।
‘यो ठाउँलाई पहिले गुप्तीपुर नै भनेर चिनिन्थ्यो, फेसबुकमा राखिएको तस्बिरमा आएका कमेन्टको रिप्लाई दिने क्रममा पाताल दरबार भन्ने गरियो,’ शर्माले भने, ‘त्यसपछि यसको नाम पाताल दरबार जुरेको थियो, अहिले पनि यही नाम कायम छ।’
शनिबारको दिन पाताल दरबारमा पर्यटकको घुइँचो नै लाग्ने गरेको उनी बताउँछन्।
आन्तरिक पर्यटकको रोजाइको प्रमुख पर्यटकीय गन्तव्य यही पाताल दरबारको संरक्षणका लागि यो युवा क्लब निरन्तर जुटिरहेको छ।
क्लबमा पदाधिकारीसहित २५ युवा सदस्य छन्। यी युवाले यहाँ घुम्न आउने पर्यटकबाट निश्चित शुल्क उठाउँछन्। पर्यटकको सुविधाका लागि उपयुक्त संरचना बनाउने काम गरिरहेका छन्।
अहिलेको गुप्तीपुर युवा क्लब पहिलो एकता बाल क्लब थियो।
पछि यसलाई युवा क्लबका रूपमा दर्ता गरिएको हो।
शर्माका अनुसार एक्कासी पर्यटकको संख्या बढेपछि पाताल दरबार क्षेत्रमा फोहोर बढ्दै गएको र त्यो फोहोर उठाउन क्लबका सदस्यको योजनासँगै संरक्षणको कार्य पनि सुरू भएको हो।
दिनानुदिन पर्यटक आउन थालेपछि एकातिर गाउँलेलाई अब केही झमेला आइ पर्ने हो कि भन्ने डर थियो। यसलाई संरक्षण गर्नुपर्छ, नत्र भोलि केही समस्या पर्छ भन्नेहरू पनि थिए। तर कतिपयले भने यसमा धेरै चासो राख्न नपर्ने बताउँथे।
'केही समस्या भयो भने हाम्रो गाउँको इज्जतमा नराम्रो असर पर्छ भन्ने सोचले संरक्षणमा जुट्यौं,’ क्लबका सचिव शर्माले भने, ‘सुरूमा हामीले कुरा उठाउँदा गाउँका धेरैले त्यतिबेला संरक्षणमा लाग्नु आवश्यक छैन भनेर पनि भन्नुभयो, हामीले जसरी भए पनि संरक्षण गनुपर्छ भनेर निरन्तर लाग्यौं।’
क्लबका युवाहरूले गाउँलेलाई सम्झाइबुझाइ गरेपछि पाताल दरबार संरक्षणका लागि गाउँलेले पनि सहयोग गरिरहेका छन्।
पाताल दरबारमा पर्यटक बढ्दै जान थालेपछि सुरूमा मुख्य आवश्यकता शौचालयको थियो। युवा क्लबले प्लाष्टिकले बारेर अस्थायी शौचालय पनि बनायो। त्यसपछि खानेपनीको धारा जडान गर्यो।
‘हामीलाई धारा जोड्न धेरै संघर्ष गर्नुपर्यो, पछि गाउँमा भएको एउटा खानेपानी आयोजनाले धरौटीबिना नै धारा जोडिदियो,’ सचिव शर्माले भने, ‘पाइप किन्न र यो ठाउँसम्म पानी ल्याउने खर्च हामीले आफैले उठायौं।’
घुम्न आउने मानिसले मुख्य आकर्षणको रूपमा रहेका माटोका संरचना भत्काउने गर्न थालेपछि यसलाई रोक्ने प्रयास गरिएको उनले बताए। फोटो खिच्नका लागि ढिस्कामा चढ्दा भत्किने गरेको उनले बताए।
युवा क्लबले पाताल दरबार घुम्न जाने मानिसबाट सवारी पार्किङ शुल्क र प्रवेश शुल्क लिने गरेको छ। त्यही शुल्कबापत् उठेको पैसाले दुइटा प्रतीक्षालय, प्रवेशद्वार, खानेपानीको धारा, शिव–पार्वतीको मूर्ति, शौचालय, फोहोर बिसर्जन गर्ने डस्टबिनको व्यवस्थापन क्लबले गरेको छ।
शुल्कबापत् उठेको रकम क्लबका कोषाध्यक्षसँग रहन्छ। त्यसको हिसाब भने सबै सदस्यहरूले राख्ने गरेको सचिव शर्माले बताए।
शुल्कबापत् उठेको बाँकी रकमले पर्यटकका लागि अरू पनि उचित संरचना बनाउने योजना रहेको उनले बताए।
क्लबले पर्यटकबाट शुल्क लिनका लागि पनि धेरै नै झमेला ब्यहोर्नु पर्यो।
‘सुरूमा हामीले फोटोकपी पेपरमा टिकट छापेर पर्यटकलाई दिने गरेको थियौं, यो कुरा प्रशासनमा पुगेछ। त्यसपछि टिकट काट्न रोक भनेर हामीलाई प्रशासनबाट आदेश आयो,’ सचिव शर्माले भने, ‘पछि हामीले टिकट काट्न केही समय रोक्यौं, वडा कार्यालयमा हामीले शुल्क लिन पाउँ भनेर धाइरह्यौं।’
त्यसपछि उनीहरूले प्रवेश शुल्क लिन छोडेर सहयोग शुल्क लिन थाले। जसले आफ्नो इच्छाअनुसार जति रकम दिन्छ त्यहीअनुसारको रसिद दिने गरियो।
केही समयपछि जनप्रतिनिधि र प्रशासनको सहमतिपछि पार्किङ तथा प्रवेश शुल्क नियमित लिन थालियो।
पाताल दरबारमा पसल थाप्न आउनेबाट पनि निश्चित शुल्क लिने गरिएको युवा क्लबका सचिव शर्माले बताए।
उनीहरूको दैनिक २० रुपैयाँ शुल्क लिने गरिएको छ। यो ठाउँमा दिनमा १० वटा जति पसल सञ्चालन भइरहेको उनले बताए।
यस्तै मासिक रूपमा पसल सञ्चालन गर्न क्लबसँग सम्झौता गरेका तीन वटा व्यापारी छन्। ती व्यापारीबाट मासिक शुल्क कति लिने भन्नेबारे टुंगो लागिसकेको छैन। यसका लागि क्लबका सदस्यबीच छलफल भइरहेको शर्माले बताए।
‘पहिले-पहिले यहाँ धेरै फोहोर हुन्थ्यो, यहाँ आउने मानिसले पनि फोहोर भयो भनेर गुनासो गर्न थाल्नुभयो,’ गुप्तीपुर युवा क्लबका सदस्य कल्पना रोकायाले भनिन्, ‘सुरूमा त हामीलाई पनि गाह्रो नै भयो। डस्टबिन किन्नको लागि पैसा थिएन। हामीले क्लबका सबै साथीहरू मिलेर आफैं सबै फोहोर उठायौं। यहाँ पसल गर्ने मान्छेलाई पनि फोहोर कार्टुनमा राखिदिनुहोला भनेर सम्झायौं।’
पछि उनीहरूले गाउँबाट बोराहरू जम्मा गरेर ठाउँठाउँमा डस्टबिन बनाइदिए। अहिले सेन्चुरी बैंकले दुई जोर प्लाष्टिकका डस्टबिन उक्त क्लबलाई सहयोग गरेको छ।
क्लबमा आवद्ध सदस्यमध्ये कतिपयले पाताल दरबार प्रवेश गर्ने गेटमा बसेर टिकट काट्ने, कतिपयले शुल्क तिरेर पार्किङमा राखेका पर्यटकका सवारी साधनको निगरानी गर्ने, फोहोर उठाउने काम गर्छन्।
यो काम सबैले पालो गरेर गर्ने गरेका छन्।
धेरैजसो युवा विद्यालय तथा क्याम्पस जाने भएकाले बिहान, दिउँसो, बेलुका खाली भएको समयमा पालो मिलाएर काम गर्ने गरेको उनले बताए।
बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सदस्यले ड्युटी गर्ने गरेका छन्।
पाताल दरबारमा अन्य दिनभन्दा शनिबारको दिन पर्यटकको ओइरो लाग्ने गरेको छ।
संरक्षक तथा व्यवस्थापकका रूपमा काम गरिरहेको गुप्तीपुर युवा क्लबका अनुसार कहिलेकाहीँ ७ सय जनासम्म पर्यटक आउने गरेका छन्।
प्रवेश र पार्किङ शुल्कबापत् हालसम्म सबैभन्दा धेरै एकदिनमा ११ हजार रुपैयाँसम्म संकलन भएको सचिव शर्माले बताए। बिदाबाहेकका दिनहरूमा पनि कम्तीमा ५० देखि २ सय जनासम्म पर्यटक पाताल दरबार पुग्ने गरेको उनले बताए।
आन्तरिक सुरक्षा चुनौती
पर्यटकीय स्थल पाताल दरबार क्षेत्र संरक्षण तथा व्यवस्थापनमा कतिपय चुनौती पनि छन्। क्लबका सचिव शर्माका अनुसार दैनिक झै-झगडा हुने, पार्किङ शुलक दिन आनाकानी गर्ने, स्थानीयले क्लबलाई साथ नदिनेजस्ता चुनौती भोग्नु परेको उनले बताए।
पाताल दरबार क्षेत्रमा पर्यटकको आवागमन भइरहेको समयमा दैनिक सुरक्षाकर्मीको ड्युटी भएमा सहज हुने उनले बताए।
वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले पाताल दरबार क्षेत्रमा आन्तरिक सुरक्षाका लागि तत्कालै प्रहरी प्रशासनसँग छलफल गर्ने बताइन्।
पछिल्लो समय पर्यटकको संख्या बढ्दै जाँदा वरपर हुने केही अनैतिक गतिविधिले पर्यटकले असुरक्षा महशुस गर्ने भएकाले अबको केहीदिनमै सुरक्षा व्यवस्था मिलाइने उनले बताइन्।
‘अहिले पाताल दरबार क्षेत्रमा पर्यटकको आवागमन निकै बढेको छ, सुर्खेतका प्रमुख पर्यटकीय स्थलको सूचीमा समावेश हुने सम्भावना छ,’ उनले भनिन्, ‘यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन र संरक्षण गर्न हामी पनि आगामी असारमा हुने सभाबाट नीति तथा कार्यक्रममा समावेश गर्छौं।’
तस्बिरहरू: दिपकजंग शाही/सेतोपाटी